२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ढिलाइ

बाढीले भत्काएको १ सय ६६ मिटर लामो पुल र नहरको साइफन बन्नै तीन वर्ष लाग्ने
जितेन्द्र साह

काठमाडौँ — गत साउनको बाढीले क्षतिग्रस्त १ सय ६६ मिटर पुल र सिँचाइका लागि निर्मित नहरको साइफन पुनर्निर्माण गर्न तीन वर्ष लाग्ने भएको छ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ढिलाइ

मोरङको पूर्वोत्तर बेलबारी नगरपालिकाको कसेनीस्थित उक्त पुल र साइफन पुनर्निर्माणमा झन्डै ३४ करोड रुपैयाँ आवश्यक रहेको र बजेट अभावमा निर्माण सुरु गर्न नसकिएको सुनसरी–मोरङ सिँचाइ आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर सुपीन्द्र खत्रीले बताए।

बाढीले पुलको आधाभन्दा बढी भाग र मुनि निर्मित सिँचाइ संरचना भत्काएको थियो। उक्त आयोजनाद्वारा सुक्खायाममा आवागमनका लागि बाँसको पुल एवं डाइभर्सन निर्माण गरिएको छ। ‘आवागमन एवं सिँचाइका लागि निर्मित समग्र संरचनामध्ये सबैभन्दा ठूलो क्षति यही पुलमा भएको छ,’ खत्रीले भने।

नहरबाट पुलपूर्वको १२ हजार हेक्टर जग्गामा सिँचाइ हुन्छ। तत्काल सिँचाइ पुर्‍याउन असोजभित्रै ३० लाख रुपैयाँको लागतमा उक्त पुलबाट ५ किमि उत्तरतिर अर्को नहर खनेर प्रतिसेकेन्ड ५ हजार लिटर (५ क्युमेक्स) पानी छाडिएको आयोजनाले जनाएको छ। ‘कृषकलाई मर्कामा पर्न नदिन गरिएको यो अस्थायी समाधान मात्र हो, यहाँ पक्की मुहान बनाउन १ करोड रुपैयाँ बजेट र निर्माणमा तीन वर्ष लाग्छ,’ खत्रीले भने।

वरिपरिको नहर एवं बस्ती जोगाउन उक्त नगरपालिकाको चिस्याङ खोलामा समेत मोरङ–सुनसरी सिँचाइ आयोजनाद्वारा झन्डै ४ करोड ५० लाख रुपैयाँको लागतमा ५ सय मिटर तटबन्ध निर्माण गरिंदैछ। असार मसान्तभित्र सक्ने गरी यहाँ काम भइरहेको आयोजनाले जनाएको छ। केही वर्ष मुख्य पुल नबन्दा भने स्थानीयले वर्षायाममा आवतजावतमा निकै कठिनाइ भोग्नुपर्ने देखिन्छ। ‘मनसुन सुरु भएपछि त एक महिनासम्म वारिपारि गर्नै सकिन्न होला,’ स्थानीय उर्मिला उरावले भनिन्, ‘अहिल्यै पनि ओहोरदोहोर गर्न कठिन भइरहेको छ।’ स्थानीयका अनुसार पुल हुँदा उक्त थलोबाट विराटनगर आउन मात्र ३० किमि लाग्छ भने पुल नहुँदा वर्षायाममा उत्तरतिरको सुनसरीको इटहरी हुँदै विराटनगर पुग्न ६० किमि लाग्छ। ‘सबैभन्दा बढी गाह्रो त दिनहुँ आउजाउ गर्नेलाई हुन्छ,’ उनले भनिन्।

सुनसरी–मोरङ सिँचाइ आयोजनाले १ लाख १२ हजार हेक्टर जग्गालाई समेट्छ। आयोजनाले सुनसरीको कोसी नदीस्थित मूल नहर चतराबाट पानी ल्याई सुनसरी जिल्लाको ४० हजार र मोरङको २८ हजार हेक्टर गरी ६८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। बाँकी भूमिमा आयोजनाकै घर, सडक र पोखरी छ।

सुनसरीको चतरादेखि मोरङको केरौनसम्म ५३ किमिमा मूल नहर फैलिएको छ। यो मध्ये ४२ किमिसम्म आइपुग्दा मोरङको बेलबारीको कसेनीस्थित लोहन्द्रा खोला र मुख्य नहरको मेल हुन्छ। वरपर बस्ती र खेत छ। आयोजनाले वैज्ञानिक संरचनामार्फत माथिबाट खोला र तलबाट नहर बगाएको हो।

लगातारको बाढीले ५३ किमि लामो मूल नहर र ३ सय ३२ किमि शाखा नहरको विभिन्न १४ ठाउँमा फुटाएपछि आयोजनामा निकै असर पर्‍यो। एउटा शाखा नहरको औसत लम्बाइ २० किमि हुन्छ। योजनाले सबै शाखामा पानी पुर्‍याइरहेको छ। मुख्य राजमार्ग मुन्तिरको शाखा नहरमा बढी नोक्सानी भएको छ।

पूरै आयोजनामा ७० करोड ५५ लाख रुपैयाँको क्षति पुगेको उनले बताए। खत्रीका अनुसार सिँचाइ विभाग र मन्त्रालयसँग मर्मत तथा पुनर्निर्माणका लागि तत्कालै २५ करोड रुपैयाँ मागेको हो। ‘मुलुकभरि यस्तै समस्या भएको हुनाले तीन वर्षभित्र क्रमिक रूपमा उक्त रकम उपलब्ध गराउने जवाफ पाएका छौं,’ खत्रीले भने। उनका अनुसार अहिले भने विनियोजित बजेटबाट आकस्मिक कामका लागि १० करोड रुपैयाँ झिकेर काम गरिंदैछ।

मोरङस्थित उक्त लोहन्द्रा पुलपछि सबैभन्दा क्षति सुनसरीको झुम्कादेखि १ किमि पश्चिम दत्तकिच्चा खोला क्षेत्रको सिँचाइ संरचनामा पर्‍यो। यहाँ करिब १ करोड रुपैयाँको क्षति पुगेको आयोजनाले जनाएको छ।

सम्भावित खतरालाई ध्यानमा राखेर बाढीको तीन दिनअगावै २६ साउनमै मुख्य नहर बन्द गरिएको थियो। तर उक्त खोलाकै पानी मुख्य नहरमा पस्यो। ‘बाढी गएको एक महिनाभित्रै अस्थायी संरचना बनाएर सबैतिर नहरको पानी पुर्‍यायौंं,’ उनले भने। खत्रीका अनुसार वैकल्पिक सिँचाइ प्रबन्धका लागि प्राविधिकहरूले दसैंमा समेत नवमीसम्म काम गरेका थिए।

सन् १९५४ मा नेपाल–भारत कोसी सम्झौताअनुरूप १० वर्षपछि सुनसरी–मोरङ सिँचाइ आयोजना बन्न सुरु भएको थियो। भारत सरकारले सन् १९७० मा निर्माण सम्पन्न गरी ५ वर्षसम्म आयोजनालाई परीक्षणमा राखेको थियो। उसले सन् १९७५ मा नेपाल सरकारलाई आयोजना हस्तान्तरण गरेको थियो। अन्तर्राष्ट्रिय विकास नियोग (आईडीए) को सहुलियत ऋणमा गुरुयोजना तयार पारी यो आयोजनालाई अझै परिमार्जित गरिएको हो।

प्रकाशित : फाल्गुन ११, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?