स्वराज भ्रमण – जसले ६ दशकअघिको बिहे सम्झायो

बालकृष्ण बस्नेत

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार शीतलनिवासमा २५ मिनेट भेटवार्ता भयो । स्वराज नेतृत्वको टोली मध्याह्न १२ बजे शीतलनिवास पुगेको थियो । त्यस क्रममा ६ दशकअघि शीतलनिवासमै भएको भारतीय जोडीको विवाह चर्चाले वार्तामा रौनक थप्यो । 

स्वराज भ्रमण – जसले ६ दशकअघिको बिहे सम्झायो

परिचयकै क्रममा स्वराजले टोलीमा सहभागी भारतीय विदेशसचिव विजयकेशव गोखलेका बाबुआमाको विवाह शीतलनिवासमै भएको प्रसंग उठाइन् । ‘महामहिमज्यू, हाम्रा परराष्ट्र सचिवका पितामाताको विवाह पनि यही भवनमा भएको थियो,’ गोखलेसँग परिचय गराउँदै स्वराजले यसो भन्दा राष्ट्रपति भण्डारी प्रसन्न मुद्रामा देखिइन् । गोखलेका हजुरबुबा नेपालका लागि राजदूत छँदा उनले छोराको विवाह शीतलनिवासमा गराएका थिए । ‘मातापिताको विवाह भएको घर । मलाई कति चाँडो शीतलनिवास पुगौं जस्तो भएको थियो,’ भावविहल हुँदै गोखलेले भने । ‘मलाई झन् खुसी लाग्यो । यहाँ हुँदा तपाईंका मातापिताको विवाह नभएको भए ?,’ राष्ट्रपतिले पनि रमाइलो ढंगले प्रत्युत्तर दिइन् ।

भण्डारीले स्वागत गरेपछि स्वराजले आफू यसपटक कुनै एजेन्डाबिनै आएको बताएकी थिइन् । ‘छिमेकमा आउँदा र मित्र भेटघाट गर्दा सधैं एजेन्डा हुनुपर्छ भन्ने छैन । औपचारिकता नै हुनुपर्छ भन्ने नि छैन,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै टोलीका एक सहभागीले भने ।

विदेशमन्त्री स्वराजसँगै सचिव गोखले, भारतीय राजदूत मञ्जिवसिंह पुरीसहितका अधिकारी शीतलनिवास पुगेका थिए । स्वराजले नेपालसँग भारतको पुरानो र ऐतिहासिक सम्बन्ध रहेको औंल्याउँदै त्यसलाई सधैं बलियो बनाउनुपर्ने बताएकी थिइन् । राष्ट्रपति भण्डारीले पनि दुई देशबीचको सम्बन्ध युगौंदेखिको भन्दै ‘हजारौं जिब्रो भएका शेषनागले समेत वर्णन गर्न नसक्ने’ खालको गहिरो र गाढा रहेको टिप्पणी गरिन् ।

भेटमा स्वराजले ठूलो राजनीतिक परिवर्तनपछि जारी संविधानप्रति भारत खुसी रहेको जनाउँदै त्यसलाई कार्यान्वयन गर्ने क्रममा हालै सम्पन्न चुनावले नेपाललाई समृद्धितिर लाने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । ‘राष्ट्रपतिज्यूले अब बन्ने सरकारले पनि दुई देशबीच सम्बन्ध बलियो बनाउनेतर्फ कदम चाल्ने आफ्नो विश्वास रहेको धारणा राख्नुभयो,’ उनले भने ।

स्वराजले राष्ट्रपति भण्डारीको पछिल्लो भारत भ्रमण पूर्ण सफल भएको प्रतिक्रिया दिएकी थिइन् । भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसहितका नेतालाई सम्झेकी थिइन् । उनले स्वराजसँग मुखर्जीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दै पूर्ण स्वस्थ भएपछि उनी नेपाल भ्रमणमा आउने अपेक्षा व्यक्त गरिन् ।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका हुन नसकेका जानकी र मुक्तिनाथ मन्दिर भ्रमणबारे पनि चर्चा भयो । ‘ती तीर्थस्थलसहित घुम्ने गरी मोदीजीको नेपाल भ्रमण हुनुपर्छ,’ राष्ट्रपतिले भनिन् । शीतलनिवासको ‘सगरमाथा बैठक’ कक्षमा भेटघाटपछि बिदाइका क्रममा स्वराजले राष्ट्रपति भण्डारीलाई अंकमाल गरेकी थिइन् ।

प्रकाशित : माघ २०, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?