एमालेले मतदातालाई प्रदेश छाड्न रोक लगायो

राष्ट्रिय सभा निर्वाचन
-मुख्यमन्त्री ताक्नेहरूले दौडधुप बढाए -प्रदेश संसदीय दल बैठक राख्न निर्देशन

काठमाडौँ — एमालेले राष्ट्रिय सभा निर्वाचन सम्पन्न नभएसम्म मुलुक र प्रदेशबाहिर नजान आफ्ना पार्टीका मतदातालाई निर्देशन दिएको छ । मतदानको समयमा अनुपस्थित गराउने चलखेल हुन सक्ने आशंका गर्दै पार्टीले तत्काल सबै कार्यक्रम रद्द गरी प्रदेशबाहिर जान रोक लगाएको हो ।

एमालेले मतदातालाई प्रदेश छाड्न रोक लगायो

एमाले स्थायी समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सांसद, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूलाई पार्टीको निर्देशन पालना गर्न भनेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि आगामी २४ गते मतदान हुँदै छ ।


राष्ट्रिय सभामा एकल संक्रमणीय निर्वाचन प्रणालीबाट सांसद चुनिने भएकाले पार्टीले मतदातालाई त्यसम्बन्धी तालिमसमेत दिने भएको छ । आउँदो २१ गते निर्वाचनको मौन अवधि सुरु हुनुअगावै तालिम दिइसक्न प्रदेश संगठन कमिटीलाई निर्देशन दिइएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । यसअघि एमालेले २१ देखि २३ गतेसम्म प्रशिक्षण दिने गरी आन्तरिक तयारी गरेको थियो । तर मौन अवधिमा प्रशिक्षण दिँदा आचारसंहिता उल्लंघन हुन सक्ने भन्दै त्यसअगावै तालिम दिइसक्ने निर्णय बैठकले गरेको हो ।


एमालेले वाम गठबन्धनबाट साझा उम्मेदवार भएकाले दुवै पार्टीका उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा प्रचारप्रसार, मतदाता शिक्षा, व्यवस्थापनलगायत काम गर्ने निर्णय पनि गरेको छ ।


यसैबीच एमालेले प्रदेश संसदीय दलको नेता सकेसम्म सहमति, नभए निर्वाचनबाटै चयन गर्ने जनाएको छ । राष्ट्रिय सभा निर्वाचनलगत्तै दलको नेता चयन गर्ने एमालेको तयारी छ । त्यसअघि प्रदेश संसदीय दलको बैठक तत्काल राख्न र ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन गर्न पार्टीले निर्देशन दिएको छ । सोही बैठकबाट संसदीय दलको नेता चयनसम्बन्धी विधि र प्रक्रिया तथा संसदीय दल र दलका सदस्यहरूले निर्वाह गर्नुपर्ने भूमिका तय गर्न भनिएको छ । संसदीय दलको नेता चुन्न ३ सदस्यीय निर्वाचन कमिटीसमेत सोही बैठकबाट गठन गर्न पार्टीले निर्देशन दिएको छ ।

एमालेले प्रदेश ५ बाहेक अन्य प्रदेशमा संसदीय दलको नेता चयन गरेको छैन । प्रदेश ५ मा भने शंकर पोखरेल सर्वसम्मत चयन भइसकेका छन् । दलको नेता चयनमा सकेसम्म सर्वसम्मत, नभए मतदान गराउन, दलको नेता चयन र सभामुखको निर्वाचनमा कुनै प्रकारका अनुचित र अस्वस्थ गतिविधि नगर्न पनि पार्टीले नेताहरूलाई सचेत गराएको छ ।


मुख्यमन्त्री पाउने प्रदेश १, ३, र ४ मा एमालेभित्र संसदीय दलको नेता बन्न आकांक्षीहरूबीच तीव्र दौडधुप छ । प्रदेश १ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई प्रतिस्पर्धामा छन् । आचार्य प्रदेश संयोजक र राई सहसंयोजक हुन् । प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौंलागाईंलगायतको प्रतिस्पर्धा छ । प्रदेश ४ मा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दौडधुपमा छन् । कहाँ, कसलाई जिम्मेवारी दिने भन्ने केन्द्रीय तहमै मिलाउने प्रयास पनि जारी छ ।


राष्ट्रिय सभाको निर्वाचन अवधिसम्म पनि सहमति प्रयास सफल नभए संसदीय दलको नेता प्रतिस्पर्धाका आधारमा चयन गरी त्यही व्यक्तिलाई मुख्यमन्त्री बनाउने तयारी एमालेको छ । मुख्यमन्त्री नपाउने प्रदेश ६, ७ र २ मा भने संसदीय दलको नेता को बन्ने भन्ने ठूलो प्रतिस्पर्धा छैन ।

प्रकाशित : माघ १७, २०७४ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?