कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आफ्नै समूह सम्हाल्न पौडेललाई सकस

समाचार टिप्पणी
महामन्त्री शशांक कोइरालाको भूमिका पौडेलको मुख्य टाउको दुखाइ बनेको छ

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ ।

आफ्नै समूह सम्हाल्न पौडेललाई सकस

निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेबार ठहर्‍याएर अग्रिम महाधिवेशनको आवाज उठाइरहेका बेला पौडेललाई नेतृत्वका आकांक्षी आफ्नो समूहका नेता व्यवस्थापनमा चुनौती देखिएको हो ।

निर्वाचन हारका विषयमा पार्टीभित्र संस्थापन र इतर पक्षबीच मतान्तर बढदो छ । १३ औं महाधिवेशनबाट पार्टीभित्र तेस्रो धारको नेतृत्व लिएर छुट्टै समूह खडा गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत देउवाको कार्यशैलीबाट असन्तुष्ट बन्दै पौडेलसँग निकट भएका छन् । त्यसअघि यी दुई नेताको सम्बन्ध पानी बाराबारको थियो । सिटौलाकै शब्दमा देउवालाई सभापति बनाउनेदेखि दुई वर्षसम्म ‘ब्ल्यांक चेक’ दिएर सहयोग गर्ने काम भएको थियो । त्यसैलाई लिएर पौडेल सिटौलासँग आक्रोशित मात्रै थिएनन्, औपचारिक संवादसमेत टुटेको थियो ।

संघीय संसद्, प्रदेश र स्थानीय तहकै निर्वाचनमा पार्टीले हार बेहोरेपछि यी दुवै नेता एउटै निष्कर्षमा पुगे– ‘सभापति देउवाको यस्तै कार्यशैली र भूमिकाबाट अब पार्टी चल्न सक्दैन ।’ मुद्दामा एक भएपछि पौडेल र सिटौलालाई जोड्ने भूमिकामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीदेखि युवा नेताहरू गगन थापा, प्रदीप पौडेलसम्म जुटे । आधा दर्जनजति गोप्य बैठक बसेर यी दुई नेताबीचको सम्बन्धलाई जोड्ने काम भएको छ । नेतृत्वका सवालमा भने दुवैका आआफ्ना स्वार्थ र प्रतिस्पर्धा छन् ।

पौडेलका लागि सबभन्दा बढी टाउको दुखाइ महामन्त्री शशांक कोइरालाको भूमिकालाई लिएर भएको छ । कोइराला सभापति देउवासँगको सम्बन्ध चिढाउन चाहँदैनन् । सभापति देउवा पार्टी नेतृत्वमा रहिरहने रणनीतिक योजनामा कोइराला फँसेको बुझाइ पौडेल पक्षको छ । तर, कोइराला भने आगामी महाधिवेशनमा देउवा र आफू नै सभापतिको उम्मेदवार हुन सक्ने बताउँदै देउवाको भुलभुलैयामा आफू नलागेको दाबी गर्छन् । उनले केही दिनअघि कान्तिपुरसँग आफूले देउवाको गल्ती र कमजोरीलाई समर्थन गरेको नभई पार्टीभित्रको विभाजन बढ्न नदिन तटस्थ रहेको प्रतिक्रिया दिएका थिए ।

पौडेल संसदीय दलका नेताको चुनावमा देउवाविरुद्ध कोइरालालाई नै उठाउन चाहन्थे । तर, कोइरालाले सर्वसम्मत भए मात्रै स्विकार्ने भन्दै मानेनन् । देउवाको प्रतिस्पर्धामा पौडेलले महामन्त्री प्रकाशमान सिंहलाई अघि बढाए । सिंहको प्रस्तावक बस्न गरिएको आग्रहसमेत कोइरालाले मानेनन् । भनाइ र गराइमा कोइरालाको दोहोरो चरित्र देखिएको भन्दै पौडेल थप सशंकित छन् ।

केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेलसहित १६ केन्द्रीय सदस्यले अग्रिम महाधिवेशनको माग राख्दै केन्द्रीय कार्यसमिति बैठकमा लिखित प्रस्ताव ल्याउने तयारी गरेका थिए जसलाई पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेतको समर्थन थियो । सुरुवातमा महामन्त्रीनिकट केही सदस्यसमेतले हस्ताक्षर गर्ने बताए । तर, पछिल्लोपटक उनीहरूमध्ये केही पछि हटे । पौडेलले अघि बढ्न कोइरालानिकट सदस्यलाई पनि आग्रह गरे । तर, उनीहरूले मानिसकेका छैनन् जसका कारण युवा नेताहरूले अग्रिम महाधिवेशनको लिखित प्रस्ताव ल्याउन ढिलाइ भइरहेको बताए । महामन्त्री कोइराला नै अग्रिम महाधिवशेनका पक्षमा छैनन् । त्यसैको असर उनी निकट नेताहरूमा पनि परेको देखिन्छ । ‘महामन्त्री कोइरालाकै भूमिकाले सभापति देउवा निर्वाचन हारमा जिम्मेवारी लिनसमेत तयार नदेखिएका हुन्,’ ती युवा नेताको भनाइ छ, ‘नत्र भने सभापतिलाई अग्रिम महाधिवेशनमा जानैपर्ने बाध्यतामा हामी पार्न सक्थ्यौं ।’

महामन्त्री कोइरालाको ‘संदिग्ध’ भूमिकाका बीच पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले पनि भावी नेतृत्वका लागि आआफ्नो तयारी थालेको बताएका छन् । नेतृत्वका विषयमा यतिबेला पौडेल र सिटौला मौन देखिन्छन् । यद्यपि पौडेलको भित्री चाहना एकपटक आफैं अघि बढ्ने देखिन्छ । यही समूहमा आबद्ध अधिकांश युवा नेता पनि पार्टी नेतृत्व अब पहिलो पुस्ता (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) बाट हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा देखिन्छन् । पौडेल दोस्रो पुस्ताका नेतामा एकले अर्कोलाई नस्विकार्ने समस्या हुने र त्यसबीचमा आफैं अघि बढ्न सकिने आसमा छन् । नेतृत्वका सबै आकांक्षीलाई व्यवस्थापन गर्दै संस्थापनविरोधी धारको नेतृत्व लिन पौडेललाई सकस परेको छ ।

केन्द्रीय सदस्य केसीका अनुसार अहिल्यै नेतृत्वको विषय उठाउँदा विवाद होला भनेरै संस्थापनइतर पक्षलाई गोलबद्ध पार्ने काम मात्रै भएको छ । केसी १३ औं महाधिवेशनमा देउवा समूहबाटै महामन्त्रीका उम्मेदवार थिए । पछिल्लो पटक देउवाको कार्यशैली मन नपराएर उनी पौडेलतिरै आइपुगेका हुन् । ‘पार्टीलाई सम्पूर्ण रूपमा रूपान्तरण गर्नुपर्छ भन्ने दिशामा मात्रै हामीले छलफल गरेका छौं,’ केही दिनअघि कान्तिपुरसँग केसीले भनेका थिए, ‘नेतृत्वको विषय अहिले थाती राखिएको छ । तत्कालीन परिस्थितिअनुसार जसलाई अघि बढाउँदा उचित हुन्छ, उसैलाई स्वीकार गरेर जाने नीति लिएका छौं ।’ महासमिति बैठकमा विधान संशोधन भएपछि अग्रिम महाधिवेशनमा जानुपर्ने मुद्दा पौडेल पक्षले लिएको छ । महामन्त्री कोइरालाको मौनताका कारण अहिले यो मुद्दासमेत ओझेलमा पर्न लागेको छ । भावी दिनमा संस्थापनइतर पक्ष कसरी अघि बढ्छ भन्नेमा महामन्त्री कोइरालाको भूमिकामा निर्भर
रहने देखिन्छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?