‘फागुन ६ मा नयाँ सरकार’

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी फागुन ६ मा नयाँ सरकार गठन हुने बताएका छन्।

‘फागुन ६ मा नयाँ सरकार’

‘छिटोमा फागुन २ गते नभए, ६ गतेभित्रै नयाँ सरकार बन्छ,’ शुक्रबार भरतपुर विमानस्थलमा उनले भने, ‘फागुन ५ भित्र निर्वाचन आयोगले प्रतिनिधिसभाको सबै परिणाम बुझाइसकेपछि ६ गते नयाँ सरकार बन्ने सम्भावना छ।’

यो विषयमा राष्ट्रपतिसँग भेटघाट र कुराकानी भइसकेको उनले खुलाए। अध्यक्ष दाहालले पार्टी एकता भनेको गठबन्धन गरेको जस्तो सहज नभएको बताए। ‘केही ढिला भएको हो,’ उनले भने, ‘तर ढिलो, चाँडो एकता हुन्छ, पार्टी एकताको मोडालिटी अन्तिम रूपमा पुगेको छ।’

दुवै पार्टीबीच वार्ता सकारात्मक भएको उनले स्पष्ट पारे। पार्टी एकता संयोजक समिति बैठकबाट चाँडोभन्दा चाँडो एकताको विषय टुंगिने उनले बताए। ‘मेरो प्रयास सरकार गठनभन्दा अघि एकता होस् भन्नेमा हो,’ उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीको पनि त्यसैमा जोड छ, हामी दुई अध्यक्षको जोड सकेसम्म पार्टी एकता चाँडै टुंग्याउने भन्ने नै हो।’

प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट विजयी भएपछि उनी नियमित गृहजिल्ला आउने गरेका छन्। उनले पदको बाँडफाँटले एकता ढिला भएको हल्ला गलत भएको बताए। ‘हामीले विचार, राजनीतिक लाइन र संगठनात्मक सेटिङलाई कसरी मिलाउने भन्ने बारेमा छलफल गरिरहेका छौं,’ उनले भने,‘पदको समस्याले एकता ढिला भएको होइन, केपीजीले पनि सबै पद पाइसक्नुभएको छ, मैले पनि सबै पद पाइसकेको छु। पदकै लागि हो कि भन्ने भ्रम परेको होला तर त्यो बिलकुल होइन।’

प्रकाशित : माघ २७, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?