कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विषाक्त रक्सीले ४ को मृत्यु, आधा दर्जन बिरामी 

१ को अवस्था चिन्ताजनक

जनकपुर — धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार बिहान ४ जनाको मृत्यु भएको छ । आधा दर्जन बढी सिकिस्त छन् ।

विषाक्त रक्सीले ४ को मृत्यु, आधा दर्जन बिरामी 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका–५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र कमला नगरपालिका–६, सिग्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारीको मृत्यु भएको हो । मनिक, रामनाथ र साविरको गाउँमै तथा रामचन्द्रको उपचारक्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो । मंगलबार साँझ अत्यधिक रक्सी सेवन गरेर घर फर्किएका उनीहरूको अवस्था रातिदेखि नै बिग्रन थालेको थियो ।


सिकिस्त भएका कमला नगरपालिका–५, लक्करका ४० वर्षीय जामुन पासवानको जनकपुर अञ्चल अस्पतालमै उपचार जारी छ । विन्देश्वर पासवान र असलदेव पासवानको भने फिजिसियन डा.रामपरीक्षण यादवको जनकपुरस्थित क्लिनिकमा उपचार भइरहेको छ । कमला–६ का ४५ वर्षीय विनयकुमार ठाकुर र भारत मोतिहारी घर भएका कमला–६ मा घर बनाउने काम गर्दै आएका ३३ वर्षीय मनोज साहसहित आधा दर्जन सिकिस्त छन् ।


कमला नदीको बाँधनजिक भट्टीमा रक्सी सेवन गरेका उनीहरूलाई रातिदेखि नै रिँगटा लाग्ने, बान्ता हुने, टाउको दुख्ने हुन थालेको थियो । बुधबार बिहानसम्म अचेत बनिसकेका उनीहरूलाई उपचारका लागि जनकपुर ल्याउने तयारी गर्दागर्दै तीन जनाको मृत्यु भएको कमला नगरपालिकाका मेयर रामउदगार गोइतले बताए । मेयर गोइतका अनुसार सिकिस्त भएका अन्यलाई बिहान ८ बजे उपचारका लागि जनकपुर पुर्‍याइएको थियो । ‘हामी सबै जना सँगै बसेर रक्सी पिएका थियौं,’ जनकपुरमा उपचाररत असलदेव पासवानले भने, ‘हामी पुग्नुअघि नै भट्टीमा रक्सी खाइरहेकाहरूको ज्यान गएको छ । हामी पछि पुगेकाले थोरै मात्र खायौं ।’ पासवानले रक्सी भट्टी सञ्चालकको नाम बताउन चाहेनन् । उनले भने, ‘भट्टी चलाउनेले आफैं रक्सी उत्पादन गर्दैन । बाहिरबाट ल्याएर बेच्छ ।’


इलाका प्रहरी कार्यालय खजुरीका इञ्चार्ज इन्स्पेक्टर शेषराज थानदारले विषाक्त रक्सी सेवन गर्दा चार जनाको ज्यान गएको बताए । ‘रक्सी पसलबाट बान्ताको स्याम्पल संकलन गरेको छु । शवको भिसेरा जाँच तथा स्याम्पल परीक्षणपछि घटनाको वास्तविकता थाहा हुन्छ,’ उनले भने ।


जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रामपरीक्षण यादवले विषाक्त रक्सी सेवनकै कारण उनीहरूको मृत्यु भएको जानकारी दिए । उनका अनुसार रक्सीको अर्को नाम इथाइल अल्कोहल हो । रक्सी निर्माण गर्ने बेला सामान्यतया इथाइल अल्कोहल बन्छ तर कहिलेकाहीँ गलत प्रतिक्रिया भएर मिथाइल अल्कोहल निर्माण हुन्छ । मिथाइल अल्कोहल विष हो । घरेलु मदिरा परीक्षणबिनै सीधै बिक्री–वितरण हुने गरेको छ ।


मिथाइल अल्कोहल सेवन गर्नेलाई रिँगटा लाग्ने, बान्ता हुने र हृदयाघात वा लिभर फेल भएर मृत्युसमेत हुने गरेको डा.यादवले बताए । पूर्वी धनुषाको इनर्वा, कठाल, लक्कर, सबैला, रघुनाथपुरसँगै पूर्वपश्चिम राजमार्गवरिपरि खुलेआम अवैध घरेलु रक्सी उत्पादन तथा बिक्री–वितरण हुन्छ । प्रहरी–प्रशासनसँगको मिलेमतो तथा राजनीतिक दलका नेताको संरक्षणमा मधेसमा घरेलु रक्सीको व्यापार बेरोकटोक भइरहेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा तीन साताअघि बसेको सुरक्षा बैठकले प्रदेश २ मा घरेलु रक्सीको उत्पादन, बिक्री–वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको थियो । यद्यपि यहाँ घरेलु मदिरा उत्पादन र बिक्री–वितरण रोकिएको छैन ।


प्रकाशित : असार १३, २०७५ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?