गोरीकला हत्यामा प्रहरी पनि संलग्न

प्रकाश अधिकारी

सुर्खेत — एसईई परीक्षार्थी गोरीकला रोकायाको हत्यामा प्रहरीको पनि संलग्नता रहेको रहस्य खुलेको छ । प्रहरीले हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएपछि प्रहरीको पनि संलग्नता रहेको पुष्टि भएको हो ।

गोरीकला हत्यामा प्रहरी पनि संलग्न

प्रहरीले हत्यामा पञ्चपुरी नगरपालिका-८ का लक्ष्मीप्रसाद बास्तोला पनि संलग्न भएको जनाएको छ । ट्राफिक प्रहरी कोइरालाले आफूलाई ‘केटी मिलाउन’ आग्रह गरेपछि गोरीकलालाई उनीसँग भेट गराइदिएको बास्तोलाले बयानका क्रममा भनेका छन् । गोरीकला र प्रहरी जवान कोइरालाले सोमबार दिउँसो डेरादेखि टाढा जंगलनजिक बसेर मदिरासहित खाजा नास्ता खाएका थिए । उनीहरुलाई त्यहाँ छाडेर बास्तोलाको नजिकैको गाउँमा भोजमा गएका थिए ।


‘फर्कर्ने क्रममा मोटरसाइकलबाट खसेर युवती घाइते भएको र, घाइते अवस्थामै मेडिकल नलिई उसकै डेरामा सुताएको खुल्न आयो,’ जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले भने, युवतीको मृत्यु राति अन्दाजी एक बजेपछि भएको देखिन्छ ।’


पञ्चपुरी नपा-३ चौरकी १८ वर्षीया गोरीकला मंगलबार बाबियाचौरस्थित डेरामै मृत अवस्थामा भेटिएकी थिइन् । सूर्यप्रकाश मावि पलैंटेकी छात्रा रोकायले एसईईका लागि बाबियाचौरमा डेरा लिएकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा सात जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित : चैत्र १४, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?