कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्त्री पण्डित छड्केमा मालपोत पुग्दा...

शेखर अधिकारी

काठमाडौँ — सर्वाधिक गुनासो र ‘आर्थिक चलखेल’ हुने भनिएको मालपोत कार्यालय, डिल्लीबजारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले छड्के अनुगमन सुरु गरेका छन् ।

मन्त्री पण्डित छड्केमा मालपोत पुग्दा...

आइतबार कार्यालय समय सुरु हुनेवित्तिकै मन्त्री पण्डित मालपोत कार्यालय पुगे । मन्त्री कार्यालय पुग्दा मालपोतका कामु प्रमुख केशवप्रसाद न्यौपाने कार्यालय परिसरमै उभिएका थिए । हुलमुलमा न्यौपानेलाई मन्त्रीले कार्यालय प्रमुख भन्ने थाहा पाएनन् ।


सिधै कार्यालय प्रमुखको कार्यकक्षमा पुगेका मन्त्रीले सोधे– ‘कार्यालय प्रमुख खै ?’ भीडबाट न्यौपाने निस्किए– ‘म यहीं छु हजुर ।’ मन्त्री पण्डितले न्यौपानेलाई नजिकै बोलाए, र कार्यालयका सेवा प्रवाहबारे जानकारी लिए ।


लालबाबुले सोधे– सेवाग्राही किन घटे ?


‘बैंकको कडाइ, सहरी क्षेत्रमा जग्गा किनबेच न्यून भएको, घरजग्गामा कसिलो मापदण्डले घट्यो,’ कार्यालय प्रमुखले बताए ।



मन्त्रीले नापी र मालपोतका कर्मचारीबीच भएको कुटाकुटलगायतका विषयमा जिज्ञासा राखे ।


कार्यालय प्रमुखसँग १० मिनेट कुरा गरेपछि मन्त्री पण्डित प्रशासन शाखामा पुगेर हाजिरी पल्टाउन थाले । मालपोतका ३० मध्ये ९ जना कर्मचारी अनुपस्थित थिए । अनुपस्थित कर्मचारीको हाजिरीमा रेजा नलगाएकोमा मन्त्रीले असन्तुष्टि पोखे ।


एकजना कर्मचारी २ महिनासम्म कार्यालय नआएको देखियो । ‘उनी करारका हुन्,’ कार्यालय प्रमुखले बचाउ गर्दै भने, ‘अब एक महिनासम्म आएनन् भने करार सकिन्छ ।’ ससुराको मृत्यु भएर हप्तौं कार्यालय नआएका कर्मचारीको हाजिरीमा रेजा नलगाएकोमा मन्त्रीले कार्यालय प्रमुखसँग असन्तुष्टि पोखे । ‘ससुराको मृत्यु हुँदा बिदा बस्न पाइन्छ कि पाइँदैन ?,’ मन्त्री पण्डितले सोधेका थिए ।




कार्यालय प्रमुख न्यौपानेले अप्ठ्यारो मान्दै भने, ‘त्यो त पाइँदैन हजुर ।’


मन्त्रीले प्रश्न गरे– ‘एकै दिन आएर सबै हाजिरी गरे भने के हुन्छ ?’


कार्यालय प्रमुख अकमकिए । केही बोलेनन् ।


मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले अनुपस्थित कर्मचारीको सूची लिए । हाजिर नगर्ने कर्मचारीको हाजिरी खातामा रेजा लगाइदिए ।




त्यसपछि कार्यालय हातामा पुगेर मन्त्रीले सेवाग्राहीको गुनासो सुने । ११ बज्न लाग्दा पनि कर्मचारी नआएर पर्खनुपरेको गुनासो थियो ।


मालपोत परिसरमा बस्ने लेखापढी व्यवसायीले भने अनलाइन सर्भरमा समस्या हुँदा काम ढिला भएको भन्दै उल्टै सरकारविरुद्ध आक्रोस पोखे ।


मन्त्री पण्डितले सेवाग्राहीपछि विभिन्न फाँट पुगे । र, सूचना संकलन गरे ।




छड्के अनुगमन सकेर निस्किन लागेका मन्त्री पण्डितले सञ्चारकर्मीसित आफू मालपोतको सेवा प्रवाहबाट सन्तुष्ट नभएको प्रतिक्रिया दिए । ‘धेरै सुधार आवश्यक देखियो,’ उनले भने, ‘सेवाग्राहीलाई ठग्न र बेवास्ता हुन दिइँदैन ।’


मन्त्री पण्डितले मन्त्रालयका प्रवक्ता तामाङलाई मालपोत कार्यालय प्रमुखलाई आवश्यक कारबाहीका लागि पत्राचार गर्न निर्देशन दिए ।

तस्बिरहरु: शालिग्राम तिवारी

प्रकाशित : वैशाख ९, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?