राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा ३ महिला निर्विरोध निर्वाचित

देवनायारण साह

विराटनगर — प्रदेश नं १ बाट राष्ट्रियसभाका लागि ३ जना महिला निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा नेकपा एमालेकी नैनकला ओझा, माओवादी केन्द्रकी विना पोखरेल र नेपाली कांग्रेसकी सरिता प्रसाईं छन् ।

महिलाको लागि ३ सिट छुट्याइएकोमा १ नम्बर प्रदेशमा ३ जना महिलाको मात्रै मनोनयन परेपछि राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

१ नम्बर प्रदेशमा बुधबार दिउँसो साढे ४ बजेसम्ममा १० जनाको मनोनयन परेको थियो । एमालेको तर्फबाट ५, कांग्रेसको तर्फबाट ४ र माओवादीको तर्फबाट १ जनाले मनोनयन दर्ता गराएका थिए ।

प्रकाशित : माघ १०, २०७४ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ शक्तिले राधेश्यामलाई मत दिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ शक्ति पार्टी, नेपालले राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश–३ मा नेपाली कांग्रेसका उम्मेदवार बरिष्ठ अधिबक्ता राधेश्याम अधिकारीलाई समर्थन गर्ने भएको छ । 

बुधबार जारी गरेको प्रेस बिज्ञप्तिमा राष्ट्रियसभालाई राष्ट्रिय जीवनमा सकारात्मक भूमिका खेल्न सक्ने प्रबुद्ध व्यक्तित्वहरुको सभा भएको उल्लेख गर्दै अधिकारीलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको उल्लेख छ ।

पार्टीले राष्ट्रियसभाको गरिमालाई बलियो बनाउने र विपक्षीहरुको सकारात्मक भूमिका र पहल कदमीलाई समेत संसदीय लोकतन्त्रको मान्यता अनुसार सुदृढ गर्ने अभिप्राय नेपाली कांग्रेस र विवेकशील साझा पार्टीसंग पटक–पटक छलफल गरेको समेत उल्लेख गरेको छ ।

'नयाँ शक्तिको मतबाट विजयी हुने उम्मेदवारले राष्ट्रिय सभामा पार्टीगत स्वार्थभन्दा माथि उठी महत्वपूर्ण विषयमा राष्ट्रिय हीतलाई सर्वोपरि राखी आफ्नो भूमिका निर्वाह गर्नु हुनेछ भन्ने हाम्रो बिश्वास रहेको छ' पार्टीले भनेको छ ।

प्रकाशित : माघ १०, २०७४ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×