माेदीले गरे सामूहिक र एक्लाएक्लै भेटवार्ता

सीमा समस्या तत्काल बुझेर काम अघि बढाउँछु : मोदी
चन्द्रशेखर अधिकारी, कुलचन्द न्यौपाने

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको दोस्रो दिन शनिबार एक्लाएक्लै र सामूहिक रूपमा प्रमुख दलका नेताहरूसँग भेटवार्ता गरेका छन् । उनले सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एक्लाएक्लै भेटे भने प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा अध्यक्षमण्डलका नेताहरूसँग सामूहिक भेटवार्ता गरे ।

भारतीय प्रधानमन्त्री मोदी शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ।

माओवादी अध्यक्ष दाहालले मोदीलाई सीमा समस्या र त्यहाँ हुने डुबान समस्या समाधान गर्न आग्रह गरे । जवाफमा मोदीले तत्काल बुझेर काम अघि बढाउने आश्वासन दिएका थिए । भारततर्फ निर्माण भएको संरचनाले डुबान समस्या हुने गरेको र सुरक्षाकर्मीबाट पनि बेलाबेला समस्याको मारमा नेपाली पर्ने गरेका छन् । संविधान कार्यान्वयनसँगै नेपाल आर्थिक समृद्धिको दिशामा अगाडि बढेकाले भारतबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा गरेको उनले मोदीसमक्ष राखे । ‘सीमा समस्या, डुबान, विराटनगरमा रहेको अस्थायी कार्यालय हटाउनेलगायत आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल भयो,’ भेटपछि दाहालले भने । माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठले विराटनगर कार्यालय र डुबान समस्याबारे पटक–पटक भारतको ध्यानाकर्षण गराउँदै आएका थिए ।

निर्वाचन सम्पन्न गर्न खेलेको भूमिकाप्रति मोदीले दाहालको प्रशंसा गरेका थिए । संविधान कार्यान्वयनको मुख्य पाटो मानिएको निर्वाचनको सफलताले नेपाल अब समृद्धिमा जानेमा दुई मत नभएको धारणा मोदीको थियो । मोदीले दाहालसँग एक्लै भेटेका थिए ।

मधेसी दलहरू एक रहनुस् : मोदी
मोदीले राजपा अध्यक्षमण्डलका नेताहरूसँग पनि सामूहिक भेटवार्ता गरे । नेताहरूले संविधान संशोधनको आसमा रहेर आफूहरूले वर्तमान सरकारलाई समर्थन गरेको जानकारी मोदीलाई दिएका थिए । संविधान संशोधनलगायत मुद्दामा ओली सरकार सकारात्मक रहेको विश्वास उनीहरूले व्यक्त गरेका थिए । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई मोदीले सबै मधेसी दल मिलेर अघि बढ्न भारतीय प्रधानमन्त्री मोदीले सुझाएको सहभागी एक नेताले बताए । नेपाल लोकतान्त्रिक प्रक्रियामा अघि बढेकाले लोकतन्त्रको मूल्य मान्यतामा रहेर समस्याको समाधान गर्न सुझाव दिँदै मोदीले भनेका थिए, ‘लोकतन्त्रमा आफ्नै प्रकारको विधि र प्रक्रिया हुन्छ । यसमा तलमाथि गर्न मिल्दैन ।’ नेताहरूले जनकपुर भएर नेपालको भ्रमण गरिदिएकामा मोदीलाई आभार व्यक्त गरेको सहभागीले बताए ।

मोदीलाई भेट्न ठाकुरसहित शरतसिंह भण्डारी, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव र महेन्द्र राय यादव होटल पुगेका थिए ।

पारस्परिक हितमा छलफल : उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री मोदीसँग भेट गर्दै नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका थिए । दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको यादवले बताए । ‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भयो,’ उनले भने । ‘पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग मेरो कुराकानी भयो,’ अध्यक्ष यादवले भने । मोदीलाई एक्लै भेटेका अध्यक्ष यादवले नेपालको समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहने स्पष्ट पारेका थिए ।

पशुपतिमा पूजाअर्चनापछि दूतावासको स्वागत
भारतका प्रधानमन्त्री मोदीको सम्मानमा भारतीय राजदूत मञ्जिभसिंह पुरीले स्वागत कार्यक्रम आयोजना गरेका थिए । होटल हयातमा आयोजना गरिएको उक्त कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्री, व्यापारी, उद्यमी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका उच्च अधिकारी र कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो ।

मुक्तिनाथबाट फर्केपछि पशुपतिनाथमा पूजाअर्चना गरेपछि उनी राजनीतिक भेटघाटमा सक्रिय भएका थिए । उनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनपछि आगन्तुक पुस्तिकामा नेपाल र भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरे । उनले आफ्नो पहिलो भ्रमण २०७१ साउनमा पनि पशुपतिमा पूजाअर्चना गरेका थिए । मोदीले भ्रमणको पहिलो दिन पूर्वप्रधानमन्त्रीहरूसँग पनि सामूहिक भेटवार्ता गरेका थिए ।

हारबाट नआत्तिन देउवालाई ढाडस
स्थानीय, प्रदेश र संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा कांग्रेस सभापति शेरबहादुर देउवालाई धन्यवाद दिँदै मोदीले निर्वाचनको हारबाट नआत्तिन सुझाव दिए । ‘निर्वाचनमा हारजित भइरहन्छ, यसबाट आत्तिन हुन्न,’ कांग्रेस नेताहरूसँगको सामूहिक भेटमा मोदीले भने, ‘तपार्इंहरूसँग भारत सरकार र भारतीय जनता पार्टी (बीजेपी) को सम्बन्ध पूर्ववत् नै छ ।’ मोदीसँगको भेटमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विजयकुमार गच्छदार, अर्जुननरसिंह केसीलगायत थिए ।

मोदीले नेपालको विकासमा धार्मिक पर्यटन प्रमुख आधार रहेको बताउँदै यस्ता भ्रमणले भारतीय पर्यटक आकर्षित गर्ने बताए । उनले फ्रान्सका राष्ट्रपतिले आफ्नो भारत भ्रमण गर्दाको उदाहरणसमेत त्यस अवसरमा दिएका थिए । ‘फ्रान्सका राष्ट्रपति भारत आउँदा मैले एउटा गार्डेनमा बैठक राख्ने निधो गरें । मिडियाबाट त्यसको खुबै प्रचार भयो र पछि विदेशी र भारतीय नै त्यस स्थानमा घुम्न जानेको संख्या बढ्यो,’ मोदीलाई उद्धृत गर्दै निधिले भने, ‘यो भ्रमणले जनकपुर, पशुपति र मुक्तिनाथको धार्मिक पर्यटनको क्षेत्रमा राम्रो सहयोग गर्छ ।’

भेटमा राजनीतिक कुरा खासै नभएको निधिले बताए । मोदीले लोकतन्त्र रक्षाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै लोकतन्त्रको रक्षामा लाग्न आग्रहसमेत गरे । ‘लोकतन्त्र राम्रो व्यवस्था हो । यो तपाईंहरूको अमानत हो । यसलाई सुरक्षित राख्नुहोस्, यसैमा फाइदा छ,’ मोदीलाई उद्धृत गर्दै निधिले भने ।

प्रकाशित : वैशाख ३०, २०७५ ०७:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भीरबाट लडेर शिक्षकको मृत्यु

रासस

त्रिपुराकोट, डोल्पा — यहाँको एक विद्यालयको शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ घर भएका ३६ वर्षीय शिक्षक राजु रोकायाको शुक्रबार राति ९ बजे त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत ल्हाँ र खदाङबीचमा पर्ने घोडेडाँडा भन्ने भीरबाट लडेर मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । 

प्रतिकात्मक तस्बिर

रोकाया त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित मष्टा आधारभूत विद्यालयमा प्रावि तहका शिक्षक हुन् । त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयबाट फर्केर घरतर्फ जाँदै गर्दा घोडेडाँडा भिरबाट लडेर मृत्यु भएको बताइएको छ । शनिबार बिहान मृतक रोकायाको प्रहरी मुचुल्कापछि परिवारले शव बुझेर लगेको बताइएको छ ।

प्रकाशित : वैशाख २९, २०७५ २१:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×