कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

विमानस्थलबाट फर्काइए उपकुलपति

सुदीप कैनी

काठमाडौँ — विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिबार प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।

विमानस्थलबाट फर्काइए उपकुलपति

उनी क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन ७ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रस्थान गर्न लागेका थिए ।


बोर्डिङ पास लिएर विमान चढ्न लागेका कोइरालालाई प्रहरी टोलीले नियन्त्रणमा लिई सोझै प्रधानमन्त्री निवास बालुवाटार लगेको थियो । बालुवाटारमा करिब एक घन्टा कुराई उनलाई घर जान दिइएको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीको ठाडो निर्देशनमा उनलाई भ्रमणमा जान वञ्चित गरिएको हो ।


‘मलाई प्रधानमन्त्री ओलीले भेट्न खोज्नुभएको छ भन्दै प्रहरी लगाएर बालुवाटार पुर्‍याइयो,’ कोइरालाले कान्तिपुरसित भने, ‘प्रधानमन्त्री निवासको एउटा कोठामा एक घण्टा थुनेर अपराधीजस्तो व्यवहार गरी घर फर्काइयो ।’ कोइरालाको टोलीका अन्य ६ जना भने शनिबारै क्यानडा प्रस्थान गरे ।


कोइरालाले बोर्डिङ पास लिएर उड्ने बेलामा प्रहरीले आफूलाई नियन्त्रणमा लिएर रोकेको जानकारी दिए । ‘डिआईजी आएर प्रधानमन्त्रीले भेट्न खोज्नु भएको छ भनेर रोक्नुभयो’ उनले भने, ‘मेरो टिकट, काजपत्र र झोला पनि झिकेर राखियो ।’ विमानस्थलको प्रहरी टोलीले नै गाडीमा राखेर प्रधानमन्त्री निवास पुर्‍याएको उनले बताए । ‘मलाई रोक्नुको कुनै कारण दिइएको छैन’ उनले भने, ‘प्रधानमन्त्रीलाई भेट्न भनेर रोकियो, तर भेटन दिइएन ।’


विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सहकुलपति र प्रधानमन्त्री कुलपति हुने प्रावधान छन् । कोइरालाले सहकुलपतिमार्फत भ्रमणबारे ११ दिनअघि नै कुलपतिलाई जानकारी गराएका थिए । ‘सहकुलपति मार्फत कुलपतिलाई भ्रमणको जानकारी गराएको थिएँ’ उनले भने, ‘कुनै जानकारीबिना अन्तिम समयमा आएर रोकियो ।’ जुलाई ९ देखि १३ सम्म हुने विश्व सम्मेलनमा सहभागी हुन उनी कोरिएन एयरलाइन्सबाट त्यसतर्फ जान लागेका थिए । विमानस्थलका प्रहरी प्रमुख डीआईजी कमल जीटीले उपकुलपति कोइरालालाई प्रक्राउ र नियन्त्रणमा नलिइएको दावी गरे । ‘कोइरालालाई न पक्राउ गरिएको हो, न नियन्त्रणमा लिइएको हो । उहाँ अति जरुरी काम परेर फर्कनु भएको हो । उहाँलाई कसले कसको गाडीमा बालुवाटार पुर्‍याएको भन्ने कुराको कुनै अर्थ छैन,’ डीआईजी जीटीले भने ।


कोइराला कांग्रेस कोटामा २०७२ भदौमा ४ वर्षका लागि विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए । उनी कांग्रेस निकट हुन् । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले उपकुलपति कोइरालाले मन्त्रालयबाट भ्रमण स्वीकृति नलिएको दाबी गरे । ‘मलाई प्रधानमन्त्री कार्यालयबाट सोधिएको थियो,’ पोखरेलले भने, ‘उहाँले प्रक्रिया पूरा नगरी भ्रमणबारे मन्त्रालयलाई जानकारी मात्र दिनुभएको रहेछ ।’ उनलाई भ्रमणमा जान रोकिएकोबारे भने कुनै जानकारी नभएको दाबी पोखरेलले गरे ।


उपकुलपति कोइरालाले भ्रमण स्वीकृतको पत्र मन्त्रालयको सचिवालयमा दर्ता गराएर छाडेकाले प्रक्रिया नपुगेको दाबीसमेत पोखरेलको छ ।

प्रकाशित : असार २३, २०७५ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?