कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘पानी–पानी’ भन्दै समुद्रमै बिलाइन् सुमित्रा

करिब ४० लाख खर्चेर अमेरिका जान मानव तस्करको पछि लागेका तीन नेपाली युवतीमध्ये एकको समुद्रमा जहाज हराएपछि पानी खान नपाएर मृत्यु, दुई बल्लतल्ल बाँचेर फर्किए
जनकराज सापकोटा

काठमाडौँ — विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन् । जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाद्यान्न छ, तर केही घण्टामा गन्तव्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउँछ । जहाज विशाल समुद्रमा कैयौं दिन हराइरहन्छ । 

‘पानी–पानी’ भन्दै समुद्रमै बिलाइन् सुमित्रा

खानेकुरा सकिएर यात्रु हैरान हुन्छन् । यत्तिकैमा खान नपाएर छटपटिइरहेकी एक युवतीको मृत्यु हुन्छ । जहाजका अन्य यात्रुले लास गन्हाउँछ भनेर ती युवतीको शव समुद्रमै फालिदिन्छन् ।


सोच्नुहोला, यो कुनै अंग्रेजी चलचित्रको कारुणिक दृश्य–कथा हो ।


यथार्थ त्यस्तो होइन । यो त्यही सत्य घटना हो, जसमा तीन नेपाली युवतीसमेत प्रत्यक्ष साक्षी थिए । केही महिनाअघि हैटीको राजधानी पोर्ट औं प्रिन्सबाट छुटेको पानीजहाज ‘क्यारेबियन सी’ मा १८ दिनसम्म हराएर टापु राष्ट्र बहामास पुगेको थियो । उक्त पानीजहाजभित्र पानी र खाना नपाएर भक्तपुरकी सुमित्रा कुँवरको मृत्यु भयो । उनीसँगै रहेका दुई युवती सकुशल फर्किएपछि घटना बाहिर आएको हो ।


अमेरिका लगिदिने सपना देखाएर मानव तस्करले भारतको दिल्ली हुँदै विभिन्न देश पुर्‍याइएका तीनमध्ये २ नेपाली युवती महिनौंसम्म चरम संकट, अभाव, निराशा र सास्ती खेपेर सकुशल फर्किएका हुन् । ९ महिनाभन्दा धेरै समय विभिन्न देशमा सास्ती खेप्दै बल्लतल्ल फर्केका ती युवतीले ६० लाख रुपैयाँभन्दा बढी गुमाएका छन् ।


कान्तिपुरले ती युवतीसँग फरक–फरक समयमा गरेको कुराकानीमा उनीहरूले आफ्नो परिचय सार्वजनिक गर्न हिच्किचाए । ऋण काढेर अमेरिका हिँडेका ती दुवैले आफू ठगिएको कथा सार्वजनिक भए पारिवारिक र सामाजिक सम्बन्धमा समस्या आउने भन्दै नाम नछापिदिन आग्रह गरे ।


आफूलाई अमेरिका लैजान फकाउने र लाखौं रकम बुझ्ने मानव तस्करबारे पनि उनीहरू खुल्न चाहँदैनन् । प्रहरीको सहयोग लिने पनि तत्काल योजना छैन । ‘फसेको पैसा सकेसम्म आफैं उठाउने प्रयासमा छौं,’ एक युवतीले भनिन्, ‘यो घटना घरपरिवारले थाहा नपाऊन् भनेर प्रहरी नगुहारेका हौं ।’


सुमित्राका श्रीमान् कैलाश कटुवालले कान्तिपुरसँगको कुराकानीका उनको मृत्युको १५ दिनपछि मात्र घटनाबारे परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट थाहा पाएको बताए । ‘कन्सुलरले मृत्युको जानकारी गराएपछि कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहसंस्कार गरें,’ उनले भने ।


अमेरिका लैजाने भनी भारत हुँदै वैध र अवैध तरिकाले विभिन्न देश पुर्‍याइएका तीन युवतीको कथाले नेपालीमा रहेको अमेरिकामोह मात्र होइन, मनग्गे कमाइ हुने आसमा अवैध बाटोबाट अमेरिका पस्न मानव तस्करको हात समात्ने नेपालीको प्रवृत्तिलाई पनि दर्शाउँछ ।


अवैध रुटबाट अमेरिका !

भारतको दिल्लीस्थित एक होटलमा बसिरहेकी सुमित्राको सम्पर्कमा सुदूरपश्चिमका दुई युवती पुगे । सुमित्राले आफूलाई अमेरिका पुग्ने बाटो थाहा भएको बताएपछि उनीहरू पनि जान तयार हुन्छन् । सुमित्राले हैटीमा रहेको हैटी फिल्म कम्पनी र नेपालको केपी फिल्मस्ले संयुक्त रूपमा ‘संस्कार’ नामक फिल्म बनाउन लागेको बताउँछिन् ।


उक्त फिल्म सुटिङका लागि हैटी पुग्ने र फिल्मका निर्देशककै योजनाअनुसार त्यहाँबाट अमेरिका छिर्ने योजना सुनाउँछिन् । २३ जनवरी २०१७ मा हैटी फिल्मस्ले सुमित्रालगायत तीनै जनाका निम्ति आमन्त्रणपत्र पठाएको देखिन्छ । कान्तिपुरलाई प्राप्त उक्त पत्रमा निर्देशक र प्रोडक्सन म्यानेजरको हैसियतमा चाल्र्स इलेस्टोले हस्ताक्षर गरेका छन् । पत्रमा ५ नेपाली कलाकारलाई छायांकनका निम्ति हैटी बोलाइएको उल्लेख छ । पत्रअनुसार सुमित्रा प्रोडक्सन असिस्टेन्ट म्यानेजर र कलाकारको हैसियतमा हैटी जान खोजेको देखिन्छ ।


यस्तै आशयको आमन्त्रणपत्र पाएपछि तीनै जना दिल्लीबाट मस्को, कोलम्बियाको राजधानी बोगटा हुँदै डोमिनिका पुग्छन् । त्यहाँ झन्डै १८ दिन बसेर यो टोली हैटीको पोर्ट औं प्रिन्स पुग्छ । चाल्र्स इलेस्टाले पोर्ट औं प्रिन्सको पोर्ट औं प्रे भन्ने स्थानमा एउटा फ्ल्याटमा तीनै जनालाई अमेरिका लगिदिने भन्दै महिनौंसम्म राख्छन् ।


फर्किएका दुई युवतीका अनुसार चाल्र्सले खोजिदिएको फ्ल्याटमा अमेरिका जाने आसमा अन्य ५ नेपालीसमेत थिए । जसमा एक जना आफूलाई मोडल बताउने प्रधान थरका युवा पनि थिए । युवतीले भनिन्, ‘हामी पुगेपछि त्यहाँ नेपाली ८ जना भयौं ।’


कान्तिपुरले गरेको खोजअनुसार रोल्पा घर भएका अनुराग मगर, बागलुङका जनार्दन कँडेल, दिनेश कटुवाल र काठमाडौंका सन्दीप थापा मानव तस्करको फन्दामा परेर पोर्ट औं प्रिन्स पुगेका थिए । तीमध्ये केही खर्च अभावमा गुजारा चलाउन पोर्ट औं प्रिन्समै लुकिछिपी काम गरिरहेका छन् भने केही घरबाट पैसा मगाएर फर्किसकेका छन् ।


‘आज जाने, भोलि त पक्का लैजाने, पर्सि त कन्फर्म’ भन्दै चाल्र्सले तीनै युवतीलाई एउटै फ्ल्याटमा महिनौं राखिरहे । तीन महिनापछि एक दिन चाल्र्सले सबैलाई बहामास लैजाने बतायो । ती युवतीले चाल्र्सको भनाइ उद्धृत गर्दै सुनाइन्, ‘७ घण्टामा बहामास पुगिन्छ । त्यहाँबाट अमेरिकाको मायामी सहर नजिकै पर्छ ।’


चार्ल्सको कुरा सुनेर महिनौंदेखि अमेरिका पुग्ने आसमा अत्तालिएका र हरेस खाइसकेका उनीहरूका अनुहारमा खुसीको आभा देखियो । ‘चाल्र्सको कुरा सुन्दा त पक्का अमेरिका पुगिने भइयो भनेर महिनौं लामो दु:ख सबै भुलियो,’ ती युवतीले सुनाइन् । तर त्यो खुसी धेरै दिन टिक्न सकेन ।


पोर्ट औं प्रिन्सबाट हिँडेको पानीजहाज केही घण्टापछि नै हराएको थाहा भयो । नेपाल र श्रीलंकासहित विभिन्न देशका १५ जना बोकेर हिँडेको उक्त पानीजहाज कुन दिशातिर र कुन देशतिर जाँदैछ कसैलाई थाहा थिएन । सानो जहाज, लगातार हावा चलिरहेकाले हल्लिरहेको थियो । ‘जहाजभित्र खानेकुरा दोस्रो दिनमै सकियो,’ ती युवतीले भनिन्, ‘त्यसपछि के हुन्छ भनेर सोच्नेसम्म पनि अवस्था रहेन । कतै केही देखिन्छ कि भनेर पर–परसम्म हेर्ने र टोलाउने कामबाहेक केही भएन ।’


फर्केर आएकी अर्की युवतीका अनुसार खानेकुरा र पानीसमेत सकिएपछि सबै छटपटाउनसमेत नसक्ने अवस्थामा पुगे । जहाज बारम्बार हल्लिरहेकाले बान्ता हुने र नातागत (शारीरिक कमजोरी) समस्या बढिरहेको थियो । युवतीका अनुसार १३ औं दिनतिर सुमित्रा पानी–पानी भन्दै कराउन थालिन् । तर जहाजमा पानी बाँकी थिएन ।


उनले सुमद्रको पानी बोतलमा उभाएर घटघटी पिइन् । नातागत भएर अलि–अलि ज्वरोसमेत आएकी सुमित्रा नुनिलो पानी खाएलगत्तै ढलिन् । त्यहाँ उनको उपचार सम्भव थिएन, त्यत्तिकैमा मृत्यु भयो ।


सुमित्राको मृत्यु भएलगत्तै जहाजमा भएका अन्य यात्रीले शव राख्न नहुने र धेरै दिनसम्म राख्दा गन्हाएर रोग फैलिने भन्दै समुद्रमा फालिदिए । १८ औं दिन कोस्ट गार्डले जहाज देखेपछि उनीहरूको उद्धार गर्‍यो र सबै यात्रीलाई अस्पताल पुर्‍यायो । सबैलाई स्लाइन पानी दिएर राखियो ।


यसरी फर्किए नेपाल:

पानीजहाज हराएर बहामास पुगेका दुई नेपालीबारे अमेरिकास्थित नेपाली दूतावासले थाहा पाएपछि उद्धारको पहल गरेको थियो । दूतावासले बहामासबाट क्युबा हुँदै नेपाल फर्किने व्यवस्था मिलाएको थियो । दूतावासका एक कर्मचारीले धेरै पैसा फसेकाले युवतीहरू फर्किन नमानेको र क्युबामै लुक्न खोजेको बताए ।


तर युवतीहरूले भने आफूहरूले अध्यागमनमा मेसो नपाएको र त्यही बेला जहाज छुटेको बताए । २१ दिन क्युबाको अध्यागमनको हिरासतमा बसेपछि र अमेरिकास्थित नेपाली दूतावासको थप पहलपछि ती युवती नेपाल फर्के ।

‘दुवै जनाको गरेर ६४ लाख रुपैयाँभन्दा धेरै खर्च भयो, ४० लाख त मानव तस्करहरूले खाइदिए,’ ती युवतीले लामो सास फालिन्, ‘धन्न बाँचेर आइयो ।’

प्रकाशित : जेष्ठ ५, २०७५ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?