कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

प्रधानमन्त्रीको ‘रारा सम्बोधन’ को सन्देश

कलेन्द्र सेजुवाल

रारा मुगु — क्षितिजमा सेताम्मे मुर्माटप हिमाल, फेदमा ‘स्वर्गकी रानी’ रारा । आसनको दायाँतिर राष्ट्रिय झन्डा । यही पृष्ठभूमिमा सामान्य सोफासेट कुर्सीमा बसेर शनिबार प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गरिरहँदा उनको ठीक पछाडि रारा किनारमा एउटा चलायमान दृश्य दोहोरिइरह्यो– मान्छेको आवतजावत ।

प्रधानमन्त्रीको ‘रारा सम्बोधन’ को सन्देश

प्रधानमन्त्रीले रारामै आएर समृद्धिको बिगुल फुक्दा स्वयं रारा र सिंगो कर्णाली प्रदेशलाई उत्साही बनाउने योजना त्यसभित्र परेनन् ।

प्रधानमन्त्रीको करिब ५० मिनेट लामो सम्बोधनको मूलध्येय तिनै मान्छेको जीवन बदल्नु थियो । उनी यही सन्देश प्रवाह गर्न रारा पुगेका थिए । के उनी यसमा सफल भए त ? सम्बोधनलगत्तै स्वाभाविक रुपमा विभिन्न कोणबाट यसको समीक्षा सुरु भएको छ । ‘प्रधानमन्त्री रारा आउनु नै ठूलो उपलब्धि हो’ रारामा भेटिने जोकोहीको मुखबाट झर्ने पहिलो प्रतिक्रिया यस्तै थियो । अवश्य नै, यो उपलब्धि हो । कर्णाली प्रदेश सरकारले करिब तीन साताअघि उनलाई ‘कर्णाली-रारा पर्यटन वर्ष’ उद्घाटनमा प्रमुख अतिथिको निम्तो दिएको थियो । प्रधानमन्त्री अतिथिमात्र बन्न आएनन्, प्राय: सिंहदरबार र संसद्‌को रोष्ट्रमबाट हुने सरकारी सम्बोधनलाई राराको आँगनमै ल्याएर आए । यसले राष्ट्रिय ध्यान रारामा खिच्यो । अभियानले कर्णाली प्रदेश सरकारले सोचेभन्दा राम्रो चर्चा पायो ।


पर्यटन वर्ष अभियान प्रचार समितिका संयोजक रहेका सामाजिक विकासमन्त्री दल रावलले भनेझैं- प्रधानमन्त्रीले राराबाटै सम्बोधन गरेर प्रदेश सरकारको कदमलाई उच्च महत्व दिए । सम्बोधनलगत्तै उनी मुगुको छायाँनाथ र हुम्लाको हिल्साको हवाई अवलोकनमा निस्किए । फर्केपछि प्रदेश सरकारको ‘पर्यटन वर्ष अभियान’ सुभारम्भ गर्दै कर्णालीका पर्यटकीयस्थलको विकासको लागि केन्द्र सरकारले दिल खोलेर सहयोग गर्ने प्रतिबद्धता जनाए । कर्णालीको पर्यटन विकासमा प्रदेश सरकारसँग हातेमालो, प्रधानमन्त्रीको ‘रारा सम्बोधन’को प्रमुख सन्देश यही हो ।


‘नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल छैनन् । सुत्केरी व्यथाले च्यापेका आमाहरुलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संशाधन छैनन् ।’ प्रधानमन्त्रीले यी शब्द उच्चारण गरिरहँदा उनको पछाडिबाट तिनै प्रतिनिधिपात्र हिँडिरहेका थिए । उनले सम्बोधनरुपी शब्द वाचन गर्दै त्यससँग मेल खाने दृश्य पनि नियाल्न भ्याए । त्यसैले यो सम्बोधन कोरा कल्पनाबाट माथि उठेर यथार्थ धरातलमा परिणत भयो । यो आफैंमा प्रतिबद्धता पूरा हुने सन्देश हो ।


सम्बोधनको अर्को पाटो पनि छ । सम्बोधनका अक्षर केलाउँदा भने चर्चा भएजस्तो कर्णालीको ‘महत्वपूर्ण उपलब्धि’ कहींकतै देखिँदैन । प्रधानमन्त्रीले रारामै आएर समृद्धिको बिगुल फुक्दा स्वयं रारा र सिंगो कर्णाली प्रदेशलाई उत्साही बनाउने योजना त्यसभित्र परेनन् । उनले भौतिक रुपमा त कर्णाली छोए, सम्बोधनमार्फत कर्णालीको कथा भने छुन सकेनन् । सम्बोधनमा प्रदेशका प्राथमिकता परुन् भनेरै अघिल्लो दिन प्रदेश सरकारले आफ्नो मन्त्रिपरिषद्‍‍का निर्णय हस्तान्तरण गरेको थियो । सांसद धर्मराज रेग्मी प्रधानमन्त्री यसमा चुक्दा ‘मन खल्लो’ भएको बताउँछन् । उनको विचारमा सम्बोधनको ड्राफ्ट काठमाडौंमै तयार भएको भए पनि रारामा आइसकेपछि स्थानीय भावना सम्बोधन गरिनुपर्थ्यो । ‘प्रधानमन्त्रीले हाम्रै प्रदेशमा आएर देशवासीका नाममा सम्बोधन गर्ने भनेपछि यहाँको विकासको लागि केही न केही घोषणा हुन्छ भन्नेमा ढुक्क थियौं,’ रेग्मी भन्छन्, ‘तर सम्बोधन ‘राष्ट्रिय’बाट ‘स्थानीय’मा प्रवेश नगरिकनै सकियो ।’


प्रधानमन्त्री आउने र सम्बोधन गर्ने भनेपछि रारामा कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुखदेखि सांसद/मन्त्रीको ‘कुम्भमेला’ नै लाग्यो । आवास तथा भोजन व्यवस्थापनमा खटिएका स्थानीय पर्यटन व्यवसायी राजु कार्कीका अनुसार दुईवटा होटेलका अतिरिक्त करिब डेढ सय टेन्ट (पाल)मा सरदर चार जनाका दरले पाहुना भरिभराउ थिए । प्रधानमन्त्रीको ऐतिहासिक सम्बोधन हुने यो कुम्भमेलामा विदेशी अनुहार भने देखिएनन् । रारा सम्बोधनको महत्वपूर्ण उद्देश्य रारालगायत यहाँका पर्यटकीयस्थलमा विदेशी पर्यटक भित्र्याउनु पनि त हो ! के यो अवसरमा विदेशी पर्यटकलाई भित्र्याउन नसकिए पनि उनीहरुका प्रतिनिधिको रुपमा राजदूत तथा विदेशी नियोगका अधिकारीलाई निम्त्याउन सकिँदैनथ्यो ? यदि त्यसो गर्न सकिएको भए प्रधानमन्त्रीको रारा सम्बोधन थप सार्थक हुनेथियो ।

प्रकाशित : वैशाख ४, २०७५ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?