कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साउदीमा उमेश यादवलाई मृत्युदण्डको फैसला

पुनरावेदनका लागि निवेदन दिँदै छौं – नेपाली दूतावास
हाेम कार्की

काठमाडौँ — साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ । उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन् ।

साउदीमा उमेश यादवलाई मृत्युदण्डको फैसला

जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतले वैशाख २ गते (अप्रिल १५) मृत्युदण्डको फैसला सुनाएको हो । यसअघि जनरल कोर्टले १५ मार्च २०१७ मा यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गएको हो ।

रियादस्थित नेपाली दूतावासले उमेशको जीवनरक्षाका लागि अदालतसमक्ष पुन: पुनरावेदन गर्ने तयारी गरेको छ । ‘अदालतले आफ्नो फैसला चित्त नबुझेमा पुनरावेदन गर्न ४८ दिनको समयसीमा तोकेको छ,’ उपनियोग प्रमुख आनन्दराज शर्माले भने, ‘हामी भोलि नै निवेदन दर्ता गर्दै छौं । त्यसको तयारीका लागि दूतावासका प्रतिनिधि जुवेल पुगिसकेका छन् ।’ जुवेल पुगेका दूतावासका प्रथम सचिव विजयकान्त राउतको टोलीले बुधबार उमेश यादव र फैसला गर्ने न्यायाधीशलाई भेटेको छ । ‘फैसला आएदेखि नै उमेश निराश छन् । चिन्ताले खाना पनि खाएका छैनन् । बचाइदिन आग्रह गर्दै धेरैबेर रोए,’ राउतले कान्तिपुरसँग भने, ‘दूतावासले जीवनरक्षाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलायौं ।’

३ जुलाई २००७ मा उमेशले पाकिस्तानी सहकर्मी बसिरको हत्या गरेका थिए । बिन लादेन कम्पनीमा कार्यरत दुवैजना ह्युम पाइप निर्माणको काम गर्थे । हत्याबारे फैसलामा लेखिएको विवरण र उमेशको भनाइ फरक–फरक छ । फैसलामा आर्थिक लेनदेनको विषयमा सुतिरहेका बेला रडले हानेर बसिरको हत्या गरेको उल्लेख छ । उमेशले भने कार्यस्थलमा झगडा हुँदा मृत्यु भएको बताउँदै आएका छन् । त्यसलगत्तै भागेका यादव नेपाल पैसा पठाउने बेला बैंकबाट पक्राउ परेका थिए । फैसला गर्ने पुनरावेदन अदालतका न्यायाधीशले नियतवश हत्या गरेको भन्दै माफी दिन नसकिएको बताएका छन् । ‘आर्थिक लेनदेनमा कुरा नमिल्दा हत्या गरेको देखियो । उनीसँग भएको १२ हजार रियाद पनि लिएर गएको देखिन्छ । जुन जानीबुझी र नियतवश थियो । यो सरिया कानुनअनुसार ठूलो अपराध हो,’ न्यायाधीशको भनाइ उद्धृत गर्दै राउतले भने, ‘अदालतले रियादस्थित पाकिस्तानी दूतावासमा ब्लडमनी दाबी गर्न भनेको थियो । कोही नआएपछि फैसला गर्न बाध्य भयौं ।’

उता बसिरको परिवार भने यादवलाई माफी दिन तयार देखिएका छन् । पाकिस्तानको फैसलावादस्थित बसिरको घरमा बुधबार उमेशका तर्फबाट क्षमा माग्न पुगेका सरोज रायले ब्लडमनी दिन तयार रहेको बताएपछि उनीहरू माफी दिन तयार भएका हुन् ।

प्रकाशित : वैशाख १३, २०७५ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?