बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछः सचिव ज्ञवाली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिँदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए ।

सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने हुँदा त्यसका लागि आवश्यक संख्या मात्र मन्त्रिपरिषद्मा रहने चर्चा गर्दै उनले भने, 'हाम्रो कार्यदलले १५ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ, अब कतिपय मन्त्रालय एकीकृत गरिन्छ र कतिपय खारेज हुन्छन् ।'

नेता ज्ञवालीले वर्तमान सरकारले लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्न लगानी बढाउने र संघीय संविधान कार्यान्वयनलाई प्राथमिकता दिने बताए ।

देशमा सुशासन र आर्थिक समृद्धि कायम गर्न सरकारले दत्तचित्त भएर काम गर्ने जानकारी दिँदै उनले भने, 'यो सरकार १० देखि पाँच कार्यालय आउने÷जाने होइन, रिबन काट्ने, पूजा गर्ने काम गर्दैन, किनकि हामी अग्निपरीक्षामा छौँ ।'

एमाले र माओवादी केन्द्रबीचको एकता

सचिव ज्ञवालीले विसं २००६ मा स्थापना भएको कम्युनिष्ट पार्टी विभिन्न समयमा फुट्दै गएको स्मरण गर्दै एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा ऐतिहासिक हुने र मुलुकमा अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्दै एकता विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि प्रेरणादायी हुने बताए ।

एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन केही कानूनी प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, 'यसका लागि करिब तीन हप्ता सक्छ, हिजो भएको दुई पार्टीबीचको एकता घोषणालाई दुवै पार्टीका केन्द्रीय कमिटीले अनुमोदन गरेर आगामी चैतसम्ममा एकता घोषणा हुन्छ ।' एकता महाधिवेशनका लागि करिब डेढ वर्ष समय लाग्ने उनको भनाइ थियो ।

नेता ज्ञवालीले भने, 'महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म दुवै अध्यक्षहरुले संयुक्त नेतृत्व गर्नुहुन्छ, उहाँहरुले समझदारीमा नै पार्टी चलाउनुहुन्छ ।' एकीकृत पार्टीको संरचनामा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी निर्माण गरिने नेता ज्ञवालीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ८, २०७४ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

विदेसिएका नेपालीलाई स्वदेश फर्काउँछौं : सापकोटा

प्रतिक्षा काफ्ले

स्याङ्जा — योङ कम्युनिष्ट लिग नेपाल (वाईसीयल)का केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटाले देशमा आर्थिक समृद्धि ल्याउनको लागि युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रको मेरुदण्ड युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने भन्दै युवाशक्तिलाई आफ्नै जन्मभूमिमा परिचालन गर्नुपर्नेमा जोड दिए । 

स्याङ्जाको वालिङ बजार मालेबगरमा आयोजित वाईसीयल) स्याङ्जाको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाडी गएका युवाहरुलाई स्वदेश फर्काउने अभियानमा लागेको बताए ।

वाईसीएलले अब विकासका कामहरु गर्नुपर्ने भन्दै उनले विदेशमा जीवन बचाउन संघर्षमा जुट्ने नेपालीहरुलाई नेपालमै फिर्ता गर्नु आफूहरुको मुल दायत्व भएको बताए ।

पार्टी एकताको सन्दर्भमा सापकोटाले पार्टी एकता हुन्छ वा हुँदैन भन्ने विषयमा ओली र प्रचण्ड दुवैलाई थाहा नभएको बताए । पार्टी एकता गर्न जनताले नै अनुमोदन गरेर पठाएकाले के ठीक के बेठिक भनेर छलफल गर्नु आवश्यक नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज शैलेन्द्र घिमिरले बहुदलले २५ वर्ष हुँदा पनि नेपाली राजनीतिमा कुनै उथलपुथल नभएकाले नेपालको समृद्धि र विकासका लागि २१ औँ शताव्दीको जनवादको खाँचो रहेको बताए । उनले २१ औँ शताब्दीको जनवादले सुरुआतको पाँचै वर्ष नपुग्दै नेपाली राजनीतिमा भयाङ्कर तरङ्ग पैदा गरेको भन्दै जनवाद समेटिने गरी माओवादीले पार्टी एकता गर्नुपर्ने धारणा राखे ।

सम्मेलनले पुन रमेश अर्यालको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा थमन गुरुङ, द्वितीय उपाध्यक्षमा टोमबहादुर थापा, सचिवमा सागर थापा, सहसचिवमा जीवन थापा र पीताम्बर खनाल, कोषाध्यक्षमा अनिता गहतराज रहेका छन् । त्यस्तै लेखा आयोगको अध्यक्षमा दुर्गाप्रसाद थापा र अनुशासन आयोगमा सुजिन्द्र सेनलाई सर्वसहमतिले चयन गरिएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्