काँकडभिट्टा–ढाका बस सेवा

बंगलादेशको राजधानी ढाकाबाट वैशाख १० गते काँकडभिट्टाका लागि बस छु्ट्ने
पर्वत पाेर्तेल

काँकडभिट्टा — सम्झौता भएको करिब ३ वर्षपछि बंगलादेश, भारत र नेपालबीच सोझो बस सेवा सञ्चालन हुने भएको छ ।

नेपालसहितका चार देश बंगलादेश, भुटान र भारतबीच सोझो बस सेवा सञ्चालनका लागि सन् २०१५ जुनमा ‘बीबीआईएन मोटर भेइकल’ सम्झौता भएको थियो । तर, भुटानले भने यो सम्झौतामा हस्ताक्षर गरेको छैन ।

सोही सम्झौताअनुसार परीक्षणका रूपमा बस सेवा सञ्चालन गर्न लागिएको हो । मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले सम्झौताअनुरूप पहिलोपटक वैशाख १० देखि १३ गतेसम्म बंगलादेश, भारत र नेपालबीच बस सेवा सञ्चालन गर्न लागिएको बताए ।

बंगलादेशको राजधानी ढाकाबाट वैशाख १० गते काँकडभिट्टाका लागि बस छु्ट्नेछ । बस सेवा शुभारम्भका लागि भन्सार प्रमुख अर्यालसहितको एउटा प्रतिनिधिमण्डल ९ गते ढाका पुग्नेछ । ढाकाबाट छुटेको बस भारतको फूलबारी, पानीट्यांकी हुँदै काँकडभिट्टा प्रवेश गर्नेछ ।

बीबीआईएन मोटर भेइकल सम्झौतापछि नै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेका रूपमा विकास गर्ने उद्देश्यका साथ स्तरोन्नति गरिरहेको छ । बंगलादेश क्षेत्रको सडक स्तरोन्नति लगभग सकिएको छ । भारतीय क्षेत्रमा भने अझै काम जारी छ । आकाशेपुलसहित चार लेनको सडक निर्माण गरिएको छ ।

नेपालले विगत २० वर्षदेखि व्यापारिक मार्गका रूपमा प्रयोग गर्दै आएको काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध मार्गबाटै बस सेवा सञ्चालन गर्न भारत तथा बंगलादेश सहमत भएका हुन् । सन् २०११ मा यो नाकाबाट भारतले समेत बंगलादेशसँग व्यापार सुरु गरेको छ । सन् २०१५ देखि फूलबारी नाकामा अध्यागमन नै खडा गरिएको छ । विगतमा च्याङ्ग्राबन्ध नाकामा मात्रै अध्यागमन थियो । तर, फूलबारी–बंगलाबन्धको चहलपहलपछि यो नाकामा पनि अध्यागमन कार्यालय नै स्थापना गरिएको हो । अब यो नाका व्यापारिक मार्गका रूपमा मात्रै सीमित रहने छैन । यात्रु बस नै सञ्चालन गरेपछि यसको महत्त्व अझ बढेर जाने विश्वास नेपाल–बंगलादेश व्यापार संघका अध्यक्ष पन्नालाल जैनको छ । ‘सोझो बस सम्पर्कले बंगलादेशीलाई नेपाल आउन र नेपालीहरूलाई बंगलादेश जान सहज हुनेछ,’ जैनले बताए ।

प्रकाशित : वैशाख ६, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

साथीबाटै लुटिएपछि ......

पर्वत पाेर्तेल

काँकडभिट्टा — भारतमा २ लाख रुपैयाँ लुटिएपछि दोलखा ठूलो पाटनका २८ वर्षीय दिपेन्द्र तामाङ वेखर्ची भएका छन् ।

लुटिएका दीपेन्द्र तामाङ (बायाँ) र पैसा जस्तै बनाएर राखि दिएको कागजको बण्डल (दायाँ) । तस्बिर : पर्वत पोर्तेल । कान्तिपुर ।

सिक्किमको गान्तोकमा ४ वर्षदेखि भरिया काम गर्दै आएका तामाङले सोमवार दिउँसो मात्रै आफू लुटिएको थाहा पाए। नेपाल प्रवेश गर्ने क्रममा पानीटंकी नजिकै नाकाका सुरक्षाकर्मीले चेकजाच गर्ने क्रममा पो उनले आफू लुटिएको थाहा पाए।
एसएसवीले चेक गर्न खोज्दैथ्यो। उनले आफूसंग २ लाख भारु रहेको जानकारी गराएका थिए। एसएसवीले त्यत्रो पैसा लैजान नमिल्ने बताउदैथ्यो। उनले ‘चिया खर्च’ दिने शर्तमा पैसा लैजाने बातावरण बनाउदै थिए। एसएसपी जवानले उनको झोलावाट पैसा जस्तै वनाएर राखेको कागजको बन्डल झिकेपछि उनी वेहोस भए। ‘भाइ पैसा यही हो भन्दा म त वेहोस भएछु’, दिपेन्द्रले विलौना सुनाए,‘अग्लो छाँगावाट खसेझै भयो।’
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सम्पर्कमा पुगेका उनले घटनाको वृत्तान्त सुनाए। संगै काम गर्ने भरिया साथीहरु रामकाजी राई र लुंगा राईवाट आफू लुटिएको दिपेन्द्रले दावी गरे। ‘नेपाल फर्किने राति तीनै जना बसेर पैसा गनेका थियौ’, उनले भने,‘तिनीहरुले नै मलाई लुटेका हुन्।’
विहान गान्तोकबाट गाडी चढाउन पनि आएका थिए उनीहरु। हिड्ने बेलामा झोकाभित्र हात हालेर छाम्दा पैसा छ भन्ने लाग्यो उनलाई। तर, जब सुरक्षाकर्मीले जाँच गर्दा कागजको बन्डल फेला पऱ्यो त्यसपछि दिपेन्द्रको होस हवास नै उडेको छ।
भुकम्पले घर भत्काएपछि उनी भरिया काम गर्न सिक्किम गएका थिए। सिक्किम, दार्जिलिङमा सयौ नेपाली भरियाहरु छन्। अधिकांश दोलखा, रामेछापका छन्। खासमा भुकम्पले भत्किएको घर बनाउनका लागि उनले दिनरात पसिना बगाएर खाइनखाइ २ लाख भारु जम्मा गरेका थिए।
इलाका प्रहरी कार्यालयका डीएसपी टंक भट्टराईले लुटिएर बेखर्ची बनेका तामाङलाई प्रहरीहरुबाटै ३ हजार रुपैयाँ संकलन गरी बाटो खर्च दिएर घर पठाइएको जानकारी दिए। भट्टराईले भने, ‘लुटिएको पैसा खोजतलास गरिदिन सिक्किम प्रहरीलाई समन्वयका लागि अनुरोध पनि गरेका छौं।’

प्रकाशित : चैत्र १९, २०७४ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT