प्रदेशमा जान अटेरी : २४ घण्टाभित्र रमाना दिन निर्देशन

‘सामान्य प्रशासन मन्त्रालयबाट पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्बन्धित सबै मन्त्रालयहरूले अनिवार्य रूपमा रमाना गरिदिई जानकारी गराउनू’
बालकृष्ण बस्नेत

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै प्रदेशमा खटाइएका कर्मचारीलाई सरुवाको पत्र बुझेको २४ घण्टाभित्र रमाना दिन सबै मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रदेशमा जान अटेरी : २४ घण्टाभित्र रमाना दिन निर्देशन

सहसचिवदेखि सामान्य तहका ७ सय ६० कर्मचारी प्रदेशअन्तर्गत सरुवा गरिए पनि आधाभन्दा बढीले जान आलटाल गरेकाले त्यस्तो निर्देशन दिइएको हो ।


सामान्य प्रशासन मन्त्रालयले तत्काललाई सबै प्रदेशका सरकारी काम सुचारु हुने गरी कर्मचारी सरुवा गरेको थियो । एक साता बित्दासमेत कर्मचारी सम्बन्धित कार्यक्षेत्रमा पुगेका थिएनन् । प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले सरुवा भएका कर्मचारीलाई तत्काल कार्यक्षेत्रमा पठाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए । ‘सबै ठाउँमा कर्मचारी नपुगेको गुनासो आएपछि हामीले कर्मचारीको विवरण लिई ताकेता गरेका हौं । नजाने कर्मचारीलाई के गर्ने भन्ने छलफल भइरहेको छ,’ बरालले कान्तिपुरसँग भने ।

कर्मचारीलाई कार्यक्षेत्र पठाउन कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरूप मन्त्रालयले पत्राचार गरेको हो । प्रधानमन्त्री कार्यालयले अटेर गर्ने कर्मचारीको विवरण अद्यावधिक गरी पठाउनसमेत भनेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत प्रदेशमा रहने अन्य मन्त्रालयहरूको कार्य तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सामान्य प्रशासनले खटाएका कर्मचारी पुगे/नपुगेको कडाइ गर्ने निर्णय गरेको थियो ।

‘सामान्य प्रशासन मन्त्रालयबाट पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्बन्धित सबै मन्त्रालयले अनिवार्य रूपमा रमाना गरिदिई जानकारी गराइदिनुहुन निर्देशन दिइएको छ,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा छ । सामान्यले सबै प्रदेशमा ७ सय ६० कर्मचारी खटाएको थियो । खटाइएका कर्मचारी नै सम्बन्धित कार्यक्षेत्रमा नपुगेपछि मन्त्रालयले कारबाहीका लागि मुृख्यसचिव लोकदर्शन रेग्मीको ध्यानाकर्षण गराएको थियो । प्रदेशमा सबै काम सुचारु गर्न सचिवसहित सबै तहका १५ सय कर्मचारी आवश्यक पर्ने तथ्यांक भए पनि काम सुचारु गर्न आधा संख्यामा पठाइएको हो ।

रमाना बुझेका कर्मचारी २१ दिनभित्र सम्बन्धित कार्यालयमा जानुपर्ने कानुनी व्यवस्था छ । तर, कर्मचारीहरूले त्यसमा अटेर गरेका छन् । कर्मचारीमा अराजकता र गैरजिम्मेवार प्रवृत्ति मौलाएको भन्दै कारबाही गर्नुपर्ने सुझाव सामान्यले दिएको थियो । प्रदेशका मन्त्रालयहरूका लागि ४१ सहसचिव र ४० उपसचिवलाई सामान्यले खटाएको छ । कार्यक्षेत्र जान अटेर गर्नेमा राजपत्र अनंकित श्रेणीका कर्मचारीहरू बढी छन् ।

प्रकाशित : माघ २६, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?