कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसमा झन् किचलो

निर्वाचनमा पार्टी पराजित भएपछि चर्किएको अन्तरकलह अहिले दुई ध्रुवमा केन्द्रित छ र यो आगामी महाधिवेशनसम्मै पुग्ने देखिन्छ  ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन १३ मा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेका अलग–अलग प्रस्तावले कांग्रेसभित्रको कलह अझै लम्बिने भएको छ । निर्वाचनमा पार्टी पराजित भएपछि चर्किएको अन्तरकलह अहिले दुई ध्रुवमा केन्द्रित छ र यो आगामी महाधिवेशनसम्मै पुग्ने देखिन्छ । 

कांग्रेसमा झन् किचलो

‘अहिलेको कलह तत्कालीन आक्रोशमा मात्रै सीमित छैन, पार्टीलाई आफ्नो कब्जामा लिइराख्ने र पार्टी नेतृत्व परिवर्तन गर्ने पक्षबीचको द्वन्द्व भएकाले अझै चर्कने खतरा छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘त्यसैले तत्काल यो विवाद साम्य हुनुको साटो बढ्ने देखिन्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी र सरकार सञ्चालनमा ‘अलोकप्रिय’ बनेकै मौकामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह थप संगठित बन्दै उनीविरुद्ध उत्रिएको छ । देउवाविरुद्धको सशक्त मोर्चा बनाउने अभियानमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत पौडेलसँग जोडिन आइपुगेका छन् । देउवाका साथमा रहेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र चन्द्र भण्डारी पनि पौडेल समूहमा आबद्ध भएका छन् । पौडेल र सिटौलालाई एक ठाउँमा ल्याउने संयोजनकारी भूमिकामा देखिएका केसी सभापतिको अहिलेकै कार्यशैली र पद्धतिले पार्टी सुधार हुन नसक्ने निचोड आफूहरूले निकालेको बताउँछन् ।

‘विभिन्न स्वार्थ र गिरोहबाट नेतृत्व सञ्चालित हुन थालेपछि पार्टी सुधारका लागि केही गर्नुपर्छ भनेर नै हामी लागेका हौं,’ केसीले संक्षिप्त प्रतिक्रियामा भने, ‘पार्टीलाई तदर्थवादमा चलाउने या परिवर्तन गरेर अघि बढ्ने भन्ने दुई ध्रुवको प्रतिस्पर्धा महासमिति हुँदै महाधिवेशनसम्म नै पुग्ने देखिन्छ ।’ १३ औं महाधिवेशनबाट निर्वाचित भएर देउवा पार्टी सभापति बनेको दुई वर्ष बितेको छ । विधानत: उनको कार्यकाल अझै दुई वर्ष बाँकी छ । तर, संस्थापनइतर पक्ष यही मौकामा महासमिति बैठकलगत्तै विशेष वा अग्रिम महाधिवेशनसम्म पार्टीलाई लैजाने प्रयत्नमा छ । जसका केही आधार पनि उनीहरूले प्रस्तुत गरेका छन् । संविधान जारी भएदेखि नै मुलुक संघीय संरचनामा प्रवेश भए पनि पार्टीको संरचना पुरानै छ । प्रतिनिधिसभाको १ सय ६५, प्रदेशसभाको ३ सय ३० र ७ सय ५३ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । पुन:संरचनामा जिल्लासमेत ७५ बाट ७७ पुगेको छ । कांग्रेस भने अहिले पनि ७५ जिल्ला, २ सय ४० निर्वाचन क्षेत्र र पुरानै गाउ‘/नगरपालिकाको संरचनामा छ । विधानमा संशोधन हुनासाथ संरचनाअनुसार पार्टीलाई रूपान्तरण गर्न अग्रिम महाधिवेशनमा जानुपर्ने पौडेल र सिटौलाको तर्क छ ।

सिटौलाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा नै अग्रिम महाधिवेशनको माग गरेका छन् । विधान संशोधन गर्नासाथ सोहीअनुसारको संरचनामा पार्टीलाई रूपान्तरण गर्न अग्रिम महाधिवेशन हुनुपर्ने सिटौलाको तर्क थियो । ‘तलदेखि नै महाधिवेशन सुरु गर्दै आउनुपछर्,’ उनले भने । तर, देउवा पक्ष यसलाई सहजै मान्न तयार छैन । देउवा पक्ष दुई वर्षसम्मका लागि तदर्थ समिति बनाउनुपर्ने पक्षमा छ । संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न महाधिवेशन सुरु नगराए महासमिति बैठकबाट एक चौथाईप्रतिनिधिको हस्ताक्षर गरी विशेष महाधिवेशन बोलाउन माग गर्ने विषयमा समेत पौडेल पक्षभित्र छलफल चलेको छ । देउवालाई चुनौती दिन वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय सिंह र सिटौला, केन्द्रीय सदस्यहरू केसी, रामशरण महत, शेखर कोइराला गोलबद्ध बनेका छन् ।

युवा नेताहरू नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, जीवन परियारलगायतको अभियान पनि पार्टी नेतृत्व परिवर्तनसम्मको छ । तर, देउवा निकट केन्द्रीय सदस्य प्रकाशशरण महत पार्टीलाई कमजोर बनाएर आफू बलियो बन्न खोज्ने मानसिकता गलत भएको बताउँछन् । ‘अहिले भइरहेकै त्यही हो, पार्टी सभापतिलाई कमजोर बनाउन सकियो भने आफू बलियो बन्न सकिन्छ कि भन्ने सोचाइ होला तर त्यसले पार्टीलाई थप कमजोरमात्रै बनाउछ,’ महतले भने, ‘पार्टी सञ्चालनका कतिपय शैलीसँग मेरो पनि चित्त बुझेको छैन तर ती सबैलाई सार्वजनिक रूपमा भण्डाफोर गर्दा पार्टी कमजोर हुने हो ।’ सिटौलाले यही शैलीबाट पार्टी सञ्चालन भए लामो समय मुलुक वामपन्थीको कब्जामा जाने बताए । ‘यही चिन्तन र शैलीबाट अघि बढ्ने हो भने पार्टी त कब्जा गर्नुहोला तर मुलुक वामपन्थीले कब्जा गर्नेछ,’ सिटौलाको भनाइ थियो ।

निर्वाचनमा पार्टीले हारको कारणबारे समीक्षा गर्न शुक्रबार सुरु बैठकमा वरिष्ठ नेता पौडेल तथा सिटौला पक्षले सभापति देउवाको कार्यशैली र गतिविधिलाई मुख्य कारण मानेका छन् भने संस्थापन पक्ष प्रतिवादमा उत्रने तयारीमा छ । पौडेल र सिंहको पत्रसमेत देउवाप्रति नै आक्रामक छ । ‘मुख्य कारण त वाम गठबन्धन हो तर उहाँहरू (पौडेल पक्ष) यसलाई उल्लेख नै गर्न चाहनुहुन्न,’ महतले भने, ‘एकोहोरो पार्टी नेतृत्वविरुद्ध उत्रनुभएको छ । यसले राम्रो सन्देश जाँदैन ।’ निर्वाचन समीक्षाको पहिलो बैठकमा धेरैले पछि बोल्ने भनेकाले शुक्रबार सिंह, सिटौला र नारायण खडकाले मात्रै बोलेका थिए । करिब २० युवा केन्द्रीय सदस्यले लिखित साझा धारणा ल्याउने तयारी गरेका कारण नाम टिपाएका थिएनन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले पौडेल पक्षको धारणा आइसकेपछि प्रतिवाद गर्न पछि बोल्ने भनेका थिए । यही कारण संस्थापनबाट शुक्रबार बोल्ने सदस्य नै भएनन् । बैठक शनिबारका लागि बोलाइएको छ । खड्काले पार्टीभित्रको गुटबन्दी अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने तर्क प्रस्तुत गरेका थिए ।

देउवामाथि सिंहको ‘हमला’

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी निर्वाचनमा हार्नुमा ९ कारण उल्लेख गर्दै त्यसमा सभापति शेरबहादुर देउवाको अलोकप्रिय छविदेखि उनको सत्ता राजनीतिको चरम महत्त्वाकांक्षासम्मले काम गरेको उल्लेख गरेका छन् । देउवाप्रति आक्रामक बन्दै आएका सिंहले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा ९ पानाको प्रस्ताव प्रस्तुत गर्दै सभापतिका निर्णयले पार्टीभित्र चरम राजनीतिक विचलन भित्रिएको आरोप लगाएका हुन् । माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्रीमा सम्झौता गरी तत्कालीन केपी ओली नेतृत्वको सरकार ढाल्नु र भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई मेयरमा समर्थन गर्नु सभापति देउवाको सत्ता राजनीतिको चरम उत्कर्षको रूपमा उनले लिए । ‘पार्टी सभापतिले खेलेको यस्तो भूमिका चरम राजनीतिक विचलन र सत्ताकेन्द्रित राजनीतिको पराकाष्ठा थियो,’ सिंहले प्रस्तावमा भनेका छन्, ‘पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढंगबाट एक्लैले यति ठूलो आत्मघाती निर्णय गरेको घटनाले कांग्रेसीजनको शिर निहुर्‍याएको छ ।’

पार्टी सभापतिको कदमले निर्वाचनमा पार्टीलाई ठूलो क्षति पुगेको सिंहको ठहर छ । ‘सभापतिले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाह नगरी केवल व्यक्तिगत उग्रराजनीतिक महत्त्वाकांक्षा, सत्ताकेन्द्रित राजनीतिक चरित्र र प्रवृत्तिको कारणबाट पार्टीले आफ्नो सिद्धान्त र आदर्शबाट विचलित हुनुपरेको हो,’ सिंहले भनेका छन् । उनले संविधान जारीपछि नजित्ने प्रधानमन्त्रीको चुनावमा तत्कालीन नेता सुशील कोइरालालाई उठाएबाटै कांग्रेसको अधोगति सुरु भएको बताएका छन् ।

त्यसपछिका अवधिमा सभापति देउवाका गतिविधिलाई उनले मुख्य कारण ठानेका छन् । सिंहले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने निर्णय, भारतीय नाकाबन्दीमा पार्टी बोल्न नसक्नु, सर्वोच्च अदालतको निर्णयविरुद्ध खेद प्रकट गर्नुजस्ता अलोकप्रिय निर्णयले पार्टीलाई क्षति पुगेको तर्क गरेका छन् । उनले सत्तामा पुग्नकै लागि पार्टी सभापतिले भारतीय नाकाबन्दीविरुद्ध बोल्न नसकेको बताएका छन् ।

सिंह किन भए आक्रोशित ?

कांग्रेस विभाजित भएका बखत सिंह देउवातिर थिए । त्यतिबेला नेता गिरिजाप्रसाद कोइरालासँग उनको द्वन्द्व थियो । पार्टी एकीकरणसँगै उनले देउवा समूह छाडे । देउवाको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै कोइराला समूहमै फर्किए । त्यसपछि उनी देउवाप्रति कहिल्यै नरम भएनन् । एउटा गुटको मात्रै सभापति भएको भन्दै निरन्तर देउवामाथि प्रहार गर्दै आए । पछिल्लोपटक उनले देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धासमेत गरेका थिए । प्रतिनिधिसभा निर्वाचनमा पौडेल पराजित भएपछि उनले यो मौका पाएका हुन् । उनलाई नजिकबाट चिन्ने एक नेता भन्छन्, ‘पौडेल समूहमा पौडेलपछि को नेता बन्ने प्रतिस्पर्धा छ । यसमा आफूलाई अघि बढाउन पनि सिंहले यो रणनीति बनाएका हुन सक्छन् ।’


कोइरालाको अर्थपूर्ण मौनता

१३ औं महाधिवेशनमा पौडेल समूहबाट चुनाव जितेका महामन्त्री शशांक कोइरालाको मौनतालाई पनि यतिबेला अर्थपूर्ण रूपमा हेरिएको छ । निर्वाचनमा पार्टी पराजित भएपछि सभापति देउवाप्रति पौडेल पक्ष आक्रामक बनिरहेका बेला कोइराला भने मौन छन् । हुन त उनी संसद्मा समेत खासै बोल्दैनन् । तर, पार्टीभित्र उनको मौनतालाई सभापति शेरबहादुर देउवासँगको सम्बन्धसँग जोडेर हेर्ने गरिएको छ । सभापति देउवाले आफू सफल हुनका लागि सुरुका दिनदेखि नै कोइरालासँगको सम्बन्ध बढाएका छन् । उनलाई १४ औं महाधिवेशनमा आफू नउठेर सभापतिमा सघाउने वचन दिएकाले पनि कोइराला मौन बसेका तर्क कांग्रेसभित्र व्याप्त छ । तर, केही दिनअघि संसदीय दलको नेतामा सर्वसम्मत आफूलाई सहयोग माग्न जाँदा देउवाले आफैंलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘त्यो घटनाबाट केही संशय पैदा भएको छ होला तर अझै उहाँ सभापतिलाई फकाएरै आफू नेतृत्वमा आउन सकिन्छ कि भन्ने आसमा हुनुहुन्छ,’ पौडेलनिकट एक नेताले भने । संसदीय दलको नेतामा समेत उनी कुनै पक्षमा खुलेनन् । पौडेल पक्षीय भेलामा समेत कोइरालाको मौनताका बारेमा बारम्बार चर्चा हुँदै आएको छ । पौडेलले बोलाएको बैठकमा उनी सहभागी हुने गरे पनि नेतृत्वको विषयमा भने मौन नै बस्ने गरेका छन् । ‘अब तपाईंको विचार के हो भनेर सोध्ने पक्षमा हामी छौं,’ पौडेलनिकट स्रोतले भन्यो, ‘कोइरालालाई आफ्नो बाटो प्रस्ट बनाउन पौडेललाई जिम्मा दिएका छौं ।’

प्रकाशित : चैत्र १०, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?