कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अल्झिएका परियोजनाबारे चीनसँग कुरा हुन्छ : परराष्ट्रमन्त्री

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सम्झौता भएर पनि अघि बढ्न नसकेका परियोजनाबारे चिनियाँ पक्षसँग कुरा गरिने बताएका छन् । पूर्वसम्झौता र सहमतिअनुसारका कतिपय परियोजना छनोटबारे छलफल चलिरहेको पनि उनको भनाइ छ ।

अल्झिएका परियोजनाबारे चीनसँग कुरा हुन्छ : परराष्ट्रमन्त्री

चीन भ्रमणमा जानुअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनले उपलब्ध गराउने सहयोगबारे आन्तरिक छलफल भइरहेको जानकारी दिए । केपी ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा गरिएका कतिपय समझदारीले मूर्तरूप पाउन नसकेको अवस्थामा ज्ञवाली चीन जान लागेका हुन् ।


चीनमा बुढीगण्डकी परियोजनाबारे छलफल हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा उनले यो परियोजना आफ्नो भ्रमणको एजेन्डामा नरहेको प्रस्ट पारे । ‘तर, अघिल्लो सरकारका पालामा भएका बुढीगण्डकीलगायत केही निर्णयबारे वर्तमान सरकारले अध्ययन गरिरहेको छ,’ उनले भने । १२ सय मेगावाटको जलाशययुक्त आयोजना निर्माणमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनीसँग गरेको सम्झौता शेरबहादुर देउवा नेतृत्वको सरकारले उल्ट्याएर नेपालले आफैं बनाउने घोषणा गरेको थियो । यसमा चीनले असन्तुष्टि व्यक्त गर्दै आएको छ । पूर्ववर्ती सरकारले अन्य विषयमा गरेका कतिपय निर्णयमाथि पनि अध्ययन भइरहेको जनाउँदै ज्ञवालीले भने, ‘सरकारले उचित निर्णय लिनेछ ।’


आफ्नो भ्रमणमा यसअघि दुई देशबीच भएका सम्झौता कार्यान्वयन र सहकार्यका विषयमा पनि छलफल हुने उनले बताए । मन्त्री ज्ञवालीका अनुसार भ्रमणमा चिनियाँ विदेशमन्त्रीसँगै दुईपक्षीय औपचारिक भेटघाट र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । बेइजिङमा रहँदा चिनियाँ ‘थिंक ट्यांक’ ले आयोजना गर्ने राउन्डटेबल बैठकलाई पनि ज्ञवालीले सम्बोधन गर्नेछन् । सिचुआन प्रान्तको छेन्दु सहरस्थित सिचुआन विश्वविद्यालयमा हुने कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।


पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने आशासमेत व्यक्त गरे । ‘अहिले नै खुल्छ त भन्न सक्दिनँ तर नाका मित्रताको लाइफलाइन भएकाले खुल्ने आशा लिएको छु । यसमा कुराकानी हुन्छ,’ उनले भने, ‘अन्तरदेशीय ट्रान्समिसन लाइन, नाका खोल्दै जाने, जनस्तरको सम्बन्धविस्तारलगायतमा काम हुनेछ । पारवहन तथा यातायात सम्झौताको प्रोटोकलसहित सबै विषयमा छलफल भइरहेको छ ।’


प्रधानमन्त्री ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सम्भावनाबारे संकेत गर्दै ज्ञवालीले यस विषयमा पनि छलफल हुने बताए । ‘यो वर्ष उच्चस्तरीय समानान्तर भ्रमण हुनेछन् । यसमा सरकारले गृहकार्य गरिरहेको छ,’ उनले भने । पत्रकार सम्मेलनमा ज्ञवालीले श्रमिक गन्तव्यका रूपमा रहेका मुलुकसँग आपसी हित र पारस्परिक सद्भावका आधारमा सम्बन्ध मजबुत बनाउने तथा वैदेशिक रोजगारीमा गएका नेपालीको हित संरक्षण गर्ने सरकारको प्राथमिकता रहेको बताए । ती मुलुकसँग पनि व्यापार र लगानीका सम्भावना खोजी तिनको प्रवद्र्धनका लागि प्रयत्न गरिने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ३, २०७५ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?