कसैले थर्काएर डराउँदैनौं : प्रधानमन्त्री

वार्ता गर्न काठमाडौं ल्याउनुपर्ने अडान
कान्तिपुर संवाददाता

काठमाडौँ — जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागबारे मंगलबार पनि औपचारिक वार्ता हुन सकेन । सरकारी टोलीले पहिला डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागमा छलफलै हुन नसकेको डा. केसीका प्रतिनिधिले बताए । सोमबार र मंगलबारको अनौपचारिक वार्तापछि सरकार पेलेर अघि बढ्ने रणनीतिमा रहेको उनीहरूको निष्कर्ष छ ।

जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागबारे मंगलबार पनि औपचारिक वार्ता हुन सकेन । सरकारी टोलीले पहिला डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागमा छलफलै हुन नसकेको डा. केसीका प्रतिनिधिले बताए। सोमबार र मंगलबारको अनौपचारिक वार्तापछि सरकार पेलेर अघि बढ्ने रणनीतिमा रहेको उनीहरूको निष्कर्ष छ।


‘बिहान ९ बजेदेखि सरकारी पक्षसँग बस्दा पनि वार्ताको न्यूनतम वातावरण बन्न सकेन,’ छलफलमा संलग्न डा.अभिषेकराज सिंहले भने, ‘सरकारले पेलेर जाने रणनीति लिएजस्तो छ ।’ सरकारी पक्षले डा. केसीलाई उपचारका लागि काठमाडौं नल्याएसम्म कुनै कुरा नगर्ने अडान लिएको उनले बताए ।

‘सरकारी टोलीसँग एजेन्डा र मागबारे कुनै कुरा भएन, उहाँहरूले डा.केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर तम्तयार राखेको मात्रै बताउनुभयो,’ केसीका प्रतिनिधि अधिवक्ता ओमप्रकाश अर्यालले भने । सरकारी टोलीले चिकित्सा शिक्षा विधेयक फिर्ता लिने विषयमा छलफल गर्नै नचाहेको उनले जनाए।

‘कसैले थर्काएर डराउँदैनौं’

प्रधानमन्त्री केपी ओलीले कसैले थर्काएको भरमा नडराउने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित कार्यकर्ता भेटमा उनले भने, ‘संविधान, नियम, कानुन र विधिअनुसारै सरकारले काम गर्छ। जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउँदा थर्किने वा दबाबमा परेर निर्णय गर्ने काम हुँदैन ।’


दुई–चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकाले धैर्य गर्नुपर्ने उल्लेख गर्दै ओलीले भने, ‘चुनाव अघिको सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन समय लागेको छ। विरोधीले सरकारविरुद्ध अफवाह फैलाएकाले त्यसको प्रतिवाद गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित : श्रावण २, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

साँघुरियो शोधनान्तर घाटा

अघिल्लो वर्ष मुलुक ७४ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो
कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्ला महिनाहरूमा लगातार तीव्र रूपमा बढिरहेको शोधनान्तर घाटा गत जेठमा साँघुरियो ।मुलुक भित्रिने र बाहिरिने रकमको विवरण देखाउने शोधनान्तर स्थिति गत जेठमा ४ अर्ब ३४ करोड रुपैयाँले घाटामा छ ।

गत वर्षको ११ महिनामा शोधनान्तर ७४ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो । गत वैशाखको तुलनामा जेठ महिनाको शोधनान्तर घाटा साढे १४ अर्ब रुपैयाँले कम हो । गत वैशाखमा यस्तो घाटा १८ अर्ब ९३ करोड रुपैयाँ थियो । उक्त अवधिमा रेमिटयान्स आप्रवाह बढेकाले शोधनान्तर घाटामा सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।


शोधनान्तर र चालु खातामा गत वर्षदेखि नै चाप पर्न थालेको थियो । गत आर्थिक वर्ष पहिलो २ महिना (साउन र भदौ) मा पनि शोधनान्तर ऋणात्मक थियो । त्यसपछिका महिनाहरूमा शोधनान्तरमा सुधार देखिँदै आए पनि चालु खाता ऋणात्मक रहेको थियो । यो आर्थिक वर्षको सुरुका दुई महिनामा पनि पुरानै प्रवृत्ति दोहोरियो र शोधनान्तर ऋणात्मक बन्यो । त्यसपछिका दुई महिना (असोज र कात्तिक) महिनामा शोधनान्तर बचतमा देखिए पनि आकार घट्दै गएको थियो । त्यसपछिका सबै महिनामा शोधनान्तर लगातार घाटामा छ ।


अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर फराकिलो बन्दै गएकाले अवस्था चुनौतीपूर्ण बन्दै गएको अर्थविद्हरूले जनाएका छन् ।


चालु आर्थिक वर्षको ११ महिनामा ६ खर्ब ७९ अर्ब ७३ करोड रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिटयान्स ५.८ प्रतिशतले बढेको थियो ।


गएको ११ महिनामा मुलुकको व्यापार घाटा १० खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २४.६ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ । यस्तो परिसूचक अघिल्लो वर्षको सोही अवधिमा ७.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।


यसैगरी ०७५ जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.१ प्रतिशत पुगेको छ । यस्तो मूल्यवृद्धिदर ०७४ जेठमा २.८ प्रतिशत थियो । खाद्य वस्तुको मूल्यमा आएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा समग्र मूल्य वृद्धिदर बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७५ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्