कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सातै प्रदेशमा शपथ आज

हतारमा रातभर तयारी
कतिपय सांसद र प्रदेश प्रमुख शनिबार रातिसम्म मुकाम पुगेनन्
कान्तिपुर टिम

काठमाडौँ — सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यको आइतबार अस्थायी मुकाममा पद तथा गोपनीयताको शपथग्रहण हुँदैछ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराउने छन् ।

सातै प्रदेशमा शपथ आज

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो । आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै सम्पन्न गर्नुपर्नेछ । प्रदेशसभा सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्तिलगत्तै हतार–हतारमा शपथग्रहणको कार्यक्रम राखिएको हो ।

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबारै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ । त्यसैले शपथका लागि रातारात तयारी गरिएको हो । कतिपय प्रदेश मुकाममा शनिबार रातभर तयारी जारी रहने सरकारी अधिकारीहरूले जनाएका छन् । निर्वाचन आयोगले प्रदेशसभामा निर्वाचित भएको प्रमाणपत्र वितरण शुक्रबार मात्र गरेकाले सबै सांसद काठमाडौंमै थिए । कतिपय सांसद र प्रदेश प्रमुखसमेत शनिबार रातिसम्म मुकाम पुगिसकेका छैनन् । उनीहरू बाटोमै रहेको र आइतबार निर्धारित समयभित्र पुग्ने जनाइएको छ ।

शनिबार मौसमी खराबीका कारण काठमाडौंबाट उडान प्रभावित हुँदा उनीहरूलाई सम्बन्धित प्रदेश मुकाम पुग्न केही असहज भएको थियो । कतिपय प्रदेश प्रमुखहरू र सांसद सडकमार्गबाटै अबेर मात्र मुकाम पुगेका थिए ।

‘मुकाममा विवाद नगरौं’

प्रदेश १ को शपथग्रहण कार्यक्रम विराटनगरस्थित वीरेन्द्र सभागृहमा आइतबार बिहान १० बजे हुँदैछ । शपथमा सहभागी हुन १४ वटै जिल्लाबाट सदस्यहरू आइसकेका छन् । प्रदेश १ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी ९३ जना सदस्य छन् । ‘तयारी अन्तिम अवस्थामा पुगेको छ, शनिबार रातभर खटिएर पूरा गर्छौं,’ मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने ।

निकै पुरानो सभागृहको सिंगार विराटनगर महानगरपालिकाले गरिरहेको छ । कुर्सी सजाउनेदेखि मञ्च व्यवस्थापनसम्म महानगरले जिम्मा लिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले १४ वटै जिल्लाका प्रजिअसँग समन्वय गरी प्रदेशसभामा निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सदस्यहरूलाई शपथका लागि निमन्त्रणा पठाएको थियो । उनीहरूलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले शपथ खुवाउनेछन् । सुब्बा शनिबारै विराटनगर आइसकेका छन् । शपथग्रहण समारोहको प्रत्यक्ष प्रसारण व्यवस्था मिलाइएको प्रजिअ आचार्यले बताए ।

प्रदेश प्रमुख सुब्बाले मुलुक अब संघीय गणतन्त्रको संस्थागत कार्यान्वयनतर्फ अघि बढेको बताए । ‘यो सुखद क्षणमा आफूले प्राप्त गरेको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्नेछु,’ विराटनगर विमानस्थलमा संवाददाताहरूसँग उनले भने, ‘यतिबेला सबै संयमित र जिम्मेवार भएर अघि बढ्नुपर्छ ।’ प्रदेश राजधानीको विषयमा ठूलो विवाद गर्न नहुने उनको भनाइ छ । ‘सबैतिरबाट माग आउनु स्वाभाविक हो तर शान्तिपूर्ण बाटोलाई हामीले छाड्नु हुँदैन,’ उनले भने । अहिले अस्थायी मात्र तोकिएको र संविधानअनुसार प्रदेशसभाले हेरफेर गर्न सक्ने उनले बताए ।

सिँगारियो सभागृह

प्रदेश २ को प्रदेशसभा सदस्यहरूको शपथका लागि जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृह सिँगारिएको छ । प्रदेश प्रमुखको आवासका रूपमा प्रयोग गरिने जनकपुर चुरोट कारखानाको महाप्रबन्धक निवास पनि सरसफाइ गरिँदैछ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ शनिबार हवाई जहाजबाट जनकपुर आउने कार्यक्रम तय भए पनि मौसमी खराबीले उडान रद्द भएपछि स्थलमार्गबाटै आइरहेको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार शपथग्रहणको आधिकारिक कार्यक्रम प्रदेश प्रमुखको निर्देशनअनुसार निर्धारण गरिनेछ ।

प्रदेश २ का प्रदेशसभा सदस्यहरूको शपथग्रहण र नियमित बैठक शैक्षिक तालिम केन्द्रमा गर्ने निर्णय भए पनि तयारी नपुग्दा हाललाई जउवासंघको राजर्षिजनक सभागृहमा गर्नुपरेको भौतिक संरचना अध्ययन कार्यदलका सदस्य सचिव एवं सहरी विकास कार्यालयका डिभिजनल इन्जिनियर गंगाप्रसाद यादवले जानकारी दिए ।

प्रदेश प्रमुखको निवासका लागि राष्ट्र बैंकको अतिथिगृह निर्धारण गरिए पनि प्राविधिक कारणले हाललाई जनकपुर चुरोट कारखाना लिमिटेडको महाप्रबन्धक निवासमा व्यवस्था गरिएको हो । शुक्रबार रातिदेखि नै सरसफाइ अघि बढाइएको छ । यादवका अनुसार भवन सफासुग्घर तथा फर्निचर, एसी, शौचालय आदि जडान गर्न दुई दिनदेखि ५५ कामदार रातदिन खटिरहेका छन् ।

जउवासंघको राजर्षिजनक सभागृहको मुख्य कक्षमा प्रदेश प्रमुख तथा १ सय ७ प्रदेशसभा सदस्यलाई बस्ने व्यवस्था मिलाइँदै छ । माथिल्लो ग्यालरीमा सञ्चारकर्मीसहितका अन्य आमन्त्रितलाई बस्ने व्यवस्था मिलाइएको छ ।

साहित्यकार रमेशरञ्जन झा जनकपुर परापूर्वकालमै मिथिलाको राजधानी रहिसकेको उल्लेख गर्दै वर्तमान सरकारले पुरानो परम्परालाई निरन्तरता मात्र दिएको प्रतिक्रिया दिए । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले राजधानी घोषणा भएपछि जनकपुरको भौतिक विकासको गति तीव्र हुने विश्वास व्यक्त गरे ।

क्षेत्रीय र जिल्ला कार्यालयलाई समस्या

३ नम्बर प्रदेशको प्रदेशसभा सचिवालय मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा राखिएको छ । प्रदेशसभा सदस्यहरूलाई आइतबार निर्देशनालयकै सभाहलमा शपथग्रहण गराउने कार्यक्रम छ । सभाहलमा माइक र कुर्सीलगायत व्यवस्थापन जारी रहेको प्रजिअ चक्रबहादुर बुढाले बताए । प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार बिहान १० बजे एक समारोहबीच प्रदेश प्रमुखको कार्यालयमा ३ नम्बर प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथग्रहण गराउने कार्यक्रम छ ।

अन्य १ सय ९ जना प्रदेशसभा सदस्यलाई ज्येष्ठ सदस्य ७२ वर्षीय पौडेलले शपथग्रहण गराउने छन् । पौडेल प्रतिनिधिसभा १ को ‘ख’ बाट निर्वाचत भएका हुन् । शपथग्रहणका लागि हेटौंडा आउने प्रदेशसभा सदस्यहरूलाई जिसस मकवानपुर, हेटौंडा उपमहानगरपािलका, मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एसोसिएसनलगायतले स्वागतको तयारी गरेका छन् ।

शनिबार हेटौंडा आउने प्रदेशसभाका सदस्यलाई होटलमा खानेबस्ने व्यवस्था स्थानीय तह र संघसंस्थाले मिलाएका छन् । शपथपछिको खानाको व्यवस्था जिससले मिलाएको छ । हेटौंडा बजारमा चारवटा स्वागतद्वार निर्माण गरिएको छ भने बजारका विभिन्न भागमा घडा राख्ने तयारी छ । हेटांैडावासी प्रदेशसभा सदस्यहरूको स्वागत गर्न आतुर रहेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

यसैबीच, प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश प्रमुखको कार्यालयमा शनिबारै पदभार ग्रहण गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयमा क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रतिनिधिसभाका सदस्य कृष्ण दाहाल, प्रदेशसभाका सदस्यहरू लगायतले उनलाई स्वागत गरेका थिए । मुख्यमन्त्रीको कार्यालय जिससको भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटांैडा उपमहानगरपालिका–२ स्थित जिसस कार्यालयको नयाँ भवनमा रहने छन् । पुरानो भवनमा जिसस कार्यालय रहने प्रजिअ बुढाले बताए ।

सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई तोकेपछि प्रदेशस्तरीय कार्यालय, प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीहरूको कार्यालय र मन्त्रालय राख्ने भवन तोक्न क्षेत्रीय प्रशासक पाण्डे तथा प्रजिअ बुढालाई समस्या भएको छ । हेटौंडास्थित क्षेत्रीय र जिल्लास्तरीय कार्यालयमा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू राख्नुपर्ने र कार्यालयहरू स्थापना गर्नुपर्ने छ । अहिलेसम्म यहाँ १९ वटै क्षेत्रीय कार्यालय सञ्चालनमा छन् भने स्थानीय तहमा स्थापना भइसकेका शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिकाको जिल्ला कार्यालय पनि सदरमुकाममै सञ्चालनमा छन् । ‘कुन–कुन कार्यालय खारेज हुने हो, कुन–कुन रहने हो त्यो नै माथिल्लो तहबाट निर्णय नभएकाले प्रदेशका कार्यालय स्थापना गर्न समस्या भएको हो,’ प्रजिअ बुढाले भने ।

केही सांसद पुग्दै

प्रदेश ४ का प्रमुख बाबुराम कुँवर शनिबारै पोखरा आइपुगेका छन् । उनलाई पोखरा विमानस्थलमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रदेश प्रहरी प्रमुख कमलसिंह बमलगायतले स्वागत गरे । प्रदेशसभाका सांसदलाई आइतबार बिहान शपथग्रहण गराउने कार्यक्रम छ । सुरुमा प्रदेश प्रमुख कुँवरले प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्यलाई शपथ गराउने र लगत्तै ज्येष्ठ सदस्यले अरू सांसदलाई शपथग्रहण गराउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।

सांसदहरूलाई सम्बन्धित जिल्ला प्रशासन र क्षेत्रीय प्रशासन कार्यालयबाट शुक्रबार साँझदेखि नै शपथग्रहण कार्यक्रममा आउन भनिएको थियो । सोहीअनुसार अधिकांश सांसद शनिबार रातिसम्म पोखरा आइपुगेका छन् । कोही बाटैमा रहेको र आइतबार बिहानसम्म आइपुग्ने जानकारी रहेको प्रजिअ अधिकारीले बताए ।

कुँवरले प्रस्तावित प्रदेश प्रमुखको कार्यालय (हालको अध्यागमन कार्यालय) आइतबार बिहान प्रदेशका ज्येष्ठ सांसदलाई र ज्येष्ठ सांसदले अरू सांसदलाई प्रस्तावित प्रदेशसभा भवन नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा शपथग्रहण गराउने तयारी छ । ४ नम्बर प्रदेशमा ३६ प्रत्यक्ष र २४ जना समानुपातिकबाट प्रदेशसभा सदस्य छन् ।

मनाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङ भने सर्वोच्च अदालतको फैसलापछि सांसद हुनबाट वञ्चित भएका छन् । यसैले ज्येष्ठ सांसदले अरू ५८ जनालाई शपथ खुवाउनेछन् । नगर विकास प्रशिक्षण केन्द्रको भवन र परिसरमा सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले शनिबार सरसफाइ गरेको छ । ४ नम्बर प्रदेशमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र २ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित जनकलाल श्रेष्ठ ज्येष्ठ सांसद छन् ।

तयारी पूरा, पदभारपछि शपथ

आइतबार हुने प्रदेशसभा सदस्यको शपथग्रहणका लागि प्रदेश ५ मा सबै तयारी सकिएको छ । शपथग्रहणका लागि सचिवालय स्थापना, साजसज्जा, भौतिक व्यवस्थापन, सुरक्षालगायत तयारी सकिएको प्रदेश प्रमुख उमाकान्त झाले बताए । शनिबार प्रशासनसहित सरोकारवालाको छलफलले सांसदलाई स्वागत गर्ने, कार्यक्रम स्थलसम्म ल्याउने, विश्राम गराउनेदेखि खाना खुवाउनेसम्मको व्यवस्थापन मिलाएको छ ।

बुटवल बसपार्कपछाडि रहेको बुटवल उद्योग वाणिज्य संघको हललाई प्रदेश सचिवालय तोकिएको छ । सचिवालयमा बिहान ११ बजे शपथग्रहण कार्यक्रम सुरु हुनेछ । अधिकांश सांसद शनिबार साँझै बुटवल आइसकेका छन् । प्रदेश ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सांसद छनोट भएका छन् । शपथका लागि कुर्सी, ब्यानर मिलाउनेदेखि माला, खादा तयार गर्नेसम्मका काम शनिबार साँझ नै सकिएको छ । सचिवालय आसपासको सडक सरसफाइ र मर्मतसम्भार गरेर चिरिच्याट्ट पारिएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण मैनालीले शपथ कार्यक्रमका लागि सुरक्षा, व्यवस्थापनलगायत सबै काम सकिएको बताए ।

प्रदेश प्रमुख झा शनिबार साँझ बुटवल आइपुगे पनि आइतबार मात्रै प्रमुखको कार्यालयमा जानेछन् । बिहान १० बजे प्रदेश प्रमुख कार्यालयमा पदबहाली गरिसकेपछि शपथ कार्यक्रम सुरु हुने प्रजिअ मैनालीले बताए ।

प्रदेश प्रमुखको निवास सीप विकास तालिम केन्द्रमा रहनेछ । तत्कालका लागि भने सचिवालयनजिकै रहेको डिभिजन सडक कार्यालयको सरकारी गेस्ट हाउसमा बस्नेछन् । ‘उता तयारी भइरहेकाले केही दिन सरकारी गेस्ट हाउसमा बस्नुहुनेछ,’ भवन डिभिजन कार्यालयका प्रमुख सुरेश ठाकुरले भने ।

हतार–हतार मुकामतिर

प्रदेश ६ का प्रदेशसभा सदस्यहरूको शपथ जिल्ला समन्वय समितिको हलमा खुवाउने तयारी गरिएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार ११ बजे प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउनेछन् । क्षेत्रीय प्रशासन कार्यालयले २ महिनाअघिदेखि नै प्रदेश प्रमुख र प्रदेश संसद् भवनको छनोट गरे पनि सरकारले प्रदेश प्रमुखको कार्यालय व्यवस्थापनमा ढिलाइ गर्दा जिसस हलमा शपथ खुवाउन लागिएको हो । क्षेत्रीय प्रशासनका शाखा अधिकृत केशवप्रसाद उपाध्यायले भने, ‘नेपालको संविधान तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई शपथ खुवाउने तयारी अन्तिम चरणमा पुगेको छ ।’

प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय वन तालिम केन्द्रमा व्यवस्थापन गरिँदैछ । ‘तत्कालका लागि प्रदेश प्रमुखलाई वन तालिम केन्द्रकै भवन प्रयोग गर्न दिने सहमति भएको छ,’ केन्द्र प्रमुख मुन रावतले भने । प्रदेश प्रमुखको आवासका लागि क्षेत्रीय वन निर्देशनालयको भवन प्रयोग गरिनेछ । क्षेत्रीय प्रशासनका शाखा अधिकृत उपाध्यायले प्रदेशसभाको शपथग्रहणअगावै प्रदेश प्रमुखको पदबहालीको कार्यक्रम तय भएको बताए । ‘सलामी ग्रहणलगत्तै प्रदेश प्रमुखज्यूबाट पदबहाली गर्ने कार्यक्रम छ,’ उनले भने, ‘त्यसपछि जिल्ला समन्वय समितिको हलमा प्रदेशसभाको शपथग्रहण हुनेछ ।’

प्रशासनले ६ नम्बर प्रदेशका ४० जना सदस्यलाई शपथग्रहणका लागि खबर गरिसकेको छ । समानुपातिकतर्फका अधिकांश प्रदेश सदस्य राजधानीमा छन् । निर्वाचन आयोगले शुक्रबार प्रमाणपत्र वितरणको कार्यक्रम राखेकाले उनीहरू काठमाडौंमै रहेका हुन् । प्रदेश प्रमुखले शपथग्रहणको कार्यक्रम तय गर्नेबित्तिकै सांसदहरू हतार–हतार फर्कंदै छन् । प्रदेश ६ मा प्रत्यक्ष निर्वाचित २४ र १६ समानुपातिक गरी ४० सदस्य छन् ।

प्रदेश प्रमुख पुगेनन्

प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि शपथग्रहण समारोहको तयारी पूरा भएको छ । ‘शपथग्रहण समारोहका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ,’ क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले भने, ‘शपथग्रहणस्थल, प्रदेश प्रमुखको सचिवालय र आवासको सबै व्यवस्थापन भइसकेको छ ।’ जिल्ला विकास समितिको सभाकक्षमा शपथग्रहण समारोह हुँदैछ । प्रदेश प्रमुखको सचिवालयका लागि घरेलु तथा साना उद्योग कार्यालय र आवासका लागि क्षेत्रीय वन निर्देशनालयको आवास गृह तयार गरिएको पौडेलले जानकारी दिए ।

आइतबार बिहान १० बजे शपथग्रहण समारोह राखिए पनि प्रदेश प्रमुख तथा प्रदेश सांसद धनगढी पुगिसकेका छैनन् । शनिबार मौसमको खराबीले काठमाडौंबाट धनगढीका लागि कुनै पनि उडान हुन नसक्दा प्रदेश प्रमुख मोहनराज मल्ल र काठमाडौंमा रहेका सांसदहरू राजमार्गको बाटो धनगढी आइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । प्रदेश ७ मा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक गरी ५३ सांसद छन् ।

(लीलाबल्लभ घिमिरे/विराटनगर, श्यामसुन्दर शशी/जनकपुर, डीआर पन्त/धनगढी, प्रकाश अधिकारी/सुर्खेत, प्रताप बिष्ट/हेटौंडा, अमृता अनमोल/बुटवल, लालप्रसाद शर्मा/पोखरा)

प्रकाशित : माघ ७, २०७४ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?