१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

इटहरी बलात्कार: आरोपी भारतबाट पक्राउ

वेदराज पौडेल

इटहरी — बालिका बलात्कारका आरोपी विराटनगरका मनिष श्रेष्ठलाई प्रहरीले भारतको पश्चिम बंगालबाट पक्राउ गरी शनिबार सुनसरी ल्याएको छ । 

पुस १६ गते भएको बलात्कार घटनामा उनी आरोपी हुन् । चिया बगानमा काम गर्ने आफन्तको घरमा श्रीमतिसहित बसिरहेका उनलाई नेपालबाट गएका प्रहरीले पश्चिमबंगाल प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।


पक्राउ परेका उनको परिचयपत्र भारतीय प्रहरीले माग गरेपछि भने काकडभिट्टा नाकाबाट नेपाल भित्र्याउन निकै समय लागेको थियो । पछि सुरक्षा उच्च अधिकारीले भारतीय अधिकारीसँग वार्ता गरेपछि मात्र मनिषलाई नेपाल ल्याइएको हो । पक्राउ परेका मनिषलाई अनुसन्धानको लागि जिल्ला अदालत सुनसरीबाट आइतबार म्याद थप गरिने वरिष्ठ प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए ।


इटहरी २ मा रहेको रोयल रिसोर्ट होटलको कोठा नम्बर ११२ मा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई खोजी गरेको थियो । उनीविरुद्ध किशोरीले किटानी जाहेरी दिएकी छन् ।


पुस १६ गते घटना भएपनि प्रहरीले आर्थिक लेनदेनमा बलात्कारको घटना दर्ता नगरी मिलापत्र गराई गुपचुप गराएको थियो । प्रहरीले घटना गुपचुप पारेपछि वरिष्ठ प्रहरी उपरीक्षक पालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको थियो । समितिको सिफारिसमा सुनसरी प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल यसअघि नै निलम्बनमा परेका छन् ।


प्रकाशित : माघ २७, २०७४ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?