१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राष्ट्रिय सभा - कहाँबाट को उठे ?

कान्तिपुर टिम

काठमाडौँ — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलस्थित उच्च अदालतमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएका छन् ।

राष्ट्रिय सभा - कहाँबाट को उठे ?

नेताहरूले पत्नी, निकटस्थ र नवप्रवेशीलाई उम्मेदवार बनाएको भन्दै पार्टीभित्र असन्तुष्टि र आलोचना सुरु भएको छ ।


महिला उम्मेदवार प्रतिस्पर्धीविहीन

प्रदेश १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो प्रदेशबाट बहालवाला राज्यमन्त्रीसहित ३ महिला उम्मेदवार निर्विरोध हुने सम्भावना छ । महिला क्लस्टरमा ३ सिटका लागि कांग्रेसकी सरिता प्रसाईं, एमालेकी नैनकला ओझा र माओवादी केन्द्रकी बिना पोखरेलको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताए ।


झापाको बुद्धशान्ति गाउँपालिका–३ की प्रसाईं कृषि विकास राज्यमन्त्री हुन् । कांग्रेस केन्द्रीय सदस्य प्रसाईं दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद थिइन् । मोरङको सुनवर्षी–१ की ओझा २०४० सालदेखि मोरङमा पार्टी राजनीतिमा सक्रिय छिन् ।


यस्तै, मोरङको बेलबारी–९ की पोखरेल माओवादी केन्द्रको प्रदेश १ की सहइञ्चार्ज सावित्रीकुमार काफ्लेकी पत्नी हुन् । पोखरेल पतिसँगै जनयुद्धको समयमा नाबालक छोराछोरी छाडेर भूमिगत भएकी थिइन् । उनी पार्टीको केन्द्रीय कमिटी सल्लाहकार र काठमाडौं–मोरङ सम्पर्क मञ्चमा आबद्ध छिन् । जिल्लामा इमानदार छविका काफ्लेको पत्नीलाई उम्मेदवार बनाएको भनी आलोचना भएको छ ।


राष्ट्रिय सभा सदस्य खुलामा कांग्रेसबाट मोरङको सुन्दरहरैचा–३ का रमेशजंग रायमाझी र एमालेबाट संखुवासभाका परशुराम मेघी गुरुङ, झापाका हरिचरण सिवाकोटी र मोरङको केराबारी–१ का खडगबहादुर बस्नेतले मनोनयन दर्ता गराएको दुलालले बताए ।


दलित सदस्यमा कांग्रेसबाट झापाको अर्जुनधारा–४ का बिनकुमार विश्वकर्मा, एमालेबाट विराटनगर–२ का खेम नेपालीले मनोनयन दर्ता गराएको उनले बताए । अल्पसंख्यक सदस्यमा कांग्रेसबाट विराटनगरका महेशकुमार जाजु, एमालेबाट इलामका अगमप्रसाद बान्तवा राई र राप्रपाबाट अनुपमादेवी साह हलुवाईले उम्मेदवारी दर्ता गराएका छन् ।


कांग्रेसबाट जित्न सक्ने भन्दा बढी उम्मेदवार उठाइएपछि एमालेले अन्तिम समयमा खडगबहादुर बस्नेतको उम्मेदवारी दर्ता गराएको हो । बस्नेतको उम्मेदवारीसँगै खुला सदस्यमा ४ जनाको उम्मेदवारी भएपछि निर्वाचन हुने भएको छ ।


प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष २ सय ७४ जना गरी कुल ३ सय ६७ मतदाता रहेकोमा सोलुखुम्बुको मकालु गाउँपालिकाका अध्यक्ष खडग कटुवालको दुर्घटनामा मृत्यु भएकाले ३ सय ६६ मात्र कायम छ ।


दुई जनाले मनोनयन गर्न पाएनन्

माओवादी केन्द्रका नरेन्द्र साह कलवार १२ मिनेट ढिलो आइपुगेका थिए । नेपाली जनता दलका हरिचरण साहले ८ वटै पदमा उम्मेदवारी दिन उम्मेदवार र मनोनयनपत्र तयारी गरेका थिए । तर, मनोनयनपत्र दर्ता गराउने बेला उनका प्रस्तावक र समर्थक फेला परेनन् ।


तराई मधेस सद्भावना पार्टीबाट २०७० मा सभासद भएका नरेन्द्र साहले प्रतिनिधिसभाको चुनावमा सर्लाही–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । साह बुधबार मात्रै माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यका लागि अल्पसंख्यक समूहबाट सिफारिस भएका थिए । बिहान ९ बजे सिफारिस पाएका साह बुधबारै जनकपुर हान्निए । प्रदेश सांसद रामचन्द्र मण्डल र सर्लाहीका माओवादी केन्द्रका सचिव राजकुमार यादवले उनको मनोनयनपत्र निर्वाचन कार्यालयबाट लिएर तयार गरेका थिए । जनकपुर प्रवेश गरेका साह ट्राफिक जाममा परेपछि मोटरसाइकलमै निर्वाचन अधिकृत कार्यालय त पुगे तर १२ मिनेट ढिलो भइसकेको थियो ।


‘अन्तिम समयमा टिकट दिएर सहयोग गरेकाले माओवादी केन्द्रलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने, ‘निर्वाचन कार्यालयले कार्यालयभित्रै रहेका प्रस्तावक र समर्थकलाई समेत मनोनयन गर्न नदिनु दुर्भाग्य हो ।’


८ मध्ये ५ निर्विरोध !

प्रदेश २ मा ९ जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा महिला ३ जना मात्र छन् । उनीहरू निर्विरोध हुनेछन् । अन्यमा ४ जना र अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र दलितमा १/१ जना छन् । अल्पसंख्यक वा अपांगतामा राजपाका वृषेशचन्द्र लालको मात्र उम्मेदवारी परेको छ । दलित सदस्यका लागि संघीय समाजवादी फोरमका रामप्रित पासवानको मात्र उम्मेदवारी परेको छ । दुवै जना निर्विरोध हुनेछन् ।


महिला सदस्यका लागि संघीय समाजवादी फोरमकी प्रमिला कुमारी, कांग्रेसबाट मुक्ताकुमारी यादव र माओवादी केन्द्रबाट शशिकला दाहालले मनोनयन दर्ता गराए । अन्यमा कांग्रेसबाट जितेन्द्रनारायण देव, राजपाबाट रमेशप्रसाद यादव, एमालेबाट सुमनराज प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीबाट मो. अख्तर हुसेनले मनोनयन दर्ता गरेका छन् । यो पदमा निर्वाचन हुनेछ । प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रतीले भने, ‘निर्वाचन कार्यक्रमअनुसार परिणाम १५ गते मात्र घोषण हुनेछ ।’


१७ को उम्मेदवारी

प्रदेश ३ बाट ८ सिटका लागि १७ जनाको उम्मेदवारी परेको छ । वाम गठबन्धनका एमालेले ६ र माओवादी केन्द्रले २ जना उम्मेदवार उठाएका छन् । कांग्रेसले ४, नेमकिपाले ४ र राप्रपाले १ उम्मेदवारी दिएका छन् । एमालेका तर्फबाट खुलामा बलरामप्रसाद बाँस्कोटा र वेदुराम भुसाल, महिलाबाट दिलकुमारी रावल थापा र उदया शर्मा पौड्याल तथा दलितबाट सिंगबहादुर विश्वकर्मा र अपांगताबाट रामचन्द्र राईले उम्मेदवारी दर्ता गराए । माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ ले अन्य समूहमा उम्मेदवारी दिए भने गंगा पराजुलीले महिलामा ।


कांग्रेसका राधेश्याम अधिकारीले खुला, धनकुमारी खतिवडाले महिला, हरिशरण नेपालीले दलित र मदनकृष्ण श्रेष्ठले अपांगता कोटामा उम्मेदवारी दर्ता गराएका छन् । नेमकिपाबाट कृष्णबहादुर तामाङले खुला, गीता काफ्लेले महिला, श्याम विशंखेले दलित र हिमालेश्वर मूलले अल्पसंख्यकमा उम्मेदवारी दिएका छन् । राप्रपाबाट लक्ष्मी देसारले महिलामा उम्मेदवारी दिएकी छन् ।


१२ जनाको उम्मेदवारी

प्रदेश ४ मा विभिन्न पार्टीबाट १२ जनाले उम्मेदवारी दिएका छन् । एमालेबाट ४, माओवादी केन्द्र २, कांग्रेस ४ र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दिएका छन् । एमालेका खुलाबाट पर्वतका गणेशप्रसाद तिमिल्सिना, अपांगताबाट स्याङ्जाका रामबहादुर थापा र महिलातर्फ लमजुङकी दीपा गुरुङ र शान्तिकुमारी अधिकारी जिसी (बागलुङ) ले उम्मेदवारी दिए । माओवादी केन्द्रका दीनानाथ शर्मा (बागलुङ) खुला, स्याङ्जाका खिमकुमार विक दलित समूहबाट चुनावी मैदानमा छन् ।


कांग्रेसबाट गोरखाका सुरेन्द्र पाण्डे खुला, कास्कीकी विन्दादेवी आले (राना) महिला, पर्वतका जितबहादुर नेपाली दलित र तनहुँका प्रकाश पन्थ अपांगता कोटाबाट चुनावी मैदानमा छन् । राष्ट्रिय जनमोर्चाबाट बागलुङका कृष्णप्रसाद शर्मा अधिकारी खुला र मीना पुनले महिला कोटाबाट उम्मेदवारी दर्ता गराएका छन् ।


मनाङे पनि मतदाता !

ज्यानमुद्दामा सर्वोच्चबाट ५ वर्ष कैद फैसला भएका मनाङबाट निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङको नाम पनि मतदाता सूचीमा कायम छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको मतदाताको अन्तिम नामावलीमा उनको मतदाता नम्बर १०७६०६७९ उल्लेख छ । तर उनले शपथ लिएका छैनन् । मतदान गर्नुअघिसम्म शपथ लिन सक्ने अवस्था रहने भएकाले अन्तिम नामावलीमा नाम प्रकाशन गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए । ‘अदालतबाट निर्वाचन आयोगमा गुरुङबारे केही जानकारी आएको रहेनछ,’ उनले भने ।


११ को उम्मेदवारी

प्रदेश ५ मा ११ जनाको उम्मेदवारी परेको छ । घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका ४, कांग्रेसका ४, माओवादी केन्द्रका २ र राष्ट्रिय जनमोर्चाका १ जनाले मनोनयन दर्ता गराएका हुन् । एमालेबाट खुलामा रूपन्देहीका खिमलाल भट्टराई, दलितमा पश्चिम नवलपरासीका रामलखन चमार, महिलामा रोल्पाकी मीना बुढा र दाङकी कोमल ओलीले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट खुलामा रूपन्देहीका दुर्गाप्रसाद उपाध्याय, दलितमा बाँकेका मैकुलाल वाल्मीकि, महिलामा दाङकी अनिता देवकोटा र अपांगतामा रुकुमपूर्वका लुटबहादुर खत्रीले मनोनयन दर्ता गरेका छन् । खुलाबाट राष्ट्रिय जनमोर्चाबाट रश्मिराज नेपालीले मनोनयन दर्ता गराएका छन् ।


वाम उम्मेदवारलाई बल पुर्‍याउन एमाले उपमहासचिव विष्णु पोखरेललगायत वरिष्ठ नेता दाङ पुगेका थिए ।


माओवादी केन्द्रबाट खुलामा अर्घाखाँचीका चन्द्रबहादुर खडका र अपांगतामा रोल्पाका राजकुमार कुँवरले उम्मेदवारी दिएका छन् । प्रदेश ५ मा १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख, उपप्रमुख र ८७ प्रदेशसभा सदस्य गरी ३ सय ५ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावलले जानकारी दिए । प्रदेश ५ मा महिलातर्फ ३ जनाको मात्र उम्मेदवारी परेको छ । एमालेबाट रोल्पाकी मीना बुढा र दाङकी कोमल ओली तथा कांग्रेसबाट दाङकै अनिता देवकोटा निर्विरोध हुने देखिएको छ ।


खुलामा ४, अल्पसंख्यक/अपांगतामा २ र दलितमा २ जनाले प्रतिस्पर्धा गर्दैछन् ।


१ बजेसम्म कोही आएनन्

प्रदेश ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । वाम गठबन्धनबाट एमालेका ५ र माओवादी केन्द्रका ३ उम्मेदवार छन् । कांग्रेसका ४ जनाले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दिउँसो १ बजेबाट मनोनयन दर्ता सुरु भएको थियो । कर्मचारीहरू १० बजेदेखि तयारी अवस्थामा रहे पनि उम्मेदवारहरू ढिलो पुगेका थिए ।


मनोनयन दर्ताका क्रममा उम्मेदवारहरू उत्साही देखिन्थे । यस प्रदेशमा वाम गठबन्धनका १ सय ४०, कांग्रेसका ५७ र राप्रपाका एक मतदाता छन् । स्थानीय तहका १ सय ५८ र प्रदेशसभाका ४० जना गरी कुल १ सय ९८ मतदाता छन् । एमालेबाट भैरवसुन्दर श्रेष्ठ र ठकेन्द्र पुरी (खुला), कविता बोगटी, नन्दा शर्मा (महिला), नरपति लोहार (दलित) तथा माओवादी केन्द्रबाट कालीबहादुर मल्ल (खुला), जीवन बुढा (अपांगता) र युटुल तामाङ (महिला) को उम्मेदवारी दर्ता भएको छ । कांग्रेसका विष्णुबहादुर शाही (खुला), गोपालप्रसाद शर्मा (अपांगता), नेत्रलाल सार्की (दलित) र सूर्यदेवी मल्ल (महिला) को उम्मेदवारी परेको छ ।


मनोनयन दर्ता गर्न कांग्रेस उम्मेदवार पहिले निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) को संयुक्त र्‍याली निकालिएको थियो । प्रदेशसभा सदस्य एवं एमाले पोलिटब्युरो सदस्यद्वय यामलाल कँडेल र प्रकाश ज्वाला, माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलगायत नेता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौड्यालका अनुसार प्रदेशबाट निर्वाचितमध्ये खुला ३, महिला ३, अल्पसंख्यक/अपांगता १ र दलित १ गरी ८ जना चुनिनेछन् ।


पत्नीको सहारामा मनोनयन

कांग्रेसबाट पश्चिम रुकुमका गोपालप्रसाद शर्माले बुधबार उम्मेदवारी दर्ता गरे । पत्नीको सहारामा चौरजहारीबाट उम्मेदवारी दर्ता गर्न सुर्खेत आएका उनी उत्साही देखिन्थे । ‘कांग्रेसको बफादार कार्यकर्ता भएकै कारण आफू अपांग बन्न पुगें । पार्टीले कम्तीमा यति महत्त्वपूर्ण जिम्मेवारीका लागि सम्झियो,’ उनले भने, ‘राष्ट्रिय सभामा प्रतिनिधित्व गर्न पाए आफूजस्तै द्वन्द्वपीडित नागरिकको पक्षमा आवाज उठाउनेछु ।’


६ पदमा ६ उम्मेदवार

प्रदेश ७ मा खुला र महिलातर्फका ३/३ गरी ६ जनाको मात्र उम्मेदवारी परेकाले निर्विरोध हुने सम्भावना छ । एमालेबाट ३, कांग्रेसबाट २ र माओवादीबाट १ जनाले उम्मेदवारी दिएका हुन् । खुलातर्फ कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेयले मनोनयन दर्ता गराएका छन् । उनी दुर्गम बाजुराका हुन् । एमालेबाट अछामका पूर्वअध्यक्ष तथा संविधानसभाका पूर्वसभासद शेरबहादुर कुँवरले मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रबाट कैलाली इञ्चार्ज हरिराम चौधरीको मात्र मनोनयन दर्ता भएको छ ।


महिलातर्फ कांग्रेसबाट तारादेवी भट्ट, एमालेबाट कमला ओली र इन्दु कडरियाको मनोनयन परेको छ । खुला तथा महिलातर्फ मनोनयन दर्ता गरेका उम्मेदवारमाथि दाबीविरोध नपरे निर्विरोध हुनेछन् ।


बहुमतीय प्रणालीबाट निर्वाचित हुने दलित र अल्पसंख्यक/अपांगतातर्फ भने कांग्रेस र गठबन्धनका उम्मेदवारबीच मतदान हुने भएको छ । कांग्रेसबाट दलिततर्फ शेरेराम पार्की र एमालेबाट चक्रप्रसाद स्नेही प्रतिस्पर्धामा छन् भने अल्पसंख्यक/अपांगतातर्फ कांग्रेसका छत्रराज जोशी र माओवादीका महेशकुमार महराबीच मतदान हुने भएको छ ।


प्रदेश ७ मा प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख १ सय ७३ को मतदाता नामावली मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।

प्रकाशित : माघ ११, २०७४ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?