बाढीपहिरोको वितण्डा: ११ को मृत्यु, हजार घर डुबे

उद्धार अत्यन्तै फितलो
हेलिकप्टर ‘तयारी अवस्थामा’
कान्तिपुर संवाददाता

काठमाडौँ — देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ ।

अविरल वर्षाका कारण जलमग्न पश्चिम नवलपरासीको बर्दघाट क्षेत्र । तस्बिर : नवीन पौडेल

आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित छन् ।

रोल्पा र बाँकेमा बाढीपहिरोमा परेर सोमबार ६ जनाले ज्यान गुमाएका छन् । पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु भयो । बाँकेमा बाढीले बगाउँदा ५ वर्षीय बालकसहित ३ जनाको मृत्यु भएको छ । निरन्तरको वर्षापछि रुन्टिगढी गाउँपालिका–५ सैबाङमा घरमाथि खसेको पहिरोमा पुरिएर नवजात शिशु र पत्नी एकैपटक गुमाउँदा राजकुमार विश्वकर्मा अचेत छन् । राजकुमारकी २२ वर्षीया पत्नी कमला र १८ दिनकी छोरी आयुषाको सोमबार बिहान ज्यान गएको हो ।

लगातारको भारी वर्षाले प्रदेश २ का अधिकांश क्षेत्र जलमग्न छन् । पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जनकपुर र वीरगन्ज सहरका केही भाग डुबानमा परेका छन् ।

पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका–४ रमौलीकी १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार बाढीले बगाएका थप २ विद्यार्थीको उद्धार गरिएको छ । एक विद्यार्थी अझै बेपत्ता छन् ।

प्रतिमासहित विद्यालयमा परीक्षा दिएर घर फर्कंदै गरेका ४ विद्यार्थीको समूहलाई सोमबार बिहान करिब साढे ९ बजे पन्थी खोलाले बगाएको थियो । कक्षा ९ का ती विद्यार्थीमध्ये १५ वर्षीय सुरेन्द्र राम बेपत्ता छन् । अर्का दुई संगीता चौरसिया र सुमन पासवानको स्थानीयले उद्धार गरेका थिए । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरू पर्सागढी नगरपालिका–४ बर्बाछटौलीस्थित नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा विद्यार्थी हुन् ।

धादिङको जोगिमारा जाने कच्ची सडकको ग्रेगान आएर पृथ्वी राजमार्गमा पुरेको बोलेरो जिप निकाल्ने प्रयास गरिँदै। तस्बिर : हरिहरसिंह राठौर

वर्षाले वीरगन्ज महानगरको अधिकांश क्षेत्र डुबेको छ । सडकमा तीन फिटसम्म पानी जमेको छ । महानगरका आदर्शनगर, पानीटंकी, जिल्ला प्रशासन कार्यालय क्षेत्र, रानीघाट, भिस्वा, नगवा, छपकैया, जेलरोडलगायत महानगरका थुप्रै क्षेत्र डुबानमा परेपछि २ अर्ब ८० करोड रुपैयाँ खर्चमा यसै वर्ष बनेको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको उपादेयतामा प्रश्न खडा भएको छ ।

कैलाली थापापुरको पूरै बस्ती डुबानमा परेको छ । काँडा नदीमा आएको बाढी गाउँ पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । गोदावरी नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । थापापुरका गंगाराम चौधरीले बाढीबाट विस्थापित परिवारलाई खान र बस्न समस्या भएको बताए ।

अर्काको घरमा आश्रय लिइरहेका परिवारको अनाज र लत्ताकपडा सबै भिजेको उनले बताए । उनका अनुसार बाढी नपसेको अग्लो ठाउँमा रहेका आफन्तको घरमा विस्थापित परिवारले आश्रय लिइरहेका छन् । दुई दिनयताको लगातार वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । सोमबार दिउँसो ३ बजेसम्म महाकालीमा पानीको बहाव १ लाख २४ हजार क्युसेक मापन गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ ।

करिब सय वर्ष पुरानो पुल जीर्ण बन्दै गएको भन्दै भारतीय पक्षले पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै ठूला खालका सवारी साधनको आवागमन बन्द गर्दै आएको छ ।
नदी तटीय क्षेत्रमा तत्काल खतरा नभए पनि निरन्तर नदीमा जलस्तर बढदै गएकाले सुरक्षित रहन आसपासका बासिन्दालाई सचेत गराइएको उनले बताए ।

हेलिकप्टर तयारी अवस्थामा
गृह मन्त्रालयले राहत तथा उद्धार कार्य प्रभावित हुन नदिन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । तत्काल उद्धार र राहतका लागि इटहरी, सुर्खेत, पोखरा र काठमाडौंमा रहेका नेपाली सेनाको हेलिकप्टरलाई तयारी हालतमा राखिएको छ ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार क्षेत्रीय गोदाममा राहत सामग्रीहरू तयारी अवस्थामा राखिएको छ । उनका अनुसार बाढी र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन कोषले तत्काल राहत दिनेछ ।

राजमार्गमा अवरोध
राजधानी प्रवेशको मुख्य मार्ग मुग्लिन–नारायणगढ सडकको ठाउँ–ठाउँमा पहिरो गएको छ । टोपे खोलामा ठूलो पहिरो गएपछि सोमबार सडक अवरुद्ध भयो। उक्त ठाउँमा राति अबेर मात्र सडक खुल्यो।

आइतबार रातिदेखि नै वर्षा भएकाले नारायणगढ–मुग्लिन सडकमा सोमबार बिहानैदेखि यातायात प्रभावित भएको थियो । मध्याह्न पौने १२ बजे टोपे खोलामा पहिरो खसेपछि बाटो पूरै ठप्प भएको हो । मध्याह्नअघि बिहान जलबिरे, चारकिलो, कालीखोला क्षेत्रमा स–साना पहिरो गएको थियो । ती पहिरो सफा गर्दै एकतर्फी भए पनि गाडी चलेका थिए ।

उडान पनि ठप्प
भारी वर्षाका कारण सोमबार सुर्खेत विमानस्थल ठप्प रह्यो । सुर्खेतबाट काठमाडौं र कर्णालीका हिमाली क्षेत्रमा जाने कुनै पनि उडान भएनन् । सुर्खेतबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा र मुगुमा उडान हुन्छ ।

नागरिक उड्डयन कार्यालयका प्रमुख विनोद पन्तले सोमबार सुर्खेतबाट कुनै उडान नभएको जानकारी दिए । हुम्लामा आइतबार रातिदेखि भएको वर्षाका कारण उडान नहुँदा भारतीय पर्यटक सिमकोटमै रोकिएका छन् । भारतीय तीर्थयात्रीलाई हिल्सासम्म ओसारपोसार गर्ने हेलिकप्टर कम्पनीले पनि उडान गर्न सकेका छैनन् ।

सिमकोट विमानस्थलमा विभिन्न कम्पनीका ७ हेलिकप्टर छन् । झन्डै पाँच सय भारतीय तीर्थयात्रु सिमकोटका होटलमा जहाजको प्रतीक्षामा छन् ।

प्रकाशित : असार १९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

केसीको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका अभियन्ता डा. गोविन्द केसीलाई सरकारले जुम्लामा गरेको गिरफ्तारीको विरोध गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा संसद्मा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगत्मा क्रमश: हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्नेजस्ता क्रमिक शृंखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको उल्लेख गरिएको छ ।

‘सरकारका गलत कर्मको विरोध गर्न संसद्, सडक या प्रेसमार्फतको प्रस्तुति विल्कुलै स्वाभाविक हुन्छ भने न्यायोचित माग राखेर गरिने अनशनको सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रूपमा लिइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले सरकार हरेक क्षेत्रमा कि हचुवा शैलीमा, कि निश्चित नियतका साथ प्रस्तुत हुँदै गएको पछिल्लो उदाहरण चिकित्साशास्त्र विधेयक बनेको उल्लेख गर्दै सरकारको अलोकतान्त्रिक चरित्रविरुद्ध आफ्नो पार्टी सडक र संसद्मा उत्रने चेतावनीसमेत दिएको छ ।

‘सरकारले समयमै सच्चिनु र जिम्मेवार ढंगले अघि बढ्न सुझाव दिनु हाम्रो कर्तव्य हो । तर सरकार गम्भीर बनेन भने संसद्, सडक, प्रेस, सामाजिक सन्जाल र अनशनसमेतको चौतर्फी दबाब झेल्न कठिन हुने चेतावनी दिन चाहन्छु,’ विज्ञप्तिमा छ ।

प्रकाशित : असार १९, २०७५ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्