तिब्बत–ओलाङचुङगोला : सडक बन्यो, गाडी छैन

आनन्द गौतम

लेलेप (ताप्लेजुङ) — सडक निर्माण गरिरहँदा टिप्तालाभन्ज्याङ–ओलाङचुङगोला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङलाई लागेको थियो– अब तिब्बत आउजाउ गर्न पैदलयात्रा गर्नुपर्ने छैन । गाउँटोलका बासिन्दालाई पनि उनले खुसीको खबर सुनाए ।

तिब्बत–ओलाङचुङगोला : सडक बन्यो, गाडी छैन

तर ट्रयाक खुलेको वर्ष दिनसम्म पनि यहाँका बासिन्दाले गाडी चढ्न पाएका छैनन् । मोटरबाटोमा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । उनीहरूले तिब्बतका प्रशासन तथा प्रहरी प्रमुख चढेर आएको गाडी भने बारम्बार देख्न पाएका छन् ।


ओलाङचुङगोलामा जन्मेर देश/विदेशमा रहेका वालुङहरूले आफ्नै लगानीमा बस्तीदेखि तिब्बत जोड्ने सडकको ट्रयाक खोलेका हुन् । उक्त सडकमा चौंरी, याक हिंडाउन भने सहज भएको स्थानीय बताउँछन् । वालुङ समाजले ३ करोडभन्दा बढी लगानीमा २४ किलोमिटर सडक निर्माण गरेको छ । समुदायबाट रकम जुटाई चिनियाँ ठेकेदार कम्पनीमार्फत बस्तीसम्म सडक पुर्‍याइएको हो ।


सदरमुकाम फुङलिङबाट विस्तार भइरहेको सडक नजोडिएको र तिब्बतबाट सवारीसाधन खरिद गर्ने वातावरण नभएकाले स्थानीयले मोटरबाटोमा पैदलयात्रा गर्नुपरेको छ । भन्सार कार्यालय नभएकाले पनि तिब्बतबाट गाडी खरिद गर्न समस्या रहेको स्थानीय बताउँछन् । ट्रयाक खुलेपछि हेलिकप्टरमा सानो गाडी लाने सोच बनाए पनि बिग्रँदा बनाउने ठाउँ नभएकाले लैजान नसकिएको छेतेनको भनाइ छ ।


चीन सरकारसँग गाडीका लागि अनुरोध गर्ने या त प्रक्रिया मिलाएर खरिद गर्ने विषयमा पनि छलफल भएको फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङले बताए ।


तिब्बतसँग सडक जोड्न सक्रियता देखाएका चीनका लागि पूर्वनेपाली प्रशासक ताम्ला उक्यावसँग पनि छलफल गरिएको तर सबै सम्भावना कम भएको उनको भनाइ छ । छेतेनका अनुसार अब सदरमुकामबाट गइरहेको सडकको प्रतीक्षा गर्नुपर्ने भएको छ । फुङलिङबाट विस्तार भइरहेको सडक फक्तालुङ गाउँपालिका ६ लेलेपको बस्तीसम्म पुगेको छ । सडक विस्तारको जिम्मेवारी लिएको एलाइट ठेकेदार कम्पनीका अनुसार ओलाङचुङगोला जोडिन अब ३० किलोमिटर बाँकी छ । सदरमुकामबाट ४० किमि ट्रयाक खुलिसकेको छ ।


निरन्तरको बसाइँसराइ रोक्न र छिमेकी देशसँग सडक सञ्जालले जोडिन ओलाङचुङगोलावासीले सडकमा लगानी गरेका हुन् । सरकारले यो सडक जोड्न बहुवर्षीय ठेक्कामा बजेट छुट्याएको छ । १० मिटर चौडाइको सडक ट्रयाक खोल्न ३९ करोड ७६ लाखमा ठेक्का परेको छ ।


प्रकाशित : असार २३, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?