डाक्टर र प्रहरीले बचाए सुत्केरी
दोलखा — अत्यधिक रक्तश्रावपछि अस्पतालमा सुत्केरी हुन आएकी एक महिलालाई शल्यक्रिया गर्ने चिकित्सक र प्रहरीले रक्तदान गरेर बचाएका छन् ।
चिकित्सकका अनुसार मानिसको शरीरमा पाँच लिटर रगत हुन्छ । करिब चार लिटर रगत शरीरबाट बाहिर निस्किएर बेहोस अवस्थामा ल्याइएकी बुद्धमाया थामीलाई ‘ओ पोजेटिभ’ रगत अभाव भएपछि शल्यक्रिया गर्न तयार भएका डा. विनोद दंगाल आफैंले रक्तदान गरेका थिए ।
तिब्बती सीमाछेउ दुर्गम विगु गाउँपालिका–८ खोपाचाँगुबाट ल्याइएकी ४३ वर्षीया बुद्धमायालाई ब्लड बैंकमा भएको तीन पोका रगतले नपुग्ने भएपछि आफूले पनि रक्तदान गरेको दंगालले बताए । प्रहरीले समेत रक्तदान गरेपछि जम्मा भएको आठ पोका रगत बुद्धमायालाई दिएपछि अवस्था राम्रो भएको अस्पतालको भनाइ छ ।
निकै ढिलो गरी अस्पताल ल्याइपुर्याइएकाले उनलाई शल्यक्रिया गर्न चार घण्टा लागेको थियो । पेटभित्रै शिशुको ज्यान गए तापनि आमा सकुशल छन् । उक्त अस्पतालमा ‘ओ पोजेटिभ’ रगत सधैं अभाव हुन्छ ।
उक्त समूहको रगत नपाइएपछि शल्यक्रिया गर्ने डाक्टर आफैंले रक्तदान गरी अरूलाई पनि आहवान गरेका थिए । डा. दंगालको आग्रहपछि दोलखामा कार्यरत प्रहरी नायब निरीक्षक यज्ञनन्दप्रसाद शाह र सुजित बस्नेत, प्रहरी जवानहरू शर्माप्रसाद कुर्मी, प्रेम भण्डारी, कुमार बस्नेत, खोभारी ठाकुर र भीम सापाकोटाले एक/एक पाउन्ड रगत दान गरेका थिए ।
बेहोस भएर चरिकोट अस्पताल आइपुगेको पनि थाहा नभएको बताउने बुधमायाले आफूलाई बचाउने डाक्टर र प्रहरीलाई धन्यवाद भनिनन् । बुद्धमायाका पति कर्णबहादुर थामीले गाउँबाट आएका गरिबलाई रगत खोजेर बिनाखर्चमा सबै उपचार गरिदिएर ठूलो गुण लगाएको बताए । ।
प्रकाशित : चैत्र २८, २०७४ ०९:३१