१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उड्यो मौसमको जानकारी दिने बेलुन !

काठमाडौँ — मौसमी गतिविधि थाहा पाउन जल तथा मौसम विज्ञान विभागले पहिलोपटक 'वेदर बेलुन' अर्थात् रेडियो सोन्ड उडाएको छ । त्रिविको जल तथा मौसम केन्द्रीय विभागसंगको सहकार्यमा सुरु गरिएको उक्त कार्यक्रम विभागका महानिर्देशक डा.ऋषीराम शर्मा र त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले शुभारम्भ गरेका थिए । 

उड्यो मौसमको जानकारी दिने बेलुन !

बुधबार बिहान ५ बजेर ३७ मिनेटमा त्रिविको ग्राउण्डबाट उडाइएको बेलुन १९ हजार मिटर उचाईसम्म पुगेको थियो । विभागका महानिर्देशक डा.ऋषीराम शर्माका अनुसार उक्त बेलुन ८ बजेर १५ मिनेटमा सुन्दरीजल आसपासमा खसेको थियो ।


बेलुनले वायुमण्डलको तापक्रम, प्रेसर, वायुको गति, वायुको दिशा, बादलको अवस्था, सापेक्षिक आद्रतालगायतको अवस्थाबारे सतहमा रहेको तथ्यांक संकलन गर्ने स्टेसन (डाटा सेन्टर) मा पठाएको शर्माले बताए ।


बेलुनले दिएको तथ्यांकलाई तल बसेका प्राविधिकले कम्प्युटरमा डाउनलोड गरेर मौसमी अवस्थाबारे विश्लेषण गर्नेछन् । शर्माका अनुसार उड्दा ६ मिटर प्रति सेकेन्डका दरले र झर्दा ३ मिटर प्रति सेकेन्डका दरले खसेको थियो ।


अब हरेक दिन बिहान बेलुन उडाइनेछ । २ वर्षे यो कार्य क्रममा ४ करोड रुपैयाँ खर्च हुनेछ । हरेक दिन बेलुन फुट्ने भएकाले दैनिक डेढ सयदेखि दुई सय अमेरिकी डलरसम्म खर्च हुनेछ । ‘हरेक १०/१० सेकेन्डमा बेलुनले दिने तथ्यांकले उच्च वायुमण्डलको अवस्था बुझ्न सकिनेछ र मौसमको पूर्वानुमान गर्न हामीलाई सहयोग पुग्नेछ’, शर्माले भने । यसले मौसमी प्रक्षपण थप प्रभावकारी र वैज्ञानिक हुने अपेक्षा गरिएको छ ।


विभागमा सञ्चालित ‘जलवायु प्रकोप समुत्थान निर्माण आयोजना’मार्फत् बेलुन उडाएर वायुमण्डलको माथिल्लो तहको अवस्थासम्वन्धि तथ्यांक हासिल गर्न खोजिएको हो । ती वेदर बेलुन (रेडियो सोन्ड) जर्मनीबाट ल्याइएको हो ।


बेलुनको आकार करिब १० फिट लम्बाई र ६ फिट चौडाइको हुनेछ । बेलुनको स्वरुप सामान्य खालको बेलुनजस्तै एकातिर फुकेको र अर्को्तिर सुकेको हुनेछ ।


बेलुन उडाउन आवश्यक पर्ने हाइड्रोजन ग्यास पनि विभाग आफैंले उत्पादन गर्ने तयारीसमेत गरेको छ । अत्यधिक प्रज्वलनशिल हुने भएकाले अन्य स्थानबाट ओसार पसार गर्न असम्भव छ ।


पहिलो चरणमा काठमाडौंमा सुरु गरिने यो प्रविधि यसै वर्ष विराटनगर र सुर्खेतमा पनि विस्तार गरिनेछ । अहिले विभागले गर्दै आएको मौसम प्रक्षेपण अर्थात् मौसम अनुमानमा यो प्रविधिले थप विश्वसनीय बनाउने जानकारहरुले बताएका छन् । ‘जमिनमा रहेका मौसम मापन केन्द्रले दिने तथ्यांक र उच्च वायुमण्डलबाट समेत तथ्यांक प्राप्त हुने भएपछि हाम्रो प्रक्षेपण वैज्ञानिक हुनेछ’, महानिर्देशक शर्माले थपे, ‘यो प्रविधिको सुरुवातपछि हामीले गरेको मौसमी अनुमान मिल्दैन भनेर कुरा काट्ने दिन सकिनेछन् ।’


अहिले विभागले नेपालभर मौसम मापन गर्न १४० स्थानमा केन्द्र खडा गरेको छ । जमिनको सहतको मात्र तथ्यांक विश्लेषण गरेर गरिने प्रक्षेपण भरपर्दो नहुने भएकाले विभागले नयाा प्रविधिको प्रयोग गर्न खोजेको हो ।

प्रकाशित : असार ६, २०७५ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?