कांग्रेसले लिएको अडान ठीक छ : देउवा

काठमाडौँ — कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रस्तावित संसद् नियमावलीबारे पार्टीले लिएको अडान सही रहेको भन्दै सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । 

कांग्रेसले लिएको अडान ठीक छ : देउवा

संसद् नियमावली र सरकारले जेठ ७ मा ल्याउन लागेको बजेटको नीति तथा कार्यक्रमको प्राथमिकतामाथि छलफल गर्न बुधबार डाकिएको संसदीय दल बैठकमा उनले यस्तो बताएका हुन् । ‘कांग्रेसले लिएको अडान ठीक छ । केही भए हाम्रो (शीर्ष) स्तरबाट पनि छलफल गर्छौं,’ बैठकमा देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरूले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुस् ।’


कांग्रेसकै अडानका कारण बुधबारको संसद् बैठकबाट नियमावली पारित हुन सकेन । सांसदलाई निलम्बनको प्रावधान राख्ने कि नराख्ने भन्नेमा सत्तारूढ दल र प्रतिपक्षबीचको रस्साकसीले नियमावली अडकिएको हो ।


कांग्रेस संसदीय दल बैठक बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदको भूमिका कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित भएको थियो । बजेटमाथि संसद्मा बोल्नुअघि सांसदहरूले त्यसबारे गहन अध्ययन गर्ने र आवश्यक परे विषयगत विज्ञसमेत बोलाएर छलफल गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको सांसद दिलेन्द्र बडुले बताए । सांसद निलम्बनसम्बन्धी व्यवस्था नियमावलीमा नराख्नेबारे एमालेसँग यसअघि नै सहमति भएको पनि उनले दाबी गरे । ‘यस विषयमा पहिल्यै सहमति भइसकेको हो तर एमालेले उल्टाउन खोज्यो,’ उनले भने, ‘नियमावलीले संसदको बैठक सञ्चालनसम्बन्धी व्यवस्था उल्लेख गर्ने हो तर संघीय कानुनमा गर्नुपर्ने व्यवस्था नियमावलीमा ल्याउन खोजिएको छ ।’


बैठकमा प्रस्तावित संसद् नियमावली र त्यसको प्रावधानका विषयमा बडु र अर्का सांसद मीनेन्द्र रिजालले जानकारी गराएका थिए । बडुले सरकारको नीति तथा कार्यक्रममाथि पार्टीका सांसदको विज्ञताका हिसाबले प्रभावकारी रूपमा बोल्नेबारे छलफल भएको बताए । मंगलबार भएको संसदीय दलका कार्यसमिति सदस्यहरूको निर्वाचनको नतिजा प्रमुख निर्वाचन अधिकृत चीनकाजी श्रेष्ठले बैठकमा जानकारी गराएका थिए ।


प्रकाशित : जेष्ठ २, २०७५ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?