कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा

पक्राउ गरेको आरोप एउटा मुद्दा अर्कै
देवनारायण साह

मोरङ — आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवासलाई प्रहरीले मुद्दा चलाएको छ । 

आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा

धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका आचार्यलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले १० दिनको म्याद दिएको छ ।

आचार्यलाई जिल्ला प्रहरी मोरङको हिरासतमा राखेर हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए । तर, आचार्यमाथि गोली प्रहार भएको पेस्तोल प्रहरीले बरामद गर्न गर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले हेर्ने उक्त मुद्दामा आरोप प्रमाणित भए १ वर्ष कैद वा १ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका आचार्यलाई विशेष प्रहरी अनुसन्धान टोलीले सोमबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरेर विराटनगर ल्याएका थिए ।


अधिवक्ता योगेन्द्र चौहानले आचार्यलाई लगाएको मुद्दामा हतियारसमेत प्रहरीले बरामद गर्न नसकेको अवस्थामा थुनछेक बहसमा छुट्नसक्ने संभावना बढी भएको बताए । ‘आचार्यले धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउने ष्डयन्त्र गरेको छ,’ उनले भने, ‘विराटनगरवासी आचार्यको लहेलहैमा लागेको भए काटाकाट र मारामारको स्थिति सिर्जना हुने थियो । यहाँका बासिन्दा सचेत भएकोले मुलुकमा धार्मिक तथा साम्प्रदायिक हिंसा फैलिनबाट जोगिएको हो ।’


भारतमा धर्मगुरु आशाराम र बाबा रामरहिमलाई सानो घटनाबाट छानबिन गर्दै अनेक सत्यतथ्य बाहिर ल्याएर आजीवन काराबासको सजाय भएको छ तर यहाँ सामान्य हातहतियारको मुद्दा लगाएर प्रहरीले झारो टार्ने काम मात्रै गरेको उनको भनाइ छ । गोली प्रहारको घटनामा आचार्य घाइते भएपछि सरकारले उपचार खर्च ब्यहोर्ने भनेको थियो ।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेको आचार्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन संघीय सरकारको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित आएका थिए ।


प्रदेश १ का मुख्यमन्त्रीलगायतका मन्त्रीले आचार्यको स्वास्थ्य अवस्था नियमित जानकारी लिएका थिए र उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सरकारले उपचार खर्च ब्यहोर्ने भनेको थियो तर दिई नसकेको अवस्थामा घटनाले अर्कै मोड लिएको बताए । अब संघीय र केन्द्र सरकारले के निर्णय गर्छ त्यहीअनुसार हुने उनले बताए ।


गोली प्रहारको घटनापछि प्रदेश १ को संसदमा प्रतिपक्षी दलले सरकारको कडा आलोचना गर्दै आचार्य श्रीनिवासको सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका थिए । उनको सुरक्षालाई लिएर प्रदेश र संघीय दुबै सरकारले सतर्कता अपनाएका थिए ।


हिन्दु राज्यको मागसहितको आन्दोलन सार्थक नभएपछि हिन्दुधर्माबलम्बी र धर्मगुरुहरुलाई निर्णायक आन्दोलन गर्न उक्साउन आचार्यले आफैले स्वयंमाथि गोली प्रहार गर्न लगाएको प्रहरी उपरीक्षक बिसीले बताएका थिए ।

आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय माधव चौधरी, गोली र पेस्तोल व्यवस्था गर्ने नवलपरासीको गैंडाकोट नगरपालिका-५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेर छानबिन गरिरहेको छ ।


बाराको सिमरा-३ घर भई सुनसरीको चकरघट्टी लक्ष्मी बैंङकटेशको आश्रममा बस्ने आचार्य विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए । गत चैत २५ गते आचार्यमाथि गोली प्रहार भएको थियो । गोली लागी घाइते भएका उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए ।

प्रकाशित : वैशाख २५, २०७५ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?