कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

लोकप्रिय मतमा कांग्रेस पहिलो, एमालेको भन्दा ५ लाख बढी

राजेश मिश्र

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ-प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ ।

लोकप्रिय मतमा कांग्रेस पहिलो, एमालेको भन्दा ५ लाख बढी

सिट संख्याका आधारमा संसदमा ठूलो अन्तरले पछाडि परेको कांग्रेसले लोकप्रिय मतमा भने एमालेलाई उछिनेको हो । निर्वाचन आयोगले तयार पारेको निर्वाचन प्रतिवेदनअनुसार प्रत्यक्षतर्फ कांग्रेसले ३५ दशमलव ७५ प्रतिशत मत ल्याएको हो । संसदमा पहिलो पार्टी बनेको एमालेको मत ३० दशमवल ६८ प्रतिशत मात्र छ । कांग्रेस ५ प्रतिशतले एमालेभन्दा अगाडि देखिएको छ । संसद्मा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै पाएको छ ।


कुल १ करोड ५४ लाख ७९ हजार ३८ मतदातामध्ये ६८.६७ प्रतिशत मतदान भएको थियो । खसेको मतको प्रतिशत गणनाका बेला यकिन भएको मतपत्रका आधारमा निकालिएको हो । प्रत्यक्षतर्फ खसेको १ करोड ५ लाख ९४ हजार ४४ मतमध्ये कांग्रेसका उम्मेदवारले ल्याएको कुल मत ३५ लाख ९० हजार ७ सय ९३ छ । एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २ सय ७७ मत पाएको छ । ५ लाखभन्दा बढी मत अन्तरले कांग्रेस अगाडि देखिएको हो ।


मत संख्यामा तेस्रो स्थानमा रहेको माओवादीले प्रत्यक्षमा ३६ सिट जितेको छ । उसका उम्मेदवारले पाएको कुल मत १५ लाख १० हजार ७ सय ६० छ । प्रत्यक्षतर्फ माओवादीले पाएको मत प्रतिशत १५ हुन आउँछ ।


प्रत्यक्षतर्फ कांग्रेसले बढी मत पाउनुको कारण उम्मेदवार संख्या एमालेको भन्दा बढी हुनु पनि हो । कांग्रेसले १ सय ५४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो भने माओवादीसँगको तालमेलका कारण एमालेको १ सय ३ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो । माओवादीबाट ५९ उम्मेदवार थिए ।


तर, देशैभरलाई एउटा निर्वाचन क्षेत्र मानेर समानुपातिकतर्फ प्रतिस्पर्धामा उत्रिएका दलहरुबीच पनि कांग्रेस थोरै मत अन्तरले दोस्रो भएको थियो । यसले पनि मतदाताबीच कांग्रेसको स्थान पूरै खस्किनसकेको देखाउँछ । समानुपातिकमा एमालेभन्दा कांग्रेस शून्य दशमलव ४७ प्रतिशतले मात्रै पछाडि छ । एमालेले समानुपातिकतर्फ कुल खसेको मतको ३३ दशमलव २५ प्रतिशत मत ल्याएको छ भने कांग्रेसले ३२ दशमवल ७८ प्रतिशत ।


एमालेको मत संख्या ३१ लख ७३ हजार ४ सय ९४ छ भने कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत ल्याएको छ । एमालेभन्दा कांग्रेस ४५ हजार १ सय ५ मतले मात्रै पछाडि छ । स्थानीय तह निर्वाचनमा पनि दुई दलबीचको मतान्तर यस्तै थियो । स्थानीयमा पनि पहिलो पार्टी बनेको एमालेभन्दा कांग्रेस कुल मतमा ८२ हजार ३ सयले मात्रै पछाडि परेको थियो । एमालेले ३० लाख ६४ हजार ५ सय ४० मत ल्याउँदा कांग्रेसको मत २९ लाख ८२ हजार २ सय ४० थियो ।


माओवादीले भने प्रत्यक्षमा पाएको लोकप्रिय मतको तुलनामा समानुपातिकमा पाएको मत संख्या कम देखिन्छ । उसले पाएको मत प्रतिशत १३ दशमलव ६६ थियो । समानुपातिकमा एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट र माओवादीले १७ सिट जितेको छ ।


एक सिटले उछिनेर संसदमा चौथो दल बनेको राष्ट्रिय जनता पार्टी प्रत्यक्षतर्फको कुल मतमा भने संसदभित्रको पाँचौ दल संघीय समाजवादी फोरम नेपाल भन्दा पछाडि देखिएको छ । फोरमका सबै उम्मेदवारले ल्याएको मत प्रतिशत ५ दशमलव २६ प्रतिशत छ भने राजपाको कुल मत प्रतिशत ४ दशमलव ५६ मात्र । समानुपातिकतर्फ भने राजपाले फोरमलाई २ हजार ५३ मत अन्तरले उछिनेको थियो । समानुपातिकमा राजपाले मत प्रतिशत ४ दशमलव ९५ तथा फोरमको ४ दशमलव ९३ थियो ।


मधेसी दललाई सबै जिल्लामा मत

मधेसका मुद्दा प्राथमिकतामा राखेर राजनीति गरिरहेको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी पहाडी जिल्लामा समेत मत ल्याउन सफल देखिएका छन् । दुवै दलले पहाड र हिमालका सबैजसो जिल्लामा थोरै भए पनि मत पाएको देखिन्छ । फोरमले ७७ वटै जिल्लाबाट मत पाएको छ भने राजपाले मनाङबाहेकका जिल्लामा ।


राजपाले पहाडी तथा हिमाली जिल्लाहरु इलाम, खोटाङ, भोजपुर काठमाडौं, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक र जुम्लामा मात्रै एक सयभन्दा बढी मत ल्याएको छ । पहाडी जिल्लामा राजपाले सबभन्दा बढी काठमाडौंमा ९ सय ८७ मत ल्याएको छ । मुस्ताङमा १, हुम्लामा २ तथा ताप्लेजुङ र रसुवामा ल्याएको मत संख्या ३ हो ।


राजपाले पहाडी तथा हिमाली जिल्लामा कतै पनि हजार मत पुर्‍याउन सकेको छैन । तर, फोरमले इलाम, काठमाडौं, कास्की, खोटाङ, धनकुटा, पाँचथर, भोजपुर र ललितपुरमा हजारभन्दा बढी मत पाएको छ । पहाडी जिल्लामा फोरमले सबभन्दा बढी काठमाडौंमा ३ हजार ७ सय ४१ तथा सबभन्दा कम मनाङमा २ र मुस्ताङमा १ मत ल्याएको छ ।

प्रकाशित : चैत्र १०, २०७४ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×