शैक्षिक मेलामा उच्च शिक्षाको जानकारी

काठमाडौँ — उच्च शिक्षा पढाइ हुने स्वेदश तथा विदेशका कलेजबारे जानकारी दिने उद्देश्यले राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि शैक्षिक मेला सुरु भएको छ । कक्षा १२ र स्नातक तह सकेका विद्यार्थी लक्षित गरी ३ दिने काठमाडौं पोस्ट शैक्षिक मेला (मेगा एडुकेसन फेयर) आयोजना गरिएको हो ।

शैक्षिक मेलामा उच्च शिक्षाको जानकारी

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मेलाको उद्घाटन गर्दै शैक्षिक संस्थाहरूबारे विद्यार्थीले सही सूचना पाउनुपर्ने बताए । ‘यस्तो मेलाले विद्यार्थीलाई उपयुक्त शैक्षिक संस्था छनोटको अवसर मिल्छ,’ उनले भने, ‘शैक्षिक उपलब्धि हासिल गर्न विद्यार्थीले सही कलेज छान्न सक्नुपर्छ ।’ कतिपय शैक्षिक संस्थाले झुटा सूचना दिएर विद्यार्थी झुक्याउने गरेको उनले सुनाए ।

उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीमा उमेरकै कारण निर्णय क्षमता नहुने उनको भनाइ थियो । ‘धेरै विद्यार्थी करिअरको खोजीमा छन्, उनीहरूमा उत्साह पनि उत्तिकै हुन्छ,’ उनले भने, ‘उनीहरूलाई सही बाटो देखाइदिनुपर्छ ।’ भारत, बंगालादेशलगायत केही देशमा शैक्षिक संस्था अवैध रूपमा सञ्चालन भएका कारण सचेत रहन उनले विद्यार्थी र अभिभावकलाई सुझावसमेत दिए । ‘शैक्षिक लगानी डुब्ने, उपलब्धि पनि हासिल गर्न नसक्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘कलेजबारे विस्तृत बुझेर मात्र भर्ना हुनुपर्छ ।’ शिक्षा अन्तर्राष्ट्रिय विषय भएकाले यस्ता मेलाले विद्यार्थीलाई लाभ हुने उनको तर्क थियो । अन्य सहरमा पनि यस्तै शैक्षिक मेला आयोजना भए दूरदराजका विद्यार्थी पनि लाभान्वित हुने उनको विश्वास थियो ।

दि काठमान्डु पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले स्वदेशी विद्यार्थीका लागि विदेश र विदेशी विद्यार्थीलाई नेपालका शिक्षण संस्थाहरूबारे जानकारी दिने प्रयास थालिएको बताए । मेलामा जानकारी लिएर स्वदेशका विद्यार्थी विदेश र विदेशी विद्यार्थी नेपाल आएर पढ्न सक्ने उनले जनाए ।

दि ब्रिटिस कलेजका मार्केटिङ म्यानेजर सुमन श्रेष्ठले मेला सफलताको शुभकामना दिँदै विद्यार्थी र अभिभावकलाई शैक्षिक जानकारी लिएर लाभ लिन अपिल गरे । राइज इभेन्टका प्रतिनिधि रमेश जोशीले शैक्षिक संस्थाहरूको स्टलबाट जानकारी लिँदा विद्यार्थी चनाखो हुनुपर्ने सुझाए ।

मेलामा विशेषज्ञहरूबाट देशभित्र र बाहिरका कलेजहरूबारे जानकारी प्राप्त गर्न सकिने एजुकेसन कन्सल्टेन्सी एसोसिएसनका महेशबाबु तिमिल्सिनाले जनाए । ‘वार्षिक हजारौं विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेश जाने गर्छन्,’ उनले भने, ‘त्यस्ता विद्यार्थीलाई मेलामा नि:शुल्क जानकारी दिने प्रबन्ध मिलाएका छौं ।’ विदेशी विद्यार्थी नेपालमा पढ्न आउँदा र नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जान सम्बन्धित देशको शैक्षिक प्रणाली बुझेर मात्र भर्ना हुनुपर्ने उनले प्रस्ट पारे ।

कान्तिपुर पब्लिकेसन्सका एजीएम महेश स्वाँरले अभिभावक र विद्यार्थीलाई मेलामा आएर जानकारी लिन आह्वान गरे । ‘कहाँ पढ्ने, के पढ्ने र कसरी पढ्ने भनेर निष्कर्ष निकाल्न सजिलो होस् भनेर मेला आयोजना गरिएको हो,’ उनले भने, ‘विद्यार्थीले इच्छाअनुसारको विषय, कलेज छनोट गर्न यसले मद्दत पुग्छ ।’ सयभन्दा बढी शैक्षिक संस्थाबारे आइतबारसम्म एउटै थलोबाट जानकारी प्राप्त गर्न सकिने स्वाँरले जनाए । उनका अनुसार अभिभावक र विद्यार्थीले प्राध्यापक, कलेज सञ्चालक र अध्ययन गरिरहेका विद्यार्थी भेटेर विविध जानकारी पाउनेछन् ।

स्नातक र स्नाकोत्तर पढ्ने तयारीमा रहेका सयौं विद्यार्थी र अभिभावकलेशुक्रबार मेलामा आएर जानकारी लिए । कलेजहरूबारे जानकारी दिन मेलास्थलमा शैक्षिक संस्थाहरूको स्टल राखिएको छ । शैक्षिक ऋण र विद्यार्थी लक्षित बिमाबारे जानकारी दिने स्टल पनि राखिएका छन् । मेलामा मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तक्र्रियासमेत भइरहेको छ । दैनिक राष्ट्रिय कलाकारहरूको प्रस्तुति र खेलकुदका गतिविधि पनि हुनेछन् । पाँचौं संस्करणका रूपमा काठमान्डु पोस्ट शैक्षिक मेला आयोजना गरिएको हो । मेलामा राइज इभेन्टको सहकार्य र दि ब्रिटिस कलेजको मुख्य प्रायोजन छ ।

स्वदेशमै अध्ययन गर्न चाहनेलाई त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा र अन्य विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजबारे जानकारी दिइनेछ । यसबाहेक भारत, चीन, अस्ट्रेलिया, बंगलादेश, जापान, अमेरिकालगायत देशका शैक्षिक संस्थाहरूमा उच्च शिक्षा पढ्न चाहनेले पनि मेलाबाट लाभ लिन सक्नेछन् । विद्यार्थीले भिसा प्रक्रियादेखि विश्वविद्यालय छनोटको समेत जानकारी पाउन सक्ने व्यवस्था मिलाइएको छ । ‘प्रत्येक दिन हुने लक्की ड्रका विजेताले नोकिया फोन, फिल्मको टिकट, काठमाडौं फन भ्याली र माउन्टेन फ्लाइटको टिकटको व्यवस्था गरेका छौं,’ राइज इभेन्टका जोशीले भने । मेलामा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

विद्यार्थी उत्साही

एमबीबीएस पढ्ने तयारीमा छु । नाम चलेका कलेज मात्र हेरेर हुँदैन । विद्यार्थीलाई यही विषय पढ्नुपर्छ, यही कलेजमै पढ्नुपर्छ भनेर दबाब दिनु राम्रो होइन । धेरै ठाउँमा बुझेर आफैं छनोट गर्नु राम्रो हुन्छ । जुन विषयमा रुचि छ त्यही पढ्दा उपयुक्त हुन्छ । कलेजको वातावरण कस्तो छ ? कस्तो विषयवस्तु पढाइ हुन्छ ? अतिरिक्त क्रियाकलाप कति हुन्छन् ? सेवा सुविधा र शुल्क कस्तो छ भनेर बुझेर मात्रै भर्ना हुनुपर्छ । शैक्षिक मेलामा भीडभाड छ । स्टलहरूबीचै प्रतिस्पर्धाजस्तो लाग्यो । तर एकदम राम्रो तरिकाले जानकारी दिइएको छ । कुन विषय पढ्ने, कस्ताकस्ता विषय पढ्नुपर्छ । खर्च कति लाग्छ भनेर जानकारी दिइएको छ ।
***


स्नातकोत्तर पढ्ने तयारीमा छु । नाम चलेका आधारमा मात्रै कलेज सही छ भन्ने हुँदैन । नयाँ खुलेका कलेजहरू पनि नराम्रा छैनन् । कलेजको भवन, नाम हेरेर भन्दा पनि त्यहाँको शैक्षिक वातावरण कस्तो छ मुख्य कुरा हो । पढ्न विदेशै जानुपर्छ भन्ने छैन । मिहिनेत गर्ने विद्यार्थीले नै हो । विद्यार्थीले आफ्नो इच्छाअनुसारको विषय रोजेर त्यहीअनुसार पढ्नुपर्छ । मेलामा नेपालका कलेज धेरै रहेछन् । विदेशका पनि धेरै शैक्षिक संस्थाबारे जानकारी पाइयो ।
***


स्नातक तह पढ्ने तयारीमा छु । कलेजको विगत र भविष्य हेरेर मात्रै भर्ना हुनुपर्छ । कुन विषय पढ्ने प्रस्ट भएपछि मात्रै कलेज छान्नुपर्छ । शैक्षिक संस्थाको विविध पक्ष बुझेर मात्रै निर्णय लिँदा उपयुक्त हुन्छ । कलेज र अभिभावकहरूसँग पनि सल्लाह गरी भर्ना हुनुपर्छ । पढाइको गुणस्तर महत्त्वपूर्ण हो । कुन विषय पढ्दा के हुन्छ भन्ने ध्यान दिएर मात्रै रोज्यो भने सफलता प्राप्त गर्न सकिन्छ ।
***


सुरुमा सबै विद्यार्थी अन्योलमै हुन्छन् । उनीहरू अवसरको खोजीमा हुन्छन् । यही अन्योलकै कारण सही विषय छनोट हुन नसकेका थुप्रै उदाहरण छन् । सकेसम्म रोजगारी ग्यारेन्टी हुने गरी पढाइ छनोट गर्न सक्नुपर्छ । विद्यार्थी स्वयंले आफ्नो इच्छा, चाहनाअनुसार कलेज र विषय रोज्नुपर्छ । अभिभावकहरूले पनि राम्रोसँग बुझेर मात्र छोराछोरीहरूलाई सुझाव दिनुपर्छ । कतिपय कलेजले विज्ञापन एउटा र व्यवहार अर्को गर्ने गरेका छन् । यसबाट सजग हुनुपर्छ । शुल्कमा पनि मनपरी छ । विद्यार्थी, अभिभावकले मेलामा आएर बुझ्दा राम्रो हुन्छ ।

प्रकाशित : असार २३, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?