कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सेनाले बनाइदियो अस्पताल

हरि गौतम

रुकुम (पश्चिम) — त्रिवेणी गाउँपालिका ३, तथा साविकको खारा गाविस १, का वीरभान ओलीले नेपाली सेनालाई सबै गाउँलेका तर्फबाट धन्यवाद ज्ञापन गरे । ‘१२ वर्षपछि खोलो फर्किन्छ रे, यहाँ १४ वर्ष लाग्यो,’ उनले भने, ‘गाउँमा नभई नहुने अस्पताल निर्माण गर्ने सेना धन्यवादको पात्र बनेको छ, गाउँलेको आधारभूत आवश्यकता परिपूर्ति हुने गरी अस्पताल बनाइदिएर खाराका बासिन्दालाई सेनाले ठूलो गुण लगायो ।’

सेनाले बनाइदियो अस्पताल

उनै ओली २०६१ को चैतमा तत्कालीन नेकपा माओवादीको जिल्ला सदस्य तथा जिल्ला जनसरकार सदस्य थिए । तत्कालीन माओवादीका लडाकुहरूले दोस्रो पटक खारा ब्यारेक आक्रमण गर्दा उनी व्यवस्थापकको भूमिकामा थिए । १४ वर्षअघि ब्यारेक र ब्यारेकभित्र बस्नेलाई कब्जा गराउने वातावरण तयार पार्न खटिएका ओलीले मंगलबार भने ब्यारेक र ब्यारेकभित्र बस्ने सेनालाई धन्यवाद ज्ञापन गरे । सेनालाई धन्यवाद दिने उनी खाराका एक्ला भने होइनन् ।


स्थानीय चन्द्रसूर्य आधारभूत विद्यालयका बालबालिकाले ‘बेलैमा पाउनेछौं उपचार, भुल्नै छैनौं सेनाको उपकार, नेताहरू यो कुरा जान, गर्नैपर्छ सेनाको सम्मान,’ गीत मार्फत सेनालाई धन्यवाद दिए । ‘एक–अर्कालाई सम्मान पनि गरे । साँच्चै समय फेरिए छ,’ स्थानीय धनसरा खडकाले भनिन्, ‘यो दिन आउँछ जस्तो लागेकै थिएन ।’ उतिबेलाको घटना सम्झँदा यस्तो होलाजस्नो नलागेको उनले सुनाइन् ।

‘एक–अर्कालाई देखी नसहनेहरू आज एकै ठाउँमा छन्, मिलेर काम गरिरहेका छन् । पक्कै बेला फेरिए छ, पक्कै समय फेरिएछ,’ उनले खुसी हुँदै भनिन् । सेनाको देवी दल गणले खारानेटामा अस्पताल बनाएर स्थानीयलाई हस्तान्तरण गरेको छ । मंगलबार सोही ब्यारेकको नजिकैको खारानेटामा कार्यक्रम भएको थियो । उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी कर्मेन्द्रविक्रम लिम्बूले अस्पतालकै निसानी गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरी अस्पताल हस्तान्तरण गरे । खारानेटामा अस्पताल बनाइदिएर स–सानो उपचार गर्न पनि टाढा जानुपर्ने यहाँका बासिन्दाको बाध्यतालाई सेनाले हटाइदिएको छ । सेनाबाट उपहारस्वरूप ५ शय्याको अस्पताल पाएपछि स्थानीय बासिन्दा पनि खुसी भएका छन् ।

सर्वसाधारणका तर्फबाट सेनालाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती ।तस्बिर : हरि गौतम

‘यो हाम्रा लागि ठूलो उपहार हो,’ ओलीले भने, ‘हामी औषधोपचारका लागि टाढा पुग्नुपर्ने बाध्यता अब हटेको छ । हामीले विश्वास नगरेको सेनाबाटै सुरक्षा र सहयोग पायौं ।’ नगद ११ लाख तथा श्रम गरी झन्डै २० लाख रुपैयाँमा सेनाले ४ कोठाको अस्पताल भवन, शौचालय, स्नान कक्ष बनाइदिएको छ । ‘हामीले ९ लाख आसपासको श्रमदान गरेका छौंं, देवी दल गणका गणपति प्रमुख सेनानी पंकज रावलले कान्तिपुरसित भने, ‘स्थानीयलाई सहज होस् भनेर अस्पताल बनाएका हौं ।’ जनता र सेनाबीचको सम्बन्ध थप मजबुत बनाउन अस्पताल बनाइएको रावलको भनाइ छ । सेनाले अस्पताल बनाउने भनेपछि स्थानीय धनसरा खडका र रामसिंह सुनारले झन्डै ३ रोपनी नि:शुल्क दान गरेका थिए ।


त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले अब अस्पतालका लागि आवश्यक सामग्री खरिद गरी चाँडै सोही भवनबाट सेवा सुचारु गर्ने बताए । गाउँपालिकामा बन्नुपर्ने १५ शय्याको अस्पताल यसैबाट सुरु गर्ने उनको भनाइ छ । ‘हामीले अस्पतालका लागि आवश्यक सामग्री खरिद गरिसकेका छौं, अब यसैबाट सेवा सुचारु हुन्छ, थप भौतिक संरचना निर्माण गरी गाउँपालिकाको ठूलो अस्पताल यसैलाई बनाइनेछ,’ अध्यक्ष घर्तीले भने ।

भवन निर्माण अलपत्र
प्यूठान (कास)– जिल्ला अस्पताल बिजुवारलाई स्तरवृद्धि गरेर ५० शय्याको बनाउने नारामा प्यूठानी नेताले धेरै वर्ष राजनीति गरे । २०७३ माघ २० गते मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरवृद्धि गर्ने निर्णय गरेकामा त्यो आफ्नै पार्टीको पहलमा सम्भव भएको भन्दै उम्मेदवारले भोट मागे । तर, अहिलेसम्म न अस्पतालमा स्तरवृद्धिअनुसारका कार्यक्रम आए न त नयाँ भवन निर्माणको काम अघि बढ्यो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी पठाउने तयारी गरेको भनिए पनि अझै दरबन्दीअनुसार स्वास्थ्यकर्मी आइपुगेका छैनन् ।


अस्पताल पूर्वाधार व्यवस्थापनका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पा मार्फत निकाल्ने भनिएको टेन्डर अन्तिम अवस्थामा रोकिएको छ । टेन्डर रोकिएपछि भवन निर्माण अलपत्र परेको हो । जिल्लाका नेताले पनि अन्योल हटाउन पहल नगरेको उनीहरूको गुनासो छ ।


२०४४ सालमा बनाइएको जीर्ण भवनमा बिरामीको उपचार गराउनुपर्ने बाध्यता छ । भवन जीर्ण भएकाले स्वास्थ्यसेवा प्रभावकारी बनाउन नसकिएको अस्पताल विकास समितिका सदस्य तथा प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए । यसका लागि केन्द्रमा बस्ने नेतादेखि स्वाथ्य मन्त्रालयको योजना शाखासम्मलाई जानकारी गराइसकिएको उनको भनाइ छ ।

‘नगरपालिकाको तर्फबाट गर्न सक्ने काम गरेका छौं,’ उनले भने, ‘अस्पताल सुधारका लागि यस वर्ष २७ लाख दिएका छौं । ८ लाखको जेनेरेटर खरिद गरिदिएको छ ।’ बाँकी रकमले विद्युत् ट्रान्समिटर जडान गर्ने कुरा भएको उनले बताए । अस्पताल विकास समितिका अध्यक्ष मेघराज पुरीले भवन निर्माण रोकिएको बताए । ‘भवन नहुँदा अस्पताल सञ्चालनमा धेरै समस्या छ,’ उनले भने, ‘अहिले भवन निर्माण प्रक्रिया नै रोकिएको सुनेको छु । यसले चिन्ता बढाएको छ ।’ बिरामीलाई खुला भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।


भौतिक पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको स्वीकृति नदिएकाले प्रक्रिया अघि बढ्न नसकेको भवन डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीले जानकारी दिए । ‘अर्थ मन्त्रालयबाट नयाँ कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालय निर्देशन आएकाले टेन्डर निकाल्न सकेका छैनौं,’ उनले भने, ‘स्वाथ्य मन्त्रालयअन्तर्गत भवनका सबै नयाँ कार्यक्रम रोकिएका छन ।’ डिभिजन मार्फत निर्माण थालिएका प्यूठानका तुरासा, चुजा, कोचिबाङ स्वाथ्य चौकी, भिंगृ प्राथमिक अस्पताल भवन र ओखरकोट प्राथमिक अस्पताल भवनको काम समेत रोकिएको कार्यालयले जनाएको छ । यस्तै रुकुम जिल्ला अस्पातल, रोल्पाको केवरी (इरिबाङ) प्राथमिक अस्पताल, उवा स्वाथ्य चौकीको भवन निर्माणसमेत अन्योलमा परेको छ । यस वर्ष अर्थ मन्त्रालयले बजेट घटाएर पठाएकाले निर्माणका लागि अपुग भएको स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले देशभरका १ सय ५८ स्वास्थ्य संस्थाका भवन निर्माणमा बजेट नरहेको जानकारी दिए ।

प्रकाशित : जेष्ठ २, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?