कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सन्दीप आईसीसी विश्व ११ टोलीमा

विनोद पाण्डे

काठमाडौँ — नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।

सन्दीप आईसीसी विश्व ११ टोलीमा

त्यसैका लागि सन्दीप पनि विश्व ११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले बुधबार जनाएको हो ।


गत वर्ष आएको हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्काएका कारण त्यसको पुनर्निमाणका लागि विश्व ११ र वेस्ट इन्डिजका बीच च्यारिटी खेल आयोजना हुन लागेको हो ।


पहिलो पटक नेपाली खेलाडी विश्व ११ को टोलीमा परेका हुन् । सन्दीप अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको टोलीमा छन् । सन्दीपले सन् २०१६ को जुलाईमा नेपाली राष्ट्रिय टोलीबाट लर्डसमा खेल्दै मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध १ विकेट लिएका थिए ।


इंग्ल्यान्डका कप्तान इयन मोर्गनको कप्तानीमा रहने विश्व ११ मा सन्दीपसँगैं पाकिस्तानी अलराउन्डरद्वय शहिद अफ्रिदी र शोएव मलिक तथा श्रीलंकाका थिसारा पेरेरा रहने छन् । विश्व ११ का अन्य खेलाडीमा तामिम इकबाल, दिनेश कार्तिक, रशिद खान, मिचले म्याकलेनाघन, हार्दिक पाण्ड्या, लुक रोन्ची रहेका छन् । बंगलादेशका अलराउन्डर शकिबअल हसनले व्यक्तिगत कारण आफ्नो नाम फिर्ता लिएका थिए । विश्व ११ को प्रशिक्षक एवंम व्यवस्थापकमा एन्डी फ्लावर रहेका छन् ।


कार्लोस ब्राथवेटको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा क्रिस गेयल, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, केसरिक विलियम्स लगायत खेलाडी छन् ।


नेपालले यस वर्षको जुलाई लर्डसमा गएर एमसीसी र नेदरल्यान्ड्सविरुद्ध ट्वान्टी–२० त्रिकोणात्मक शृंखला खेल्दै छ । सन्दीपले यसै साता इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सबाट रोयल्स च्यालेन्जर बेङ्लोरविरुद्व डेब्यु गरेका थिए ।

प्रकाशित : जेष्ठ २, २०७५ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?