कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कम्युनिस्ट पार्टी ४४१ सदस्यीय, चुनाव चिन्ह सूर्य नै

शेखर अधिकारी

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ ।

कम्युनिस्ट पार्टी ४४१ सदस्यीय, चुनाव चिन्ह सूर्य नै

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ । तीमध्ये एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० जना हुनेछन् ।


ओली र दाहालबीच एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति भएको छ । चुनाव चिन्ह भने एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुनेछ । आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन् ।


एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले दाहालसँग भएको सहमतिबारे ब्रिफिङ गरेका थिए । दुवै नेताबीच भएको सहमतिलाई बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पेस गर्ने र अन्तिम रुप दिइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।


पार्टी एकता संयोजन समितिको बैठकले गर्ने निर्णय दुवै पार्टीले अनुमोदन गर्नेछ । त्यसका लागि एमालेले बिहीबार नै केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।


एमाले उपाध्यक्ष बामदेव गौतमले भने एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारीको स्मृतिमा बिहीबार नै पार्टी एकता घोषणा हुने दाबी गरे । एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रकाशित : जेष्ठ २, २०७५ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?