कांग्रेस बैठक : पौडेल र सिटौला पक्षसँग सहमति खोज्न बैठक स्थगित

आज स्थगित बैठक २१ गते बस्ने
कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारीको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । 

कांग्रेस बैठक : पौडेल र सिटौला पक्षसँग सहमति खोज्न बैठक स्थगित

बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने भएपछि महामन्त्री डा. शशांक कोइरालाको अनुरोधमा बैठक स्थगित गरी २१ गते गर्ने निर्णय गरिएको केन्द्रिय सदस्य प्रदीप पौडेल बताएका छन् ।


कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि सोमबार बिहान साढे ८ बजे बैठक बोलाएका थिए।

महामन्त्री कोइरालाले पार्टी सभापति देउवालाई भेटेरै बैठकको मिति पछि सारेर सहमति खोज्न आग्रह गर्दै अहिले नै गरे नराम्रो सन्देश जाने विचार राखेको नेता प्रदीप पौडेलले बताए । जवाफमा देउवाले २२ गतेसम्म पनि सहमति हुन नसके आफूलाई सघाउन कोइलालालाई पनि आग्रह गरेको पौडेलले बताए ।


सभापति देउवाले विधानको प्रावधान संशोधन नगरी विधान र सहमति विपरित पदाधिकारी मनोनयन गर्न लागेको भन्दै बैठक बहिष्कार गर्न लागेको नेता पौडेलले बताएका थिए । ‘विधान र सहमति विपरित भएकाले बैठक बहिष्कार गर्ने निर्णय गरेका हौं,’ पौडेलले भने।


दुवै नेताले प्रकाशमान सिंह लगायतका केही केन्द्रीय सदस्यलाई बैठकमा पठाएर आफ्ना कुरा राख्न लगायने तयारी गरेका थिए।


कांग्रेस विधान अनुसार २ महिना भित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन २ बर्ष सम्म हुन सकेको छैन। अघिल्ला कार्यकालमा पनि यही परम्परा भएको सभापति देउवाको दाबी छ।

प्रकाशित : वैशाख १७, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?