३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चुलियो फोहोरको पहाड

फोहोरमाथि नै खनिएका सडक हिलो र चिप्लो भएकाले लोड बोकेर गएका टिपर बीचैमा अलपत्र
३ वर्षका लागि फोहोर फाल्न बनाएको ठाउँमा १३ वर्षसम्म फालिँदै 
फोहोरको पहाड भास्सिन थालेकाले सातायता विकराल अवस्था । राजधानीमा फोहोरको डंगुर 
सुदीप कैनी

सिसडोल (नुवाकोट) — नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट चुलिएसँगै राजधानीका सडक, चोक र घर–घरमा फोहोरको डंगुर थुप्रिन थालेको छ । ल्यान्डफिल साइटमा बनेको ‘फोहोरको पहाड’ भास्सिन थालेकाले सातायता काठमाडौं, ललितपुर र भक्तपुरबाट फोहोर बोकेर पुगेका टिपर ‘फोहोरको पहाड’ चढ्न सकिरहेका छैनन् ।

चुलियो फोहोरको पहाड

१५ वर्षदेखि काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा सक्रिय एक मजुदरले भने, ‘३ वर्षका लागि फोहोर फाल्न बनाएको ठाउँमा १३ वर्षसम्म थुपार्दा यस्तो स्थिति आएको हो ।’ उनका अनुसार पहिले फोहोर खाल्डोमा फालिन्थ्यो, अहिले खाल्डो पुरिएर पहाड बनेको छ । फोहोर बोकेर गएका टिपरले त्यही पहाडको टुप्पोमा पुगेर अनलोड गर्नुपर्ने बाध्यता छ ।

वर्षातका कारण फोहोरको पहाड भास्सिँदै गएको छ । ठाउँ–ठाउँमा धाँजा फाटेर जमिन पनि कोल्पुखोलातर्फ धस्सिन थालेको छ । फोहोरमाथि खनिएका सडक हिलो र चिप्लो भएकाले लोड बोकेर गएका टिपर फोहोरको थुप्रोमा चढ्न नसकी अलपत्र पर्ने गरेका छन् । ‘चार दिनसम्म फोहोर अनलोड गर्न नसक्दा यहीँ भोकभोकै बस्नुपर्‍यो,’ टिपर चालक विजय देउजाले भने । पानी नपरेको बेला पनि फोहोरवाहक टिपर टाकुरामा पुग्न मुस्किल हुन्छ । ‘फोहोरमाथिको उकालो सडकमा टिपर थकेल्न डोजर राखिएको छ,’ देउजाले भने, ‘एउटा टिपरलाई आधा घण्टाभन्दा बढी लगाएर धकेलेपछि मात्रै माथि पुग्छ, अनि अर्कोको पालो आउँछ ।’

सोमबार राजधानीबाट फोहोर संकलन गरी व्यवस्थापन केन्द्रतर्फ गइरहेका गाडी । तस्बिर : कविन अधिकारी

फोहोरमाथिको चिप्लो उकालो बाटोमा ब्रेक लगाउँदा दुर्घटना हुने खतरा उत्तिकै रहेको अर्का चालक श्यामबहादुर तामाङले बताए । ‘महानगरले सडक मर्मत गर्ने भनेर अलिअलि ग्राभेल छर्कन्छ र धेरै माटो हालेर पुर्छ,’ उनले भने, ‘पानी पर्नासाथ चिप्लो भएर फोहोर फाल्ने काम रोकिन्छ ।’ फोहोर बोकेर गएका टिपर राजधानी फर्कन ढिलो भएकाले चोक र घरका फोहोर उठन नसकेको हो । ‘१० दिनदेखि फोहोर उठाउन आएका छैनन्,’ सिनामंगलकी शोभा थापाले भनिन् ।

ल्यान्डफिल साइटमा फोहोर फाल्न रोकिएपछि राजधानीका सार्वजनिक स्थलमा पनि थुप्रो बढ्दै गएको छ । काठमाडौं र ललितपुर महानगरले फोहोर संकलन गर्ने टेकु र बालकुमारीमा पनि फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको छ । महानगरले संकलन केन्द्रमा जम्मा गरेर तथा अन्य संघसंस्था र निजी क्षेत्रले राजधानीका विभिन्न ठाउँमा फोहोर संकलन गरेपछि ओखरपौवा पठाउने गर्छन् ।

महानगरले सडक र चोकको फोहोर उठाउँछ भने संघसंस्था र निजी क्षेत्रले घरको फोहोर शुल्क लिएर जम्मा गर्छन् । उचित तरिकाले व्यवस्थापन नगर्दा दुर्गन्ध बढेको स्थानीय रीता श्रेष्ठले बताइन् । केही दिनअघि फोहोर व्यवस्थापनकै विषयमा स्थानीयवासी र त्यहाँ खटिएको सशस्त्र प्रहरीबीच विवाद भएको थियो । उक्त विवादका कारण पनि दुई दिनसम्म फोहोर फाल्ने काम अवरुद्ध भएको हो । दुर्गन्धले स्थानीयवासी बिरामी पर्ने गरेका छन् । श्रेष्ठका अनुसार टाउको दुख्ने, रुघाखोकी, झाडापखाला लाग्ने, बस्तीमा झिँगा फैलने गरेको छ । ‘दुर्गन्धले उकुसमुकुस हुन्छ,’ उनले भनिन्, ‘घर छाडेर पनि कहाँ जानु ?’

सिसडोलमा परीक्षणका रूपमा फोहोर फाल्न १३ वर्षअघि खाल्डो बनाइएको थियो । ३ वर्षका लागि खनिएको खाल्डो पुरिएर अहिले ७ सय ४० रोपनी क्षेत्रफलमा फोहोरको पहाड खडा भएको छ । यसअघि पनि यस्तै समस्याका कारण भ्याली १, २ र ३ नाम दिएर औखरपौवा आसपासकै क्षेत्रमा फोहोर व्यवस्थापन गरिएको थियो ।

दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्ने भनेर छनोट गरिएको ककनी गाउँपालिका–२ कै बञ्चरेडाँडा क्षेत्रमा पूर्वाधार निर्माण हुन नसक्दा पटक–पटक फोहोरको समस्या आएको हो । बञ्चरेडाँडामा १ हजार ७ सय ९२ रोपनी जग्गा छनोट भएको छ । त्यहाँसम्म पुग्न कोल्पु खोलामा पुल निर्माण गरे पनि अन्य पूर्वाधार बन्न नसकेको काठमाडौं महानगरले जनाएको छ । ओखरपौवा प्रहरीका अनुसार सिसडोलबाट २ किलोमिटर पर बञ्चरेडाँडा पुग्ने सडक पनि गाडी गुड्न सक्ने हालतमा छैन । राजधानीको बालाजु बाइपासदेखि तीन पिप्लेसम्मको करिब २८ किलोमिटर सडकखण्ड पनि जीर्ण छ ।

बञ्चरेडाडाँमा पूर्वाधार निर्माणमा कम्तीमा ३ वर्ष लाग्ने काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन इन्चार्ज सरकारदीप श्रेष्ठले बताए । उनका अनुसार प्राविधिकले अध्ययन गरेर वर्षातमा अहिलेको स्थानमा फोहोर नफाल्न सुझाव दिएका थिए । ‘अन्यन्त्र फोहोर फाल्ने ठाउँ नहुँदा जबर्जस्ती यहीँ जम्मा पार्ने गरेका हौँ,’ उनले भने । नियमित फोहोर उठ्दा १ सय ५० देखि २ सय टिपर हुन्छ । पछिल्लो समय दैनिक ५०/६० टिपरमात्रै त्यहाँ पुग्दा राजधानीमा फोहोरको डंगुर लाग्न थालेको हो । १३ वर्षअघि काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र कीर्तिपुर नगरपालिकाबाट दैनिक २ सय ५० टन मात्र त्यहाँ पुर्‍याइयो । हाल दैनिक १ हजार बढी टन फोहोर व्यवस्थापन गर्नुपर्दा कठिनाइ आएको श्रेष्ठले बताए ।

महानगरसहित स्थानीय तहहरूले केन्द्रीय सरकार मातहतको फोहोरमैला प्राविधिक सहयोग केन्द्रले फोहोर व्यवस्थापनको स्थान छनोट गरिदिनुपर्ने काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ‘फोहोर फाल्ने ठाउँ महानगरभित्र पर्दैन, अर्कै जिल्लामा पर्छ,’ उनले भने, ‘हामी उठाउन र ढुवानी गर्न सक्षम छौं, कुन ठाउँमा फाल्ने भनेर केन्द्र सरकारले ठाउँ देखाइदिनुपर्‍यो ।’ महानगरले स्रोतसाधनको कमीका कारण बञ्चरेडाडाँमा पूर्वाधार निर्माण गर्न नसक्ने उनले जनाए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने फोहोर व्यवस्था गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने बताए । ‘फोहोरमैला व्यवस्थापन गर्ने काम स्थानीय तहको एकल अधिकार र जिम्मेवारी हो,’ उनले भने, ‘स्थानीय तहको फोहोर व्यवस्थापनको जिम्मा केन्द्र सरकारले लिन सम्भव छैन ।’ संघीय राजधानीका फोहोर व्यवस्थापनका लागि भने मन्त्रालयले सहयोग र समवन्य गर्ने उनले बताए । ‘जिम्मेवारी महानगरपालिकाले लिनुपर्छ’, उनले भने । मन्त्रालयलाई देखाएर महानगर जिम्मेवारीबाट पन्छिन लागेको उनको भनाइ छ । उनीहरूले दीर्घकालीन रूपमा बञ्चरेडाडाँमा फोहोर व्यवस्थापन गर्न पूर्वाधार निर्माण गर्नुपर्ने जनाए ।

प्रकाशित : श्रावण १, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?