गंगामायाले तोडिन् अनशन

घनश्याम खडका

काठमाडौँ — छोराको हत्यारालाई कारबाही गर्नु पर्ने माग राखी पटकपटक अनशन बस्दै आएकी गंगामाया अधिकारीले पछिल्लो पटकको सत्याग्रह ४६ औं दिनमा शुक्रबार तोडेकी छन् । सरकारले उनीसँग पहिले गरेका सम्झौताहरु अब व्यवहारमै लागू गर्ने कागज गरेपछि उनले अपरान्ह ६ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको हातबाट जुस पिएकी हुन् ।

गंगामायाले तोडिन् अनशन

‘यो अनशन मैले तोडेको होइन, स्थगित गरेको हो,’ वीर अस्पतालको सघन उपचार कक्षामा राखिएकी गंगामायाले सम्झौताको लिखत बोकेर पुगेका कानून मन्त्री शेरबहादुर तामाङ, जुस पिलाउन पुगेका आयोगका अध्यक्ष शर्मा, मानवअधिकारवादीहरु तथा सञ्चारकर्मीका अघिल्तिर कागजमा हस्ताक्षर गर्नुअघि भनिन्, ‘सरकारले यसअघि पनि दर्जनभन्दा बढीपटक वाचा गर्ने तर पुरा नगर्ने गरेर मलाई छक्याएको हुनाले अब चाहिँ त्यसो नहोस् भनेर दश दिनको समय दिएकी छु । दश दिनभित्र वाचा गरेका काम पुरा नभए म फेरि बस्छु र प्राणै त्याग्छु ।’

हत्यारालाई काबारही गरिपाऊँ भन्ने सामान्य माग राख्दा पनि सरकारले नसुनेकाले आफ्नो पतिको ज्यानै गएको, बाँचेको जेठो छोरा पनि बेपत्ता हुन पुगेको र घरबारी नै कब्जामा परेको घटना सम्झँदै उनले थपिन्, ‘म जिउँदै धेरै पटक मरिसकेँ, यो जुस खुवाएर गरेको झुठो वाचाले पनि मलाई पटकपटक मारिसक्यो । तपाईं मानवअधिकारवादीहरुको अनुरोधलाई हार्न नसकेर आज अन्तिम मौका म दिँदैछु, फेरिपनि माग पुरा नभए अब मलाई ज्यान बचाउ भनेर भन्न कोही आउनु पर्दैन ।’

घाँटीमा प्वाल पारेर स्लाइन दिइएको अवस्थामा रहेकी उनी यति भन्दाभन्दै भक्कानिइन् । छेवैमा बसेका मन्त्री तामाङ भावुक भए अनि भन्न थाले, ‘अब सरकारले यहाँसँग गरेका वाचा अब पुरै लागू गर्छ, हामीलाई विश्वास गर्नुस्, तपाईंले न्याय पाउनु हुनेछ ।’

त्यसपछि मन्त्री तामाङले सम्झौता पढेर सुनाए जसमा लेखिएको थियो, पूर्व सम्झौताहरुको कार्यान्वयन व्यवहारमा उतार्न एक अनुगमन समिति बनाउने र नन्दमायाले अनशन तोड्ने ।

चार वर्षअघि सरकारले नन्दमायासँग पाँच बुँदे सहमति गर्दै घटनामा संलग्नहरुलाई अदालतको आदेश बमोजिम थुनामा राखी कानुनी कारबाही अघि बढाउने, शिक्षण अस्पतालमा रहेको उनका पति नन्दप्रसाद अधिकारीको शवलाई सम्मानसहित दाहसंस्कारको व्यवस्था गर्ने, गंगामायाको बसोबास र जिवन यापनको व्यवस्था गर्ने र उत्तरी आयरल्याण्डमा बसोबास गर्दै आएका हत्याका मुख्य अभियुक्त मध्येका एक रुद्र आचार्यलाई नेपाल झिकाइ कारबाही गर्ने ।

यो सम्झौतापछि उनको पतिको मृत्यु भएको दिन २०७१ असोज ६ गते गंगामायाले अनशन तोडेकी थिइन् । तर सरकारले त्यसपछि उक्त सम्झौताको कुनै परिपालन नगरेकाले उनले वाध्य भएर गत जेठ १५ गते सत्याग्रह सुरु गरेकी थिइन् । सत्याग्रहको केही पछि नै स्वास्थ्य अवस्था अचानक बिग्रिन थालेपछि गंगामायालाई सघन उपचार कक्षमा लगेर भर्ना गरिएको थियो ।

सात वर्षदेखि आफूले अन्न नखाएको र माग पुरा हुञ्जेल अब पनि नखाने भन्दै केही समयका लागि जुस र औषधी भने सरकारलाई एक मौका दिने भन्दै उनले आएकी थिइन् । दश दिनभित्र सम्झौता कार्यान्वयन नभए अनशन फेरि जारी रहने उनको चेतावनीलाई गम्भीरतापूर्वक लिएको उनलाई जुस पिलाउने आयोगका अध्यक्ष शर्माले बताए ।

‘अब त्यो दिन फेरि देख्न नपरोस् भन्ने म चाहन्छु,’ शर्माले भने, ‘तपाईंको स्वास्थ्य र न्याय दुवैको हामीलाई चासो छ, मागहरु पुरा भए नभएको निरन्तर अनुगमन गर्ने काम म गर्छु, तर अहिलेलाई जीवन बचाउनु पर्ने भएकाले कृपया जुस खाइदिनुस् ।’

त्यसपछि गंगामायाले सरकारसँगको सम्झौतामा हस्ताक्षर गरेर एक घुटो जुस निलेकी थिइन् ।

सम्झौता पालनाका लागि गंगामायाका तर्फबाट केही अधिवक्ता र मानवअधिकारवादी तथा सरकारका तर्फबाट कानून र गृह मन्त्रालयका अधिकारीहरु रहने गरी एक समिति बनाउने सम्झौतामा उल्लेख छ । त्यस समितिले आयरल्याण्डमा बसिरहेका रुद्र आचार्य लगयात नेपालमै ‘फरार’ भनिएका जानुका पौडेल, भिमसेन पौडेल, परशुराम पौडेल लागायतका अभियुक्तलाई पक्राउ गरी जेल चलाउन गर्नेछ ।

त्यसका अलावा गंगामायाका लागि सरकारले बसोबास र उपचारको पनि व्यवस्था गर्नेछ । यति माग दश दिनमा पुरा नभए उनले अनशन चाहिँ फेरि सुरु गर्ने जनाएकी छन् ।

तस्बिर : बिजु महर्जन/कान्तिपुर

प्रकाशित : असार २९, २०७५ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?