क्षेत्रीय प्रशासक अब प्रमुख सचिव

काठमाडौँ — सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरूलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रूपमा खटाउने भएको छ । केन्द्रमा मुख्य सचिव जस्तै प्रदेशमा उनीहरूले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । तर, उनीहरूको दरबन्दी विशिष्ट श्रेणी सचिव सरहको नै हुनेछ । प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवको नेतृत्वमा २५ कर्मचारी खटाइने भएको छ । 

हाल ५ विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयबाटै कर्मचारीको अस्थायी संरचना तय गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा राजेश्वरमान सिंह, हेटौंडामा रेश्मीराज पाण्डे, पोखरामा लक्ष्मण अर्याल, सुर्खेतमा सुरेश प्रधान र दिपायलमा लक्ष्मीराज पौडेल प्रमुखका रूपमा कार्यरत छन् । उनीहरू नै सम्बन्धित प्रदेशका प्रमुख सचिवका रूपमा खटिनेछन् । क्षेत्रीय प्रशासन कार्यालय नरहेका बुटवल र जनकपुरमा भने वरिष्ठ सहसचिव २ जना कर्मचारी बढुवा गरी प्रमुख बनाउने गृहकार्य भइरहेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवले कर्मचारीको नेतृत्व गर्नेछन् । उनीहरूको पदलाई प्रदेश सचिव भनिनेछ । ‘प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय सञ्चालन सहजै हुने गरी हामीले गृहकार्य गरेका छौं,’ प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले बिहीबार कान्तिपुरसँग भने ।

सरकारले ७ प्रदेशमा बुधबार नियुक्त गरेका प्रदेश प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्भवत: शुक्रबार शपथ लिनेछन् । त्यसपछि अर्को साताबाट उनीहरू सम्बन्धित प्रदेशमा गई जिम्मेवारी सम्हाल्नेछन् । क्षेत्रीय प्रशासकले मुख्यमन्त्री चयन भएपछि मात्र आफ्नो कार्यालय हेर्ने भएकाले तत्काललाई प्रदेश प्रमुख कार्यालयको कर्मचारी व्यवस्थापन हेर्न भनिएको छ । प्रदेश प्रमुखको कार्यालयमा रहने २५ कर्मचारीमध्ये प्रमुखले सचिवालयमा राख्ने १२ जना निजी सचिवालयका कर्मचारीसमेत पर्छन् ।

‘क्षेत्रीय प्रशासन कार्यालय मातहतकै कर्मचारी सम्बन्धित प्रदेशमा खटिनेछन् । क्षेत्रीय प्रशासन कार्यालय नभएका प्रदेशमा पनि सहसचिवसहित कर्मचारी खाका तयार छ । सम्भवत: भोलि नै त्यसबारे निर्णय हुनेछ,’ सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवराम न्यौपानेले बिहीबार भने । प्रदेश प्रमुखको कार्यालयमा एक सहसचिव, ४ उपसचिव, ५ शाखा अधिकृत सहितका १३ पद प्रस्तावित छन् । त्यस्तै निजी सचिवालयतर्फ प्रमुख स्वकीय सचिव, सह–स्वकीय सचिव, उप–स्वकीय सचिवसहित १२ जना छन् ।

लामो अडचनपछि बुधबार सरकारले ७ वटा प्रदेशमा अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा त्यसको लिखित जानकारी बुधबारै गराइएको थियो । राष्ट्रपति कार्यालयले बिहीबार प्रदेश प्रमुखहरूको नियुक्ति, संविधानअनुसार उनीहरूको योग्यता, पृष्ठभूमिलगायतमा अध्ययन गरेको छ । ‘सरकारले जस–जसको नाम पठाएको छ, सबैलाई नियुक्त गरी शुक्रबार साँझसम्म शपथ खुवाइसक्ने योजना छ,’ शीतल निवासका एक अधिकारीले कान्तिपुरलाई बताए ।

प्रकाशित : माघ ५, २०७४ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?