१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

शान्ति सेनामा महिला बढ्ने विश्वास

काठमाडौँ — राष्ट्रसंघीय पिस किपिङ विभागका उपमहासचिव जिन पेइरी लाक्रोइसले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली महिला सैनिकको संख्या बढ्ने विश्वास व्यक्त गरेका छन् । तीनदिने भ्रमणक्रममा मंगलबार काठमाडौं आएलगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँगको भेटमा उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

शान्ति सेनामा महिला बढ्ने विश्वास

नेपालबाट शान्ति सेनामा महिला सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘आगामी दिन यो संख्या थप बढ्ने अपेक्षा राष्ट्रसंघको छ ।’

क्षत्री र लाक्रोइसबीच राष्ट्रसंघको अनुरोधमा सेनाले विश्व शान्तिका लागि पुर्‍याउँदै आएको बहुआयामिक योगदान, आगामी दिनमा गरिने सहयोग एवं सहकार्यका क्षेत्रलाई विस्तार गर्ने सम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । लाक्रोइसको साथमा राष्ट्रसंघ मुख्यालयस्थित शान्ति सेना विभागका सैनिक सल्लाहकार कार्लोस हुम्बर्टो लोइटे, प्रहरी सल्लाहकर लुइस क्यारिल्हो र राजनीतिक मामिला हेर्ने एलिस के. लमनको समेत उपस्थिति थियो ।


राष्ट्रसंघीय राजनीतिक विभागको नेपाल कार्यालय बन्द गराउने निर्णय भएको सातापछि मुख्यालयबाट शान्ति मिसन हेर्ने उपमहासचिव राजनीतिक मामिला हेर्ने अधिकारीसहित काठमाडौं आएका हुन् । विश्व शान्ति स्थापनार्थ नेपाली सेनाको भूमिकालाई महत्त्व दिएर उनले नेपाल भ्रमण गरेको भनिए पनि कार्यालय बन्द भएपछिको राष्ट्रसंघको राजनीतिक मामिलासमेत यसमा जोडिएको एक अधिकारीले बताए ।


प्रधानसेनापति क्षत्रीले शान्ति सेनामा नेपाली अधिकृतस्तरको सहभागिता वृद्धि गर्न आग्रह गरेको जानकारी सैनिक अधिकारीहरूले दिएका छन् । नेपाल विश्व शान्तिमा खटिने छैटौं ठूलो फोर्स हो । तर, उच्च पदमा आधा दर्जन नेपाली पनि अहिलेसम्म पुगेका छैनन् । लाक्रोइस दक्षिण एसियाका चार मुलुक नेपाल, भारत, पाकिस्तान र बंगलादेश भ्रमण सूचीअन्तर्गत नेपाल आएका हुन् ।

उनले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहारीका प्रमुख तथा उच्च अधिकारीसँग छलफल गर्ने पाँचखालस्थित तालिम केन्द्रको अवलोकन गर्ने, राजनीतिक दलका नेता भेट्नेलगायत कार्यक्रम छ । उनी राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्री लगायतसँग पनि शिष्टाचार भेट गरेर बिहीबार फर्कनेछन् ।

प्रकाशित : असार १३, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?