२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

प्राथमिकतामा पर्दैनन् संग्रहालय

शिल्पा कर्ण

काठमाडौँ — राष्ट्रिय कला संग्रहालय सिंहध्वज दरबार भक्तपुरमा छ । त्यहाँ तीन स्थानमा पौराणिक सामग्री राखिएका छन् । पुरातत्त्व विभागले सन् १९६० मा दरबारलाई संग्रहालयको स्वरूप दिएसँगै काष्ठकला, चित्रकला र प्रस्तर मूर्तिका उत्कृष्ट संग्रह यहाँ राखिएका छन् ।

प्राथमिकतामा पर्दैनन् संग्रहालय

देशैभरिका विभिन्न किसिमका प्राचीन चित्रकला यहाँ राखिएका छन् । भूकम्पपछि क्षतिग्रस्त मुख्य भवन टेकोका भरमा छ । पुनर्निर्माण क्रममा रहेको उक्त संग्रहालयका सबैजसो सामग्री थन्क्याइएका छन् ।

उपत्यकाका बढीजसो संग्रहालय पुराना काठका भवनमा छन् । त्यहाँ सीसीटीभी, ‘स्मोक डिटेक्टर’ र आगलागी हुँदाका बखत प्रयोग गरिने उपकरण छैन । यसले वर्षौंको संग्रह खरानी हुने डर हुन्छ । सीसीटीभी नहुँदा चोरीको भय रहन्छ ।

पुजारी मठ अर्थात् दत्तात्रेय मन्दिरको दक्षिण र उत्तरमा रहेको काष्ठकला र धातुकला संग्रहालय रहेको संरचनामा क्षति नपुगेकाले त्यसमा सर्वसाधारणलाई जान रोकटोक छैन । अहिले संग्रहालयको सानो भाग मात्र खुला छ । भूकम्पले क्षति पुर्‍याएको भए पनि बिस्तारै अवालोकनकर्ता बढ्दै गएको संग्रहालयको भनाइ छ । हाल त्यहाँ मध्यकालीन, लिच्छविकालीन, पौवाचित्र, ग्रन्थचित्र, प्रस्तरमूर्ति, धातुका सामग्री तथा मूर्ति राखिएका छन् ।
चौमुखी शिवको मूर्ति, सूर्य, चन्द्रमा, विष्णु आदि देवताका मूर्तिले पुरातत्त्वका अध्येतालाई आकर्षित गर्छ । चित्रमा पनि वसुन्धरा मण्डला, वज्रयोगिनी, शिवविश्वरूपाजस्ता तस्बिरले नेपालमा कला संस्कृतिको विकासक्रम र इतिहास देखाउँछ । यी सामग्री लामो समयदेखि यस्तै छन् । संग्रहालय भनिए पनि संग्रह बढ्न सकेको छैन । त्यहाँ नयाँ केही नथपिने गरेको स्विकार्दै कला संग्रहालय प्रमुख सरस्वती सिंह भन्छिन्, ‘हामीले नयाँ किन्न पाउने अधिकार छैन । जिल्लामा कुनै नयाँ मूर्ति वा पुरातात्त्विक महत्त्वमा सामग्री भेटिए विभागमै बुझाउँछौं ।’

संकलन वृद्धिका लागि बजेट नआउने गरेको उनले जानकारी दिइन् । धेरै पहिलेदेखि उही सामग्री रहिरहेको भन्दै उनले संग्रह बढाउनेतर्फ राज्यको सोच नभएको बताइन् । यसले पर्यटक वा अवलोकनकर्ता दोहोर्‍याइतेहेर्‍याई आउने सम्भावना घट्ने उनको भनाइ छ । मुद्रा संग्रहालयमा रहँदाको अनुभव साटै उनले भनिन्, ‘त्यहाँ ५० हजार, १ लाख, थोरै भए पनि रकम नयाँ संकलनका लागि भनेर आउँथ्यो ।’ राष्ट्रिय जातीय संग्रहालयमा भने नयाँ सामग्री नभई प्रदर्शन स्थान अभावले नयाँ सामग्री नै ल्याउन छोडिएको छ ।


ग्रामीण विकास संस्थाका नामले २०५१ सालमै स्थापित यो संग्रहालय स्थापनाको २५ औं वर्ष पुग्न लाग्दा विभिन्न ठाउँमा बस्दै बल्ल नेपाल पर्यटन बोर्डको दुई हलमा पुगेको छ । बाह्रगाउँले, चेपाङ, थामी, सियार, लेप्चा, धिमाल, उराउलगायत २० जातजातिसँग सम्बन्धित सामग्री राखिएका छन् । दुई कोठामा २० जातजातिको पहिरन, सांस्कृतिक बाजा, गहना, भाँडाकुँडा आदि सबै कुरा अटाएका छैनन् । नेपालमा १ सय २५ जातजाति छ भनिएको छ ।

आफूहरू अध्ययनको सिलसिलामा जाँदा स्थान अभावकै कारण अध्ययन गरे पनि नयाँ र थप सामग्री संकलन गर्न नसकेको महासचिव कुमार ब्लोन तामाङ बताउँछन् । ‘पहिले हामी धेरै नयाँ सामान ल्याउँथ्यौं । अहिले अध्ययन मात्र गर्छौं,’ तामाङले थपे, ‘दाताहरूले नि:शुल्क उपलब्ध गराउँदा पनि राख्ने ठाउँ नभएकाले लिन्नौं । यहाँको दुई कोठा पर्याप्त छैन ।’ कीर्तिपुरको चम्पादेवीमा उक्त संग्रहालयका लागि जग्गा छुट्याइसकेको र आगामी आर्थिक वर्षको बजेटमा पनि निर्माण योजना पर्नु सकारात्मक रहेको उनको भनाइ छ ।

सुरक्षाका हिसाबमा पनि संग्रहालय कमजोर छन् । सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालित वा निजी प्रयत्नमा चलेका दुवै थरी संग्रहालयमा सुरक्षा व्यवस्था निकै फितलो छ । गत वर्ष भक्तपुरको पुजारी मठस्थित कला संग्रहालयमा बालेर राखेको दियोले आगो लाग्यो । भोलिपल्ट बिहान ३ बजेसम्ममा आगो नियन्त्रणमा त आयो । त्यस अवधिमा तीनवटा झ्याल र केही सामग्री जले । मुख्य भवन नजले पनि समयमा आगो नियन्त्रणमा नलिएको भए ठूलै क्षति हुने थियो ।

राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख जयराम श्रेष्ठ त्यहाँ १८ हजारभन्दा बढी कलात्मक सामग्री भएकाले सामान थप्नु नपर्ने स्थिति छ । भीमसेन थापाकै पालाको भवनमा रहेको संग्रहालयमा सामग्री प्रदर्शन र व्यवस्थापनमा आफूहरूले ध्यान दिएको प्रमुख श्रेष्ठको भनाइ छ ।


कस्तो हुनुपर्छ संग्रहालय ?
धेरैजसो सर्वसाधारणमा संग्रहालयमा पुरातात्त्विक महत्त्वका सामग्री मात्र हुन्छन् भन्ने भ्रम पाइन्छ । यस विषयका जानकार भन्छन्, जुन आजका लागि सामान्य वा नयाँ हो त्यो भोलिको पुस्ताका लागि विशेष र पुरातात्त्विक महत्त्वको हुन जान्छ । त्यसैले सबै किसिमका सामग्रीको संग्रह हुनुपर्छ । लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयकी उपप्राध्यापक एवम् संग्रहालय विषयकी जानकार स्वस्ती राजभण्डारी कायस्थ उपत्यकाका प्राय: संग्रहालय पौराणिक र ऐतिहासिक भवनमा खुला संग्रहालयका रूपमा हुनु राम्रो भएको बताउँछिन् ।

नयाँ सामग्री थप्ने क्रम निकै कम रहेको अनुभव सुनाउँछिन् । उपत्यकाको वातावरणमा आर्द्रता र चिसो प्राय: ठिकै रहने भएकाले सूर्यको किरण र प्रकाशको व्यवस्था अझ राम्रो बनाउन सकिने उनको भनाइ छ । ‘किरा लाग्ने, ढुसी पर्ने, मुसाले खानेजस्ता समस्याको समाधान संग्रहालयले गर्नुपर्ने हुन्छ । सुरक्षाका उपायमा उपत्यकाको वातावरणले धेरै हदसम्म साथ दिएको देखिन्छ,’ उनले भनिन् । यसबाहेक उपत्यकाका संग्रहालयमा देखाइएका सामग्रीका विषयमा पर्याप्त जानकारी दिने अर्थात् ‘लेबलिङ’ पनि खासै राम्रो नभएको उनले बताइन् ।

संग्रहालय ‘अनौपचारिक शिक्षा केन्द्र’ झैं भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले बुझ्ने गरी जानकारी राख्न सकिएको छैन । उनी भन्छिन्, ‘पाटन संग्रहालयमा केही हदसम्म राम्रो लेबलिङ छ । अन्यमा त्यस्तो राम्रो पर्याप्त जानकारी दिने गरी बोर्ड वा सूचना छैनन् ।’ केहीमा पर्याप्त प्रकाशको व्यवस्था छैन । आगन्तुकलाई तान्ने र धेरै समय व्यतीत गराउन मद्दत गर्ने खेल वा जानकारीमूलक ‘अडियो भिजुअल’ आदि केहीको व्यवस्था गरिएको छैन ।

समयसमयमा संग्रहालयका सामग्री प्रदर्शनीमा राख्ने क्रम निकै पातलो छ । कुनै विषय छानेर त्यससम्बन्धी प्रदर्शनी गर्दा उक्त विषयसँग सम्बन्धित सामग्री भएका अन्य संग्रहालयसँग पनि सम्बन्ध विस्तार हुन्छ भने अवलोकनकर्ता पनि बढ्छन् । यसरी प्रदर्शन गर्दा नै सामग्रीहरू संरक्षित हुन्छन् । कायस्थका अनुसार संग्रहालयसँग रहेका सामग्री प्रदर्शनले एकातिर त्यस्ता सामग्रीको प्रचार गर्छ भने समयसमयमा निकालिँदा संरक्षण पनि हुन्छ ।

यसरी प्रदर्शनमा राख्नु चुनौतीपूर्ण भएको भन्छिन् हनुमानढोका दरबार संग्रहालय विकास समितिकी कार्यकारी निर्देशक अरुणा नकर्मी । ‘यहीँको संग्रहालयमा पनि निकै बहुमूल्य गरगहना छन् । खुला राख्न नमिल्ने खालका पनि छन् । प्रदर्शन गर्दा सुरक्षा घेरा निकै कडा बनाउनुपर्ने हुनछ,’ नकर्मीले थपिन्, ‘ससाना सामग्री हराउने जोखिमदेखि ठूला सामग्री राख्ने ठाउँ व्यवस्थापन गर्न कठिनाइ हुन्छ ।’ संग्रहालयलाई अझ व्यवस्थित बनाउनुलाई राज्यले प्राथमिकता दिनुपर्ने नकर्मी बताउँछिन् ।


‘सबैभन्दा पहिले त संग्रहालय ऐनको खाँचो छ,’ हाल सरकारी संग्रहालय प्राचीन स्मारक संरक्षण ऐनको भरमा चलिरहेको बताउँदै उनले भनिन्, ‘यसले प्राचीन सम्पदालाई मात्र समेट्छ ।

संग्रहालयको मापदण्ड, सिफारिस लिने निकाय, व्यवस्थापन तथा कर्मचारी संरचना सबै निर्धारण गर्नेखालको ऐन ल्याउनु आवश्यक छ ।’ सडक, शिक्षा र स्वास्थ्यझैं संस्कृतिलाई पनि महत्त्व दिनसके खुला संग्रहालय थपिने र आगन्तुक बढ्ने उनको बुझाइ छ । राज्यले संग्रहालयको संग्रह बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उनको सुझाव छ । प्रदर्शनमा प्रयोग हुने प्रकाश, प्रदर्शनको शैली र ठाउँ, ‘शो केस’ आदिले पनि संग्रहालय आकर्षक देखिने भएकाले तिनको व्यवस्थापन राम्रो हुनुपर्ने उनले बताइन् । नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेल पनि सर्वप्रथम ऐनकै खाँचो औंल्याउँछन् । ६ सय ५० प्रकारका १३ सय ५० भन्दा बढी नेपाली लोकबाजा हाल त्रिपुरेश्वरस्थित गुठी संस्थानको भवनमा संग्रहित छ ।

विगत २३ वर्षदेखि लोकबाजा संग्रह गर्दै आएका कँडेलको भनाइमा संग्रह व्यक्ति विशेषको रुचि भए पनि संग्रहित सामग्री राज्यको सम्पत्ति हो । ‘अन्य देशमा राष्ट्रले नै संग्रहालयमा लगानी गरे पनि यहाँ राज्यले ध्यान नदिनु दुभाग्यपूर्ण हो । नयाँ लोकबाजा किन्नेदेखि अन्य व्यवस्थापनका काम हामीले गैरसरकारी संस्थाका रूपमा गर्दै आएका छौं,’ उनको गुनासो छ, ‘बाजाबाट निस्किएका धुन, आवाज भनेकै हाम्रो संग्रह सम्पत्ति हो । यस्ता अभौतिक सम्पत्तिप्रति सरकारको ध्यान गएकै छैन ।’

सरकारी संग्रहालय सञ्चालन र व्यवस्थापनमा चुनौती रहेको भए पनि निजीस्तरबाट संग्रहालय स्थापना क्रम बढो छ । पुरातात्त्विक सामग्री मात्रभन्दा पनि ‘थिमेटिक कलेक्सन’ राख्ने धेरै छन् । यसरी विषयगत सामग्री संकलन गर्नेमा सिनामंगलस्थित उड्डयन संग्रहालय पनि एक हो । जहाँ तीन सयभन्दा बढी प्लेनका मोडल, उड्डयनसँग सम्बन्धित सामग्री आदि राखिएका छन् । सुन्दरीजल बन्दीगृह र हाल बीपी संग्रहालयमा कांग्रेसका नेता तथा त्यससँग सम्बन्धित विषयका सामग्री राखिएका छन् ।

पुनर्निर्माणमा चुनौती
भूकम्पले संरचना बिगारिदिएपछि कतिपय स्थानमा पुनर्निर्माण क्रममा शैली र प्रयोग गरिने सामग्रीका विषयमा विवाद सुरु भएको छ । पुरातत्त्व विभाग, स्थानीय र पुरातत्त्वविदहरूको फरकफरक धारणा र अडानबीच कतिपय पुनर्निर्माण ठप्पझैं छन् । भक्तपुर दरबार स्क्वायर क्षेत्रमा भूकम्पमा परी भत्किएका भवन पुनर्निर्माण गरिने भनिए पनि सँगसँगै विवाद पनि देखिएको छ । पुरातत्त्व विभागले सेतो दरबारलाई पहिलेझैं राणाकालमा बनाइएजस्तै युरोपियन शैलीमा पुनर्निर्माण गर्ने बताइरहँदा भक्तपुर नगरपालिकाले भने मल्लकालीन शैलीमा निर्माण हुनुपर्ने अडान राखेको छ ।

‘नगरपालिकाले राणाहरूले मल्लकालीन शैली फेरेर युरोपियन शैली प्रयोग गरेकाले वास्तविक शैली मल्लकालीन हो भन्ने गरेको छ । यता विभाग सय वर्ष नाघेकाले उक्त भवन युरोपियन शैलीमै बनाउनुपर्ने भन्छ,’ संग्रहालय प्रमुख सिंह भन्छिन् । अर्कातिर पुनर्निर्माण क्रममा कालिगढ अभाव पनि देखिएको छ । हनुमानढोका दरबार संग्रहालय विकास समितिकी कार्यकारी निर्देशक नकर्मी भन्छिन्, ‘सबैतिर एकैपल्ट पुनर्निर्माणकार्य भइरहेकाले आवश्यक सीप र दक्षता भएका कामदार पाउन मुस्किल छ ।’


पाटन संग्रहालयको बिजोग
पाटन संग्रहालयमा घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकको भीड बढो छ । पुनर्निर्माणले संग्रहालय अस्तव्यस्त मात्र नभई पर्यटकीय स्तरको शौचालय नहुँदा कन्तबिजोग छ । संग्रहालयको केशवनारायण चोकस्थित उत्तरपट्टि भवनको शौचालय बन्द छ । ढोकामा महिला र पुरुष लेखिएको प्लेटसमेत छैन । केशवनारायण चोकपछाडिको चोकको शौचालयमा पानी छैन । ढोका पनि बिग्रेको छ । हात धुन साबुनको व्यवस्था छैन ।

दुर्गन्ध वरिपरि फैलिएको छ । अपांग र महिलामैत्री पनि छैन । संग्रहालय घुम्न आउने पर्यटक शौचालय आसपास पुग्दा नाक थुन्नुपर्ने बाध्यता छ । संग्रहालयले शौचालय व्यवस्थापन गर्न ठेक्कामा दिने गर्छ । ठेक्का पाउने व्यक्तिले सफासुग्घर गर्नमा ध्यान दिएको छैन । नासल चोकस्थित शौचालयको अवस्था उस्तै छ । पाटन संग्रहालय अधिकृत सुरेश लाखेले भण्डारखाल बगैंचामा पर्यटकीय शौचालय बनाउने योजना रहेको भनेको पनि वर्षांै बितिसक्यो । कार्यान्वयन गरेका छैनन् । अधिकृत लाखे भन्छन्, ‘चालु आर्थिक वर्षमा शौचालय बनाउन भ्याएन,’ उनले दाबी गरे, ‘अर्को आर्थिक वर्षको पर्यटन सिजनसम्ममा बनाइसक्छु ।’

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x