कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

निर्माता गिरी प्रहरी नियन्त्रणमा

काठमाडौँ — महिना दिनअघि मात्रै रिलिज फिल्म ‘कृ’ मा प्रयोग गरिएको गीत ‘उकालीमा पछि पछि...’ चोरी गरेको आरापेमा उक्त फिल्मका निर्मातामध्येका एक सुवास गिरीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्माता गिरी प्रहरी नियन्त्रणमा

महानगरीय प्रहरी परिसरका एसएसपी विश्व पोखरेलले पक्राउबारे पुष्टि गरेका हुन् ।


निर्देशक शम्भु प्रधानले आफ्नो फिल्म ‘सम्झना’ मा रहेको गीतसँग हुबहु टयुन मिल्ने गरी बनाइएको गीतलाई ‘कृ’ फिल्ममा अनधिकृत प्रयोग गरिएको भन्दै उजुरी गरेका थिए । प्रधानले फिल्मका निर्माताद्वय सुवास गिरी र भुवन केसीलाई विपक्षी बनाई चोरी गरिएको गीत हटाउन र फिल्मले गरेको व्यापारको आधा हिस्सा माग दाबी गर्दै उजुरी दिएका थिए । प्रहरीले भने चलचित्र विकास बोर्डले उपलब्ध गराएको फिल्म ‘कृ’ को निर्माताका आधारमा गिरीलाई मात्रै पक्राउ गरेको हो ।


‘प्रहरीमा उजुरी हाल्नुअघि नै मैले उहाँहरूलाई छलफलका लागि बोलाएको थिएँ । नआएपछि उजुरी हालेँ,’ निर्देशक प्रधानले कान्तिपुरसँग भने, ‘प्रहरीले पनि मिलाउन खोज्यो । मैले फिल्मबाट गीत हटाएपछि मात्रै कुरा गर्छु भनेँ । उहाँहरू गीत हटाउनुको सट्टा फाल्टु गफ गरेर भुलाउन खोज्नुभयो ।’ प्रधानका अनुसार, छलफलकै क्रममा प्रहरीलाई समेत खबर नगरी ‘कृ’ प्रदर्शनका लागि निर्माता जापान गएका थिए । ‘फर्किएलगत्तै प्रहरीले पक्राउ गरेको हो,’ प्रधानले थपे, ‘पहिल्यै आफूसँग गल्ती स्वीकार गर्दै गीत हटाएको भए एक रुपैयाँ चाहिएको थिएन ।’


‘सम्झना’ को ‘उकालीमा पछि पछि...’ गीत उदितनारायण झा र दीपा झाले गाएका हुन् भने संगीत तथा रचना रञ्जित गजमेरको हो । उक्त गीतमा भुवन केसी र तृप्ति नाडकर फिचरिङ छन् भने ‘कृ’ को अनमोल केसी र अदिति बुढाथोकी फिचरिङ सोही बोलको गीतलाई अलमोडा राना उप्रेतीले गाएका छन् भने उनैले रचना तथा संगीतलाई रिमेक गरेर तयार पारेका हुन् ।


हालै मात्रै मुम्बईबाट काठमाडौं आएका रञ्जित गजमेरले गीत चोरी गरेको पत्तो पाएपछि कारबाही प्रक्रियाअघि बढाउन प्रधानलाई अनुरोध गरेका थिए । प्रधानले अब अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताए ।

प्रकाशित : चैत्र १४, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?