कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

“अर्केस्ट्रा” मा बेचिँदै चेली

पर्सा — रौतहट गमहरियाकी १८ वर्षीया रविना खातुन र उदयपुर गाईघाटकी १६ वर्षीया राधा चमार (दुवै नाम परिवर्तन) लाई प्रहरीले वीरगन्जस्थित नेपाल–भारत सीमामा फेला पार्‍यो ।

“अर्केस्ट्रा” मा बेचिँदै चेली

रविनालाई अर्जुन कलवारले घरायसी काममा लगाइदिन्छु भन्दै वीरगन्ज बोलाएका थिए । रविना १४ वर्षीया अर्की साथीका साथ सीमान्त सहर आइपुगेकी थिइन् ।


तीनैजना युवतीलाई वीरगन्ज नाकाबाट केही पर गाउँको बाटो हुँदै भारत लगियो । त्यहाँको अज्ञात गाउँमा लगेर स्थानीय पारस बैठाले सञ्चालन गरेको अर्केस्ट्रा (पेसेवर नृत्य समूह) मा जोडियो । पहिलो साता राम्रै व्यवहार भयो । पछि उनीहरूलाई कुटपिट गर्दै नृत्यको तालिम दिन थालियो । बैठाको समूहले युवतीलाई जबर्जस्ती वैवाहिक तथा अन्य समारोहमा नाच्न लगाउँथे । छोटा कपडा लगाएर नृत्य गर्नुपथ्र्यो । एक दिनको भारु १ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ भनेर प्रलोभन देखाए पनि पारिश्रमिक भने पाएनन् । ज्यादती बढेपछि युवतीले स्वदेश फर्कन खोजे ।


तीनैजनाले पारिश्रमिक माग्दा पाएनन् । खेतको बीचमा झुप्रो बनाएर राखिएको थियो । राति अपरिचित युवा आएर दुव्र्यवहार गर्थे । भाग्न खोज्दा कुटपिट गर्थे । एक रात भाँडा माझ्ने बहानामा रविना र राधा भागेर नेपाली सीमासम्म आइपुगे । रविनासँगै आएकी किशोरी अहिले पनि सीमापारि अर्केस्ट्रा समूहकै चंगुलमा छिन् । रविना र राधालाई भने माइती नेपाल वीरगन्ज शाखाले अभिभावक बोलाएर जिम्मा लगाएको छ । उनीहरूले अब कहिल्यै कामको लोभमा भारत नजाने बताए ।


स्याङ्जा वालिङ घर भएकी नाम मात्र लेख्न सक्ने सोनी मगर (नाम परिवर्तन) को कथा(व्यथा पनि उस्तै छ । गाउँकै तारा भनिने एक महिलाले मैनबत्ती उद्योगमा काम पाइन्छ भनेर उनलाई भारत विहारको बगाहा पुर्‍याइदिइन् । तर मैनबत्ती उद्योगमा नभई अर्केस्ट्रामा काम गर्नुपर्‍यो, उनले । त्यहाँ नारकीय यातना भोगिन् । माइती नेपालले भारतीय प्रहरीसँग समन्वय गरी बगाहा पुगेरै उनलाई उद्धार गरेर स्वदेश ल्यायो ।


यी प्रतिनिधि घटना मात्र हुन् । यसले अर्केस्ट्राका नाममा चेलीबेटी बिक्री हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । भागेर आउने आँट नभएका र माइती नेपाल तथा भारतीय प्रहरीको नजरमा नपरेका थुप्रै नेपाली चेली अहिले सीमावर्ती भारतीय बजारमा फस्टाएको अर्केस्ट्रा व्यवसायमा काम गर्न बाध्य छन् । माइती नेपालकी वीरगन्ज शाखा प्रमुख संगीता पुरी ३/४ वर्षयता नेपाली चेली जानेर वा नजानेर ठूलो संख्यामा यसरी अर्केस्ट्रा समूहमा जोडिन पुगेको बताउँछिन् । ‘धेरैलाई त अन्य र आकर्षक कामको लोभ दिएर भारत लगिएको हुन्छ, केहीलाई भने अर्केस्ट्रा नै भनेर पनि लगिएको हुन्छ,’ उनले भनिन्, ‘तर त्यहाँ पुगेर कामबाट सन्तुष्ट हुने कुरा त परै जाओस्, शारीरिक र मानसिक यातनाले विक्षिप्त हुन पुग्छन् ।’


शाखाले सन् २०१७ मा भारतबाट २० चेलीबेटीको उद्धार गरी ल्याएकोमा तीमध्ये अधिकांश नाबालिका थिए । आधा दर्जनलाई भारतको मोतिहारी र बगहास्थित अर्केस्ट्रा समूहबाट उद्धार गरी ल्याइएको थियो । एक चेलीलाई नयाँदिल्लीको वेश्यालयबाट तथा अन्य केहीलाई भारतकै विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा उद्धार गरी ल्याइएको थियो । उनीहरूलाई कतिपय भारतीय पुरुषले प्रेम र विवाहको बहाना तथा आकर्षक रोजगारी दिने प्रलोभनमा भारत पुर्‍याएका थिए ।


पछिल्लो समय भारतीय अर्केस्ट्रा समूह चेलीबेटी बेचबिखनको नयाँ गन्तव्य बन्दै गएको छ । युवतीहरूलाई अश्लील शैली र भावभंगीमा नृत्य गराइने भएकाले यस्तो समूहको माग पनि बढ्दो छ । पुरुषहरूले आफ्नो आनन्दका लागि रुचिपूर्वक यस्तो नृत्य हेर्छन् । तर अर्केस्ट्रामा नृत्य गर्ने युवती स्वेच्छाले नभई करकाप र जबर्जस्तीमा परेर यस्तो काम गर्न बाध्य छन् ।


विगतमा भारतका महानगरमा नेपाली चेलीबेटीलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने गिरोह सक्रिय रहेकोमा पछिल्ला केही वर्षयता यो नयाँ शैलीमा बेचबिखनको गिरोह सक्रिय रहेको माइती नेपालकी शाखा प्रमुख पुरीको अनुभव छ । ‘वेश्यालयमा बिक्री गर्नु मात्र बेचबिखन होइन, अर्केस्ट्रामा चेलीबेटीलाई उनीहरूको इच्छाबेगर काममा लगाउनु र त्यसबापत पारिश्रमिकसमेत नदिनु पनि बिक्री गर्नुसरह हो,’ उनले भनिन् ।

प्रकाशित : माघ २०, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?