१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जिलेटिन आयो, प्रयोग भएन

मनाेज बडु

दार्चुला — तिंकर सडकमा चट्टान फोड्न सेनाले विस्फोटक पदार्थ (जिलेटिन) ढुवानी गरे पनि प्रयोग नगर्दा निर्माण कार्य प्रभावित भएको छ । जिलेटिन पुगेको तीन साता भइसक्दा पनि प्रयोगमा नआउँदा सेनाको दुर्गादल गुल्ममै थन्किएको छ ।

जिलेटिन आयो, प्रयोग भएन

दुई वर्षदेखि सेनाले पूर्वसम्झौताबमोजिम तिंकर सडकका लागि जिलेटिन उपलब्ध गराउन सकेको थिएन । पछिल्लो समय जिलेटिन आए पनि प्रयोगमा आउन नसकेको हो । ‘जिल्लामा विस्फोटक पदार्थ पुगेको तीन साताभन्दा बढी भयो,’ तिंकर सडकका प्रमुख रामचन्द्र साहले भने, ‘विविध कारणले प्रयोगमा ल्याउन सकिएको छैन ।’ साहले आइतबार मात्र नेपाली सेनाको दुर्गादल गुल्मसित कुरा गरेका थिए । सेनाले पूरा गर्न नसकिने सर्त राखेको उनले बताए ।

व्यास गाउँपालिकाका अध्यक्षको पहलमा बझाङस्थित निर्माणाधीन कालंगा जलविद्युत् आयोजनाबाट ९ दशमलव ३ मेट्रिक टन (९ हजार ३ सय किलोग्राम) जिलेटिन तिंकर सडकका लागि सापट ल्याइएको थियो । गाउँपालिका अध्यक्षले तत्काल जिलेटिन प्रयोग गरी सडक निर्माणलाई गति दिनुपर्ने बताए ।

यसअघि प्रहरीको व्यवस्थापनमा जिलेटिन प्रयोग हुँदै आए पनि पछिल्लो समय सेनाको सुरक्षा घेरामा मात्रै विस्फोटक पदार्थको प्रयोग हुने गरेको छ । सुरक्षा संवेदनशीलताका कारण सेनाको सुरक्षा घेरामा जिलेटिन प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।

जिलेटिन प्रयोग हुने क्षेत्रमा सेनाको टोली नै परिचालन गर्नुपर्ने भएकाले केही ढिलाइ भएको दार्चुला–तिंकर सडक योजनाका प्रमुख साहले बताए । जिलेटिन प्रयोगमा सेना जाँदा सुरक्षा व्यवस्थापन, बासस्थान तथा खानालगायतको व्यवस्था मिलाउनुपर्ने भएकाले ढिलाइ भएको जिल्लास्थित सुरक्षा स्रोतले जनायो ।

प्रकाशित : श्रावण १, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?