कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टिप्पणीः प्रधानमन्त्री ओलीका लागि चिनियाँ ढाडस

गंगा बिसी

काठमाडौँ — पछिल्लो प्रसंगसँगै उनको प्रधानमन्त्रीको रुपमा दोस्रो राजकीय चीन भ्रमण महत्वपूर्ण मानिएको छ । उनी भारत भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरी गइसकेका छन् । पछिल्लो ओलीको चीन भ्रमणसँगै दुई छिमेकी नेपालको समृद्धिका लागि सघाउन तयार भएका छन् ।

टिप्पणीः प्रधानमन्त्री ओलीका लागि चिनियाँ ढाडस

सीताले सारा भिजाइन् दक्षिण लङ्का भारत

भृकुटी तारा उदाइन् उत्तर चीन तिब्बत ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले त्यतिबेला लेखेको यो गीतको अहिले पनि त्यत्तिकै सान्दर्भिक छ । यो दुई छिमेकी जोड्ने ऐतिहासिक गीतपनि हो । देशभक्ति गीतको रुपमा यो धेरै नेपालीको ओठमा झुण्डिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला अझ स्मरणयोग्य छ । योसँगै लय मिलाएर यति बेला भन्न सकिन्छ:


प्रधानमन्त्री ओली उदाए उत्तर चीन छिमेक

पहिलो पालो पुर्‍याई दक्षिण छिमेक भारत...


यसका कारण प्रधानमन्त्री ओली कुटनीतिले उचाइ लिएको छ ।


यो चीनको भ्रमणको रोचक पक्ष भनेको चीनले ओलीको राष्ट्रवादी मुद्दामा समर्थन गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री ओलीसहित भएको शिष्टाचार भेटमा भने, ‘नेपालले आफ्नो राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताका पक्षमा चाल्ने कुनै पनि प्रयत्नलाई चीनले सदैव समर्थन गर्दै आएको छ । आफ्नो सामाजिक प्रणाली एवं विकासको मार्ग आफ्नो राष्ट्रिय परिवेशअनुरूप आफैं तय गर्ने नेपालको प्रयासप्रति चीनको पूर्ण समर्थन छ।’ यो ओलीका लागि ठूलै ढाडस हो । यसअघि चीनले यसले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि खुलेर बोलेको थिएन ।


यसले खासगरी भारतलाई केही सोच्ने अवस्था बनाउने छ । किनकी उत्तर चीन यी तीन विषयमा खुलेर आएको छ । ओली प्रधानमन्त्री भएपछि नेपालले परम्परागत सोचलाई परिमार्जन गर्ने संकेत दिइसकेको छ ।


अब ओलीको ‘रेल सपना’ पुरा हुने देखिएको छ । चिनियाँ राष्ट्रपति सीले रेल बेइजिङमा आफ्नै मुखबाट बुधबार सार्वजनिक गरिदिए । अबको पाँच वर्षमा रेल काठमाडौं आउने विश्वास ओलीलाई दिइएको छ । उता भारतसँग पनि काठमाडौंमा रेल ल्याउने समझदारी भइसकेको छ ।


ओलीले २०७४ फागुन (२०१८ अप्रिल) मा भारतको भ्रमण गरी त्यसबेला पनि नेपालका सीमाक्षेत्रमा रेल विस्तारमा सहमति भएको थियो । जसअनुसार मुख्यगरी रक्सौल हुँदै काठमाडौं जोड्ने रेलको सर्भे गर्ने सहमति भएको थियो । एक वर्षभित्र सर्भेक्षण सक्ने त्यो सहमतिमा उल्लेख छ ।


पहिलो चरणमा लिंक परियोजना अन्तर्गत भारतको जयनगरबाट जनकपुर, बर्दिबास, जोगबनी बिराटनगर हुने र दोस्रो चरणमा जलपाइगुढी काँकडभिट्टा, नौतुना भैरहवा, रुपैडिहा नेपालगन्ज सर्भे गर्ने ओली भ्रमणका बेला दिल्लीबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।


ओलीले बेइजिङमा पाएको अर्को विश्वास हो, राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने । ‘अवश्य आउने छु’ भन्दै सीले ओलीलाई आश्वस्त पारेका थिए । ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय छलफलमा ओलीका लागि यी सबभन्दा ठूला विषय हुन् । जुन ओलीले पहिलेदेखि नै गर्दै आएका थिए ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७४ चैत(२०१८ मे) को अन्तिम साता नेपालको भ्रमण गरी जनकपुर, काठमाडौं र मुक्तिनाथमा विशेष धार्मिक पुजासहित केही सम्झौता भए । त्यसबेला बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास भएको थियो । त्यसबेला जलयात्राका लागि भारतले रुट दिनेलगायत समझदारी भएको थियो । ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमणले बिगतको अविश्वास हटाई विश्वासको वातावरण बनेको हो ।


ओलीको यो चीन भ्रमणमा माथिल्लो मर्स्याङ्दी- ३ आयोजना निर्माण लगायत नौ सम्झौता भएका छन् । केही सम्झौता बिगतकै आयोजनाका निरन्तरता छन् । दुईवर्ष अघि सन् २०१६ मा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ‘व्यापार र ट्रान्जिट सम्झौता’ गरेका थिए । भारतसित परनिर्भरता बढिरहेका बेला यो सम्झौताले त्यो परनिर्भरता घटाउने दाबी गरिएको थियो ।


त्यो सम्झौताबारे यसपटकको भ्रमणमा खास प्रगति भएन ।२०७२ असोज (२०१५ सेप्टेम्बर) भारतले नाकाबन्दी लगाएको सन्दर्भमा ओलीले ‘व्यापार र ट्रान्जिट सम्झौता’ गरेका थिए । त्यसबेला चीनले अनुदानमा दिएको पेट्रोल केरुङ नाका हुँदै नेपाल भित्रिएको थियो । त्यसबेला ब्यंग्यकै रुपमा भए पनि पहिलोपटक आएको चिनियाँ पेट्रोललाई नेपालीले ‘एकपटक सुघौँ’ भनिएको थियो ।

बहुमतको बाम सरकार बनेसँगै ओलीका चीन र भारत भ्रमणले सम्बन्धलाई बिगतभन्दा उचाइमा पुर्‍याएको छ । स्थायी सरकार भएपछि चीनले विश्वासका साथ हात बढाएको देखिन्छ भने भारतले बिगतका तिता कुरा बिर्सेर सम्बन्ध बलियो बनाउन खोजेको छ ।


योसँगै चीन नेपाल सम्बन्धबारे इतिहासतिर नजर लगाउन उचित हुनेछ ।


नेपालको परराष्ट्र मन्त्रालयको वेबसाइटमा उल्लेख भए अनुसार नेपाल चीन बहुआयामिक सम्बन्ध नेपाली भिक्षु र चिनियाँ विद्धान बुद्धभद्रबीच पाँचौ शताब्दीमा सुरुतिर भयो । राजकुमारी भृकटीको सातौं शताब्दीको मध्यमा तिब्बतमा बिवाह भएपछि नयाँ ढंगले सम्बन्ध बढ्यो । त्यस्तै कलाकार अरनिको तेह्रो शताब्दीको मध्यमा चीन भ्रमण भयो । चीनतर्फबाट नेपालमा भिक्षु फा हसियन र भिक्ष सुआन चाङलगायतले त्यतिबेला भ्रमण गरेर सम्बन्ध विस्तारको सुरुवात गरेका थिए ।


राजनीतिक सम्बन्ध भने लिच्छिवी राजा नरेन्द्रदेबलाई तिब्बतमा शरण दिएर सैन्य तालिम दिइएको थियो । त्यसको मद्दतले उनले काठमाडौंका राजा विष्णु गुप्तलाई पराजित गरेको इतिहास छ । त्यसपछि सातौ शताब्दीको मध्यतिर नेपाल हुँदै एशिया र पूर्बी एशिया जोड्न तिब्बतमार्फ्त आग्रह गरेपछि चीनसँग पहिलो राजनीतिक सम्बन्ध सुरु भएको ‘नेपाल तिब्बत सम्बन्ध’ पुस्तकमा प्रेम आर उप्रेतीले उल्लेख गरेका छन् । त्यसबेला धार्मिक यात्रु याउन छाउङले नेपालको तराई क्षेत्रको भ्रमण गरेका थिए । सन् ६२७ मा चिनियाँ शासकले एक सैनिक अधिकारीलाई राजदूतको रुपमा नेपालको केरुङको बाटो हुँदै भारत पठाएका थिए । नरेन्द्रदेवले उनलाई काठमाडौंमा स्वागत गरेका थिए । अर्का चिनियाँ मिसन वाङ सुन तेले कुती, बनेपा र देउपाटन हुँदै भारत जाने बेला नरेन्द्रदेवले न्यानो स्वागत गरेका थिए । त्यसपछि सन् ६४७ मा नेपालका कुटनीतिकले चीन भ्रमण गरेको इतिहास छ । अनि निरन्तर नेपाल र चीनबीच सम्बन्ध विस्तार हुँदै आएको छ । नेपाल र चीनको अनौपचारिक औपचारिक सम्बन्ध करिब दुई हजार वर्ष अघिदेखि हुँदै आएको पाइन्छ ।


चीन र भारतको रेलवेको ट्रान्जिट हुने धारणा आइरहेकै बेला यो बिषय सान्दर्भिक हुनेछ । खासगरी चीनले नेपाल मार्फत् दक्षिण एशिया जोड्ने कनेक्टिभिटीको प्रस्ताव ल्याइरहेका बेला यो इतिहास सम्झना लापक छ ।


काठमाडौंका उपत्यकाका राजा महेन्द्र मल्लले सोह्रौ शताब्दीमा तिब्बताका लागि शिक्का बनाउने अधिकार पाए । मल्ला राजाले तयार गरेको शिक्का तिब्बतमा तौल, मूल्य र ठिक ढंगको मानिन्थ्यो । त्यसबेला नेपाल भनेर चिनिने काठमाडौंले वार्षिक एक लाख रुयैँया तिब्बतबाट नाफा गथ्र्यौ । यो त्यसबेलाको ठूलो नाफा हो । नेपाल बिस्तार गरिसकेपछि १७ औ शताब्दीमा पृथ्वीनारायण शाहको पालामा तयार भएको सिक्का तिब्बले स्वीकार गरेन । भारतीय व्यापारीले नेपाल हुँदै तिब्बत व्यापार गर्दै आएको ‘नेपाल तिब्बत सम्बन्ध’ मा लेखक उप्रेतीले उल्लेख गरेका छन् ।


यतिबेला नेपाल व्यापार घाटा भइरहेको बेला त्यतिबेलाको सिक्का छापेर नाफा कमाएको प्रसंगले हामीलाई रोचक बनाउँछ ।


चीनसँग औपचारिक सम्बन्ध भने अगस्ट १९५५ मा सुरु भएको हो । नेपाल चीन सम्बन्ध औपचारिक रुपमा स्थापित भएको ६३ वर्ष पुगेको छ । तत्कालीन राजा महेन्द्रको शासनकालमा सुरु भएको थियो ।


पहिलो प्रधानमन्त्रीको रुपमा सन् १९५६ टंक प्रसाद आचार्यले चीन भ्रमण गरे । त्यसबेला चीनले तीन करोड २० लाख रुयैँया सहयोग गर्ने सम्झौता भएको थियो भने ६ करोड चालिस लाखको मेसिनरीलगायत अन्य सामाग्री सहयोग गरेको थियो ।


प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मा चीनको भ्रमण गरी शान्ति तथा मैत्री सन्धीमा हस्ताक्षर गरेका थिए । त्यो जननिर्वाचित प्रधानमन्त्रीको पहिलो भ्रमण थियो । त्यसबेला दुई देशबीच शान्ति र सहकार्य गर्ने मुख्य जोड थियो ।


राजा महेन्द्रले भने भौतिक पूर्वाधार विकासका लागि चीनतिर पहिलो कदम चालेका थिए । काठमाडौं चीन जोड्न अरनिको राजमार्ग निर्माण गर्ने सहमति गरेका थिए । यो राजमार्ग नेपालका लागि चीन जोड्ने पहिलो सडक मार्ग हो । केही वर्ष अघि मात्र रसुवागढी नाका खुलेको छ । जुन तातोपानी नाकाजस्तो सहज तरिकाले संचालन हुन सकेको छैन । ओलीको यो भ्रमणमा तातोपानी नाका खोल्न चिनियाँ पक्ष सहमत भए पनि त्यसको मिति तय भइसकेको छैन ।


राजा महेन्द्रको पहलमा सन् १९६० को मध्यमा चीन जोड्ने कोदारी राजमार्ग निर्माण सुरु भएको थियो । भारतीय पक्षले कम्युनिस्टसितको सहकार्यबारे असन्तुष्ट जनाएपछि महेन्द्रले भनेका थिए, ‘कम्युनिस्ट ट्याक्सी चढेर आउँदैन ।’ यो राजमार्गले नेपाल र चीनबीच सडक यातायातले सोझै जोडेको थियो । राजा महेन्द्रले १९६१ मा १७ दिन लामो चीन भ्रमण गरी सम्बन्ध थप बलियो बनाउने प्रयास गरेका थिए । त्यसपछि राजा वीरेन्द्रलगायत दर्जनौ प्रधानमन्त्रीले चीनको भ्रमण गर्दै आएका छन् । ‘एक चीन नीति’ मा सबैको साझा प्रतिवद्धता रहँदै आएको छ । भारतीय पक्षसँग सम्बन्ध बिग्रिँदा चीनको सहयोग माग्ने काम पनि बेलाबेला हुँदै आएको छ ।

प्रकाशित : असार ७, २०७५ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?