कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कोशीमा बहाव बढ्याे, ५६ मध्ये २९ ढोका खोलिए 

प्रदीप मेन्याङ्बो

सुनसरी — सप्तकोशी नदीको वहाव आइतबार उच्च मापन भएको छ । कोशी व्यारेजमा रहेको कन्ट्रोल रुमले दिएको जानकारी अनुसार आइतबार बिहान कोशीको बहाव २ लाख २२ हजार ६ सय ३२ क्युसेक प्रतिसेकेण्ड छ । उक्त बहाव यो वर्षकै उच्च मानिएको छ ।

कोशीमा बहाव बढ्याे, ५६ मध्ये २९ ढोका खोलिए 

कोशी व्यारेजका ५६ ढोका मध्ये २९ वटा ढोका खुला गरिएको छ । शनिबार २३ ढोकामात्र खुलाइएको थियो ।


शनिबार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका अरुण, तमोर, भोटेकोशी, तामाकोशी, दुधकोशी, लिखु, बरुण नदीको मिलेर बनेको पहाडी क्षेत्र कोशी वेसिनमा अत्यधिक बर्षा भएकाले सप्तकोशीमा पानीको बहाव वढेको हो ।


पानीको बहावमापन हालसम्म नेपाली पक्षले भारतीय कन्ट्रोल रुमले दिएको आधारमा प्रयोग हुने गरेको छ । कोशीको पूर्वीतटस्थित बराहक्षेत्र नगरपालिकाका स्थानीय विपद् व्यबस्थापन समितिका सदस्य समेत रहेका रविन घिमिरेका अनुसार नेपालको आफ्नै सूचना संयन्त्र भने सदुपयोग हुन सकेको छैन । उनले भने, ‘मौसम विभागले चतराको नयाँपुलमा पानीको बहावबारे जानकारी दिने अत्याधुनिक रडार उपकरण जडान गरिएको छ । तर त्यसले जोखिममा पर्ने स्थानका बासिन्दालाई पहिलो सूचना नदिएर काठमाडौंमा मात्र दिन्छ ।’


कोशी व्यारेजमा भारतीय पक्षले राखेको उपकरणले नदीको बहाव मापन गर्ने र चतरको पुलमा राखिएको रडारले पनि सोही काम गर्ने भएपनि कोशीको पूर्वी र पश्चिमीतटमा बस्नेहरुकालागि चतराको राडार उपयोगी हुने घिमिरेले बताए । उनले भने, ‘चतराको रडारमा पानीको बहाव बढेको सूचना तत्काल प्रकाशपुर, मधुवन, श्रीपुर, राजाबास, भण्टाबारी क्षेत्रमा पुर्‍याउन सक्दा कम्तीमा आधा घण्टा अगाडि नै सुरक्षित स्थलमा भाग्न सक्छन् । किनकि चतराबाट करिब २० किलोमिटरको दुरीबाट बाढी आएमा आधाघण्टा लाग्न सक्छ ।’


प्रकाशपुर प्रहरी चौकीमा राखिएका बाढीको संकेत दिने डिजिटल डिस्प्ले समेत विग्रेको वर्षौं भएको छ । ०६५ भदौ २ गते आएको बाढीले हजारौंलाई विस्थापित गरेपनि त्यसबाट सरकारले हालसम्म कुनै पाठ सिक्न नजानेको घिमिरेले बताए । उनले चतराको राडारले दिने सूचना सुनसरी, उदयपुर र सप्तरीका जिल्ला प्रसाशनमा डिस्प्ले हुने गरी तत्काल व्यवस्था गर्न माग गरेपनि मौसम विभागले वेवास्ता गरेको बताए ।

प्रकाशित : असार ३१, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?