संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को पहिलो संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई बिहीबार दिउँसो ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन हुन लागेको हो ।


संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई दोश्रोपटक नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेको यो पहिलो पटक हो ।


संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गर्नेछन् ।


बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नेछन् । सम्बोधनपछि बैठक समाप्त हुने भएकाले अन्य कार्यसूची हुनेछैन । सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरु, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित : चैत्र १५, २०७४ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्

स्थायी राजधानी माग्दै हैटौंडामा प्रदर्शन

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश–३ को स्थायी राजधानी हैटौंडा नै कायम गर्न माग गर्दै विद्यार्थीहरुले बिहीबार प्रदर्शन गरेका छन् ।

काभ्रेलाई प्रदेश राजधानी बनाउन प्रस्ताव दर्ता भए लगत्तै मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पस स्वत्रन्त्र विद्यार्थी युनियनले हेटौंडामा प्रदर्शन गरेका हुन् ।

क्याम्पसबाट बु्द्धचोकसम्म नारा जुलुसहित आएका विद्यार्थीले हेटौंडालाई कायम गर्न र अन्यत्र नसार्न माग गर्दै नाराबाजी गरेका थिए ।

जुलुसपछि आयोजित कोणसभामा हेटौंडा क्याम्पसका स्ववियु सभापति उमेश पुरीले राजधानीको लागि हेटौंडाको विकल्प नभएको भन्दै सार्ने प्रस्ताव विद्यार्थीलाई सह्य नहुने दाबी गरे । उनीहरुले प्रदेश सभा भवन घेराउ लगायतका थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् ।

प्रकाशित : चैत्र १५, २०७४ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×