गण्डक नहरका पुल जीर्ण

भूषण यादव

काठमाडौँ — वीरगन्ज– गण्डक नहरमाथि निर्माण भएका पुल जीर्ण बनेका छन्। नहर निरीक्षणका लागि निर्माण भएका पुलमाथि मालवाहक ट्रक, बसलगायत सवारी चल्न थालेपछि जीर्ण बनेका हुन्।पर्सा, बारा र रौतहटको २९ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन नहरमा ३० वटा पुल निर्माण गरिएका थिए।

गण्डक नहरमा निर्मित पुलमा परेको भ्वाङ । हल्का सवारी गुडाउन बनाएको पुलमा अत्यधिक भार भएका ट्रक चल्न थालेपछि जीर्ण बन्दै गएको हो । 

एउटा पुल निर्माणमा झन्डै ५ करोड रुपैयाँ खर्च हुन्छ। बजेट अभावमा पुल मर्मत सम्भार गर्न सकिएको छैन। इन्जिनियरका अनुसार पिलर भासिएका छन्। पुलमा प्वाल परेका छन्। पुलमाथि राखिएका स्ल्याब फुटिसकेका छन्। पुल क्षतिग्रस्त भएको साइनबोर्ड झन्ड्याएपनि चालकले निर्धक्क सवारी चलाउने गरेका छन्। बसको छतमाथि यात्रु राखेर पुलमाथि ओहोरदोहोर गरिन्छ।

वीरगन्जस्थित नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले गण्डक नहरको मर्मत सम्भार गरी पानी सञ्चालनको जिम्मेवारी पाएको छ। ‘कुन दिन पुल भत्केर ठूलै दुर्घटना हुन्छ,’ सिँचाइका इन्जिनियर सुरेश साहले भने, ‘पुल क्षतिग्रस्त भएको जानकारी गराउँदासमेत अटेर गरेका छन्। पुल भत्केपछि खेती संकटमा पर्छ।’

सिँचाइमा काम गरेका पुराना कर्मचारीका अनुसार दशकअघिसम्म नहरको बाटो प्रयोग गर्न अनुमति लिनुपथ्र्यो। नहर मर्मतका लागि सिँचाइको सवारी मात्र चलाउन पाइन्थ्यो। साहका अनुसार अहिले कसैले टेर्दैनन्, स्थानीय प्रशासनलाई समेत सवारी निषेधबारे जानकारी गराएको उनले बताए। वीरगन्ज महानगरपालिका २५ जगरनाथपुर क्षेत्रमा नहर ‘क्रस’ गरेर बग्ने सिरिसिया खोलामाथि निर्माण भएको पुलमा ठूला प्वाल परेका छन्। उक्त क्षेत्रमा आधा दर्जन ठूला उद्योग सञ्चालनमा छन्। ३ वटा सिमेन्ट उद्योगका क्लिंकर र दाना उद्योगका मकै, भटमासलगायतका कच्चा पदार्थ र तयारी वस्तु त्यही पुल भएर ओहोरदोहोर गराइन्छ। स्थानीय छठु साहका अनुसार १२ चक्के ट्रकले उद्योगका लागि कच्चा पदार्थ र तयारी वस्तु दिनहुँ बोकेर नहरको बाटो ओहोरदोहोर गर्छन्। ‘भ्यान, जिप, ट्याक्टर जस्ता हल्का सवारी चल्दा पनि पुल हल्लिन्छ,’ पुल नजिकै घुम्ती पसल थापेर खाजा व्यापार गरेका साहले भने, ‘पुल जीर्ण भइसक्यो।’

सिँचाइका कर्मचारीका अनुसार गण्डक नहरका अधिकांश पुल जीर्ण भएको जानकारी स्थानीय प्रशासनदेखि विभागका महानिर्देशकसमेतलाई जानकारी गराइसकिएको छ। ‘न त मर्मत सम्भारका लागि बजेट नै आउँछ,’ ती कर्मचारीले भने, ‘न त ह्याभी सवारी निषेध नै गर्न सकिएको छ, पुल भत्किएमा यस क्षेत्रको किसानको भविष्य झन संकटमा पर्छ।’ केही पुलमुनि साइफनसमेत निर्माण भएको छ। प्राविधिकका अनुसार एउटा साइफन निर्माणमा झन्डै २५ करोड रुपैयाँ खर्च हुन्छ। ‘खोलामुनि नहरको पानी पास गराउन साइफन निर्माण गरिन्छ,’ इन्जिनियर साहले भने, पुल टुटे त्यसले साइफनमा पनि क्षति पुर्‍याउँछ, नहर पनि संकटमा पर्छ।’ गण्डक नहरमा कुल ७ वटा साइफन निर्माण भएका छन्।
निर्माण भएका पुल सिँचाइका हलुका सवारीको भार थेग्ने क्षमताका छन्। सूचना अधिकारीसमेत रहेका इन्जिनियर साहले भने, ‘हुलुका सवारी मात्र गुड्ने भएकाले पुलका पिलर ५० सेमि गोलाइका छन्।’ पुलको चौडाइ पनि एकपटकमा एउटा सवारीमात्र पार्न गर्न सक्ने हिसाबले साँघुरो बनाइएको हो। सन् १९५९ मा नेपाल र भारतबीच गण्डक सम्झौता भएको थियो।

नवलपरासीस्थित नारायणी (गण्डक) नदीमा निर्माण गरिएको ब्यारेजबाट नेपालका लागि पर्साको जानकी टोल भएर गण्डक नहरमा पानी आउने गरेको छ। पर्सादेखि रौतहटसम्म सिँचाइ गर्ने योजनाअनुसार गण्डक नहर निर्माण भए पनि बाराको आधा भूभागसम्म मात्र पानी पुग्ने गरेको छ।

प्रकाशित : फाल्गुन ११, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सन्दीपको सम्झौतामा वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले क्रिकेटर सन्दीप लामिछानेसँगको प्रायोजन सम्झौतामा दोब्बर वृद्धि गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली डेयरडेभिल्समा परेपछि र नेपाल विश्वकप छनोट क्रिकेटमा पुगेपछि सन्दीपको व्यावसायिक महत्त्व पनि चुलिएको हो । 

सन् २०१६ को फेब्रुअरीमा बंगलादेशमा सम्पन्न आईसीसी यू–१९ विश्वकप खेलेर आएपछि क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) मार्फत सन्दीपसँग सानिमा बैंकले प्रतिमहिना २० हजार दिने गरी सम्झौता गरेको थियो । त्यसलाई बिहीबार आयोजित कार्यक्रममा दोब्बर बनाइएको सानिमाले जनाएको हो । दुईवर्षे नयाँ सम्झौतापछि सन्दीपले त्यसवापत्९ लाख ६० हजार पाउने छन् । यू–१९ विश्वकपमा सन्दीपले आयरल्यान्डसँग ह्याट्रिक गर्दै कुल १४ विकेट लिएका थिए । सानिमाका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले विगत सम्झौता स्मरण गर्दै भने, ‘हाम्रोमा अभिभावकले सहयोग गरेसम्म मात्र खेल्ने वातावरण छ । तर सन्दीपको ध्यान पूर्ण रूपमा खेलमा जाओस् र राम्रो खेल्ने वातावरण होस् भनेर हामी जोडिएका थियौं, अहिले पनि हाम्रो भनाइ त्यही नै हो ।’

दुई वर्षअघि सानिमाको सम्झौताले आफू उत्साही भएको बताउँदै सन्दीपले यो सहयोग आफ्नो मनमा रहिरहने बताए । सन्दीपसहित राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सानिमा सदभावदूत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मायाको चिनो प्रदान गरे । आचार्यले भने, ‘कलाकारलाई भाषाका हिसाबमा नेपालीले मात्र चिन्छ तर खेलाडीलाई विश्वले चिन्छ किनभने खेलको एउटै भाषा हुन्छ ।’

सीप्यानका अध्यक्ष पवन अग्रवालले लगानीविना खेलाडीबाट सधैं राम्रो प्रदर्शनको आस गर्नु बेकार हुने बताए । राष्ट्रिय कप्तान पारसले राम्रो वातावरण भए ८ वर्षभित्र नेपालले टेस्ट खेल्न सक्ने दाबी गरे ।

प्रकाशित : फाल्गुन ११, २०७४ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT