बम विस्फोटमा घाइते कांग्रेस नेता भन्छन्–‘दु:ख पर्दा पार्टीले हेरेन’

कुलचन्द न्यौपाने, विमल खतिवडा

काठमाडौँ — ‘आज ठीक १ सय ७३ दिन भएछ,’ चुनावी प्रचार क्रममा २०७४ मंसिर १३ गते बम विस्फोटमा परी घाइते भएका पूर्वसांसद नारायणबहादुर कार्कीले आइतबार कान्तिपुरसँग भने, ‘डाक्टर गोविन्द केसीले निको हुन अझै डेढदेखि दुई वर्ष लाग्छ भन्नुभएको छ ।’

काठमाडौं, कोटेश्वरस्थित डेरामा आराम गरिरहेका कांग्रेस नेता नरायणप्रसाद कार्की । तस्बिर : कुलचन्द्र

कार्कीलाई दाहिने खुट्टाको गह्रुँगो भारीले मात्रै सताएको छैन, आर्थिक बोझ र समस्याले पनि उत्तिकै पीडा दिएको छ । पछिल्लो संसदीय निर्वाचनमा उदयपुर २ का उम्मेदवार कार्की दनुवार बेंसीमा आयोजित चुनावीसभामा जाँदै गर्दा गाडीमा बम विस्फोट भएको थियो ।

बोलेरो गाडीको अघिल्लो सिटमा उनी र विद्यार्थी नेता मीरा कटुवाल थिए । दुवै जनालाई गम्भीर चोट लाग्यो । कटुवालको दाहिने खुट्टा गुम्यो । ड्राइभर राजन कार्की पनि घाइते भए । उनको दाहिने खुट्टामै चोट लागेको थियो । ‘मलाई त मरें नै जस्तो लागेको थियो,’ घटनाको त्रासदी सम्झँदै कार्कीले भने, ‘धन्न बाँचेँ तर अझै दुई वर्ष कसरी बिताउने, अत्यास लागेको छ ।’ शिक्षण अस्पताल महाराजगन्जमा पाँच महिनाभन्दा बढी बसेर केही दिनअघि मात्रै कोटश्वरस्थित डेरामा सरेका कार्कीले पार्टीलाई चिन्ने मौका पनि यतिबेला पाए । चालीस वर्षभन्दा बढी कांग्रेस राजनीतिमा क्रियाशील उनलाई दु:खमा काँध थामिदिने कोही नभएजस्तो भएको छ ।

‘भन्न त त्यसबेला प्रधानमन्त्री रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले तँ चिन्ता नगर्, म छु । सम्पूर्ण खर्च र अरू व्यवस्थासमेत गर्छु । ढुक्क भएर बस् भन्नुभएको थियो,’ शिक्षण अस्पतालको एनएक्स क्याबिनको ६ सय १ कोठामा आएर सभापतिले भन्दा खुट्टाको सबै पीडा भुलेको उनले बताए । ‘तर त्यस दिनदेखि सभापति भेट्न आउनुभएन । के कस्तो छ भनेर खोजखबर पनि गर्नुभएको छैन,’ उनले गुनासो गरे ।

उनको दाहिने खुट्टामा झन्डै ८ केजीको उपकरण (स्टिल एलिजारो) को भारी छ । त्यसलाई उताउति चलाउन उनी सक्दैनन् । बमको छर्राले छेडिएको पैताला सुनिएर पाक्न थालेको छ । गोलीगाँठोदेखि पिँडुलासम्म ३० ठाउँमा हड्डी छेडेर साना सुइरा रोपिएको छ । जसको पीडाले उनी राम्ररी निदाउन सक्दैनन् । तीन ठाउँमा भाँचिएको खुट्टालाई स्टिल एलिजारो उपचार पद्धतिबाट जोड्ने प्रयास भएको छ । सिंगो खुट्टालाई सद्दे बनाउन तीनवटा औंला काटिएका छन् । उमेर र सुगर रोगका कारण पूर्ण रूपमा ठीक हुन समय लाग्ने डाक्टर केसीले बताएका छन् । डा. केसीकै नेतृत्वमा उनको उपचार भइरहेको छ ।

कार्की बम विस्फोटमा परेपछिका झन्डै तीन महिनासम्म देउवा नै प्रधानमन्त्री थिए । तर, उनले महँगो उपकरण र औषधिमा पार्टी र सरकारबाट सहयोग पाउन सकेनन् । सरकारले नि:शुल्क उपचार गर्ने त भन्यो तर उपकरण र महँगो औषधि बाहिरबाट किन्नुपर्‍यो । एम्बुसमा परेको गाडीको समेत क्षतिपूर्ति नपाएको उनले बताए । ‘सरकारले तत्कालै क्षतिपूर्ति दिने निर्णय गरेको थियो तर अझै पाएको छैन,’ उनले भने । हालै भेट्न आएका नेता कृष्णप्रसाद सिटौलाले १५ दिनमा परिणाममा पुर्‍याउने आश्वासन दिएको उनले बताए । ‘उहाँको आश्वासनले केही ढाडस मिलेको छ,’ उनले भने ।

कांग्रेसले अहिलेसम्म यस्ता दु:खमा परेका कार्यकर्ताको उद्धार गर्न कुनै कोष खडा गरेको छैन । क्रियाशील सदस्यताबाट उठेको रकमसमेत निर्वाचनमा दुरुपयोग गरेको आरोप लागिरहेको छ । सरकारबाट पाँच लाख पाए पनि पार्टीबाट एक रुपैयाँ पाएका छैनन् । ‘पार्टीले सहयोग नगरे पनि साथीभाइ र नेताहरू आएर भेटिदिँदा सान्त्वना मिलेको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सीपले बढायो आत्मविश्वास

वैदशिक रोजगारीबाट फर्किएकाहरू शिक्षा मन्त्रालयको सहयोगमा सञ्चालित बिल्डिङ इलेक्ट्रोनिक्स तालिम लिँदै
शंकर आचार्य

पर्सा — वीरगन्ज महानगर–२३ प्रसौनीका २७ वर्षीय गलेन्द्रप्रसाद यादवले घरायसी कारणले ८ कक्षाभन्दा बढी पढ्न पाएनन् । शैक्षिक योग्यता नहुँदा प्रतिस्पर्धाको युगमा जागिर पाउन नसकिने कुरा उनले राम्रोसँग बुझेका छन् ।

वीरगन्जमा सञ्चालित बिल्डिङ इलेक्ट्रिसियन तालिममा सहभागी युवा । तस्बिर : शंकर

त्यसैले शैक्षिक योग्यताभन्दा बढी प्राथमिकता दिइने सीपमूलक रोजगारीतर्फ उनको आकर्षण बढ्यो । तर यसका लागि हातमा सीप थिएन । अहिले भने उनको योजना सफल हुन लागेको छ ।

शिक्षा मन्त्रालयद्वारा इभेन्ट परियोजनाको आर्थिक सहयोगमा साना व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रालिद्वारा सञ्चालित ३ सय ९० घण्टाको विल्डिङ इलेक्ट्रि्रसियनको तालिममा उनी रमाइरहेका छन् । ९० दिने तालिममा उनी एक दिन गयल नभई उत्साहका साथ सहभागी हुँदै छन् । ‘यस्तो रोजगारमूलक तालिम, त्यो पनि नि:शुल्क। अवसर गुमाउने कुरै भएन,’ उनले भने, ‘अलिअलि इलेक्ट्रिसियनको काम जानेको थिएँ, तर यहाँ सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान पनि विस्तृत रूपमा पाएपछि पर्याप्त जानकारी भयो, अब आत्मविश्वासका साथ यो क्षेत्रमा काम गर्ने छु ।’ वीरगन्ज रानिघाटका २५ वर्षीय युवा गोपालप्रसाद रौनियार पनि २० जना प्रशिक्षार्थीमध्येका एक हुन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उनले पनि १० कक्षाभन्दा माथि पढ्न सकेनन् । पढ्ने रहर भए पनि काम नगरी परिवार पाल्न नसक्ने स्थिति थियो । उनले पढ्ने रहरलाई दबाए । अनि अरुको पसलमा बस्ने र सिसिटिभी क्यामेरा जडान गर्ने काम गर्न थाले ।

तर हातमा सीप भए कामको खोजी गर्न नपर्ने बरु अवसर आफूलाई खोज्दै आउने बुझेपछि उनले पनि यो तालिम लिने मनशाय बनाए । विद्युतीय उपकरणसम्बन्धी काम गर्दा यससम्बन्धी बृहत् ज्ञान र सीप आवश्यक देखेर पनि उनले यो अवसरको सदुपयोग गरे । ‘सिसिटिभी क्यामेरा जडान गर्दा पनि विद्युत्सम्बन्धी ज्ञानको अभाव निक्कै महसुस हुन्थ्यो, त्यसमाथि दैनिकजसो घर, औद्योगिक प्रतिष्ठानहरू बन्ने क्रम जारी रहेकाले बिल्डिङ इलेक्ट्रिसियनको माग कहिल्यै नघट्ने देखेर यो तालिम लिदै छु,’ उनले भने, ‘यो सीप जानेपछि खाली हात कहिल्यै बस्नु पर्दैन ।’

प्रशिक्षार्थीमा मधेसी, दलित, गरिब, वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई प्राथमिकताका साथ सहभागी गराइएको साना व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक विजय श्रीवास्तव बताउँछन् । ‘हामीले तालिमको आवश्यकता बुझेर मिहिनेत र लगनसाथ तालिममा सहभागी हुने युवाहरूलाई विशेष प्राथमिता दिएका छौं,’ उनले भने, ‘प्रशिक्षार्थीहरूले पनि जोस र उत्साहका साथ तालिम लिँदै छन् ।’

प्रशिक्षक दयाराम चौरसिया तालिम नसक्दै प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर आएको बताउँछन् । ‘कतिपय आवश्यकता भएकाहरू तालिमस्थलमै आएर आआफ्नो घरमा इलेक्ट्रिसियनको रूपमा प्रशिक्षार्थीहरूलाई लग्दै छन्,’ उनले भने, ‘यसले प्रमाणित गर्छ हातमा सीप भएका मानिसलाई रोजगारीको अवसर आफैं आउँछ ।’

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×