कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतीयलाई नागरिकता

विनोद भण्डारी

रंगेली (मोरङ) — रंगेली नगरपालिकाका एक जनप्रतिनिधिले मानव तस्करीमा संलग्न भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको खुलासा भएको छ ।

भारतीयलाई नागरिकता

भारत कुर्साकट्टा, डहुआबाडी १३ का मुज्जफर हुसैनलाई रंगेली नगरपालिका–८ का वडाध्यक्ष ढकप्रसाद आचार्यको सिफारिसमा नागरिकता दिइएको हो । उनी एक वर्षदेखि सोही नगरपालिकाको दर्बेसास्थित ठूलोबुबाको घरमा बस्दै आएका थिए । हुसेनलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेपछि रहस्य खुलेको हो ।

हुसैनले ठूलोबुबा अवहुल सकर मियाँका छोरा आनाबारुल मियाँलाई बाबु बनाएर नागरिकता बनाएको पाइएको प्रहरीले जनाएको छ । हुसैनलाई नागरिकता दिलाउन वडाध्यक्ष आचार्यले आफूलाई पनि झुक्याएर हस्ताक्षर गराउन लगाएको वडा सदस्य भक्त थापाले दाबी गरेका छन् ।

आचार्यले ३० वर्षीय हुसेनको उमेरसमेत २० वर्ष उल्लेख गरी जन्मदर्ता गराएको पाइएको छ । सर्जमिन मुचुल्कामा वडाध्यक्ष र वडासचिवको मिलेमतोमा गाउँमै नभएका व्यक्तिको फर्जी हस्ताक्षर राखी जन्मदर्ता दिइएको छ । मुचुल्कामा रंगेली ८ बस्ने मरदिन चुरौटे, इमाम चुरौटे, मो. राजाक, बलराम पौद्दार र कृष्णमोहन पौद्दारको हस्ताक्षर छ । उनीहरूमध्ये पोद्दारको हस्ताक्षर फर्जी छ । त्यसैगरी इमामलाई ट्याक्टरको कारोबारको कागज भनी हस्ताक्षर गराइएको स्रोतको दाबी छ ।

भारतको विधानसभा र लोकसभा निर्वाचनको मतदातासमेत रहेका हुसैनले नेपालमा राजा मियाँको नामबाट नागरिकता बनाएका हुन् । बिहारको गत जनवरी १० मा प्रकाशित निर्वाचक नामावलीमा हुसेनको मतदाता परिचयपत्र नम्बर यू.एक्स.बी.१३८०५१८ छ । उक्त परिचयपत्रमा बाबुको नाम मो. हासिम उल्लेख छ ।

घटना सार्वजनिक भएपछि वडाध्यक्ष आचार्य भने कार्यालय बिदा लिएर बसेका छन् । हुसैनलाई इलाका प्रशासन कार्यालय रंगेलीबाट दिइएको नागरिकताको नम्बर ०५०२७४/०४७६२ छ । २०७४ माघ १७ गते जारी नागरिकतामा जन्ममिति २०५४ साल भदौ २३ गते उल्लेख छ । रंगेली–८ मा हुसैनको ससुराली घर छ । करिब १० महिनादेखि ससुराली बस्दै आएका उनी पहिले दिल्ली र मुम्बईमा मजदुरी गर्थे ।

हुसैनले वैशाख २६ गते स्थानीय एक १३ वर्षीय बालिकालाई भारतको गाजियाबाद लगेर बेचेका थिए । पीडित परिवारले आफन्त, प्रहरी र माइती नेपालको सहयोगमा ती बालिकाको उद्धार गरेपछि हुसेन फरार भएका थिए । प्रहरीले उनलाई वैशाख ३० गते पक्राउ गरेपछि नेपाली नागरिकता लिएको खुलासा भएको हो । प्रहरीले उनीविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा चलाएको छ ।

हुसैन पक्राउ परेलगत्तै वडाध्यक्ष आचार्यले उनको सक्कल नागरिकता लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताएका छन् । ‘गल्ती भएछ,’ उनले भने, ‘त्यसैले आफ्नो सिफारिसमा दिइएको नेपाली नागरिकता थुतेर जिल्ला प्रशासनमा बुझाएको हुँ ।’ थुनामा रहेका हुसैनमाथि प्रहरीले नागरिकता विषयमा पनि थप अनुसन्धान थालेको छ ।

प्रकाशित : जेष्ठ २०, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?