कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

काठमाडौंमा सम्बोधन गर्दै ‘सोफिया’

विजय तिमल्सिना

काठमाडौँ — चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ बुधबार काठमाडौको एक कार्यक्रममा सहभागी हुँदैछिन् ।

काठमाडौंमा सम्बोधन गर्दै ‘सोफिया’

उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको हो ।

सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आयोजनामा हुने ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सहभागी हुन लागेकी हुन् । सम्मेलनमा मुख्य वक्ताका रूपमा उनले मन्तव्य दिने यूएनडीपी नेपालका सञ्चार प्रमुख कमलराज सिग्देलले बताए । सोफियालाई राष्ट्रसंघीय विकास कार्यक्रमले एसिया प्रशान्त क्षेत्रको आविष्कार दूत (इन्नोभेसन च्याम्पियन) को पदवी दिएको छ । यो पदवी पाउने उनी पहिलो रोबोट पनि हुन् ।

मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो । त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । मानवीय स्वरूप दिन उनको अनुहार दिवंगत बेलायती कलाकार अड्रे हेपबनसँग मिल्दोजुल्दो बनाइएको छ । सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् ।

सोफियामा गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले बनाएको आवाज पहिचान गर्ने प्रविधि प्रयोग गरिएको छ, जसले प्रश्नहरू पहिचान गर्न सघाउँछ । सोफियामा अर्को सफ्टवेयर पनि प्रयोग गरिएको छ, जसले रोबोटलाई मानिसले सोधेको प्रश्न विश्लेषण गरी उत्तर दिन सघाउँछ । यो सफ्टवेयर सिंगुलारिटिनेट नामक कम्पनीले बनाएको हो । यसले सोफियालाई एक पटक सोधेको प्रश्न स्टोर गरी अर्को पटक सोही प्रश्न सोधिए सही उत्तर दिन ‘डाटासेट’ बनाएर राख्छ । यसले जति धेरै प्रश्न सोधिएको छ, सोहीअनुसार उनको उत्तर दिने क्षमतामा वृद्धि हुँदै जान्छ । सुरुवाती अवस्थाभन्दा सोफिया अहिले धेरै प्रश्नको उत्तर दिने क्षमता राख्छिन् । सबै काम सोफियाले वाइफाईसँग जोडिएर मात्र गर्न सक्छिन् ।

उनको आँखाका रूपमा क्यामेरा प्रयोग भएको छ, जुन हेर्दा मानिसको जस्तै देखिन्छ । आँखामा भएको क्यामेराले सोफिया एक पटक भेटेको मानिसलाई दोस्रो पटक पहिचान गर्न सक्छिन् । निर्माण कम्पनीले दुई महिनाअघि मात्रै उनको क्षमता वृद्धि गरी हिँड्न सक्ने बनाएको थियो ।

प्रकाशित : चैत्र ७, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?